(Japan) 29 th March | 2024 | Friday | 2:38:16 PM || (Nepal) 11:23:16 AM
 
 


अवस्था गम्भिर ! टोकियोका अस्पतालमा कोरोनाका बिरामी भर्ना गर्न बेड अभाव

Gokarna Adhikari   POSTED ON : Thursday, 29 July, 2021 | Views : 2534

अवस्था गम्भिर ! टोकियोका अस्पतालमा कोरोनाका बिरामी भर्ना गर्न बेड अभाव


टोकियो, जापान ।

कोरोना भाइरसका बिरामीहरुको लागि अस्पतालमा छुट्याईएको बेड भरिएर राजधानी टोकियो सबैभन्दा गम्भीर चरणमा प्रवेश गरेको छ । विज्ञहरुले थप चेतावनी दिंदै आउँदो हप्ताहरुमा स्थिति थप र छिटो बिग्रनसक्ने चेतावनी दिएका छन् ।

हाल बिरामीहरुले अस्पतालको बेड ओगट्ने दर ५२ प्रतिशत पुगेको छ । यो प्रतिशत केन्द्र सरकारको मापदण्ड अन्तर्गत चार स्तर अलर्टको सबैभन्दा उच्च चौथो चरण हो । दैनिक यो प्रतिशत गुणात्मक संख्याले बढिरहेको छ ।

टोकियोमा कोरोना संक्रमण चौथो चरणमा रहंदा कोभिड १९ संक्रमितहरुको संख्या, अस्पताल भर्ती, होटल र घरहरूमा उपचार नहुने लक्षण सहित संक्रमित व्यक्तिहरू र भाइरसको लागि सकारात्मक परीक्षणको दर हालसम्मकै उच्च पाईन थालेको छ ।

महानगरभित्र हाल कोरोना संक्रमण भएका २४ सय भन्दा बढी बिरामी अस्पतालमा भर्ना भएका छन् ।

घरमा बस्न बाध्य बिरामीहरु अस्पतालमा हेरचाहको लागी पहुँच नभएकाले भर्ना हुन नसकिरहेको बताउँछन् । जुलाई २० मा कोरोना संक्रमित भएर लक्षणहरु समेत देखिएका अस्पताल भर्ना हुन चाहने ३६ सय ५७ जना घरमानै उपचार पर्खाइमा रहेको तथ्यांकले देखाउँछ । जुन संख्या एक हप्ता अघि केवल १८ सय ४१ रहेको थियो । आगामी साता यो संख्या ५ हजार पार हुने अनुमान गरिएको छ ।

यदि टोकियोमा कोरोना भाइरस संक्रमणको प्रसार हालकै गतिमा बढेमा राजधानी हप्तादिन भित्रमै संकट ग्रस्त स्थितिमा पर्ने स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

विज्ञहरुले भनेका छन् कि भविष्यको परिदृश्य यसअघि जाडो समयमा संक्रमणको रेकर्ड र बिरामीहरुले उपचार नभएको अवस्था भन्दा बढी डरलाग्दो साबित हुन सक्छ ।

पछिल्लो बृद्धिमा ठूलो चिन्ता अत्यधिक संक्रमण र अधिक घातक डेल्टा भाइरस प्रचार बनेको छ ।

जुलाई २८ सम्मको हप्तामा नयाँ संक्रमणको दर हेर्दा दुई साता अघि ७८५ रहेको थियो । गत साता यो संख्या बढेर ११ सय ७० आईपुग्दा यो साता १९ सय ५४ नाघेको छ ।

जबकि एक महिना पहिले सात दिनको औसत संक्रमित संख्या २१ जुनमा टोकियोमा केवल ३८७ रहेको थियो ।

यो संख्याले संकेत गर्दछ कि कोरोना भाइरस अब २०२० को अन्त्य र २०२१ को शुरुमा संक्रमणको तेस्रो लहरमा राजधानीमा फैलिएको भन्दा छिटो बढिरहेको छ ।

स्वास्थ्य विशेषज्ञहरुका अनुसार यदि वर्तमान स्तरमै संक्रमण बृद्धि जारी रहेमा टोकियोमा आगामी साता दैनिक संक्रमितको रेकर्ड ५ हजार सम्म पुग्ने संकेत गर्दछ । जुन संख्या बुधवार ३ हजार पार भइसकेको छ ।

टोकियोमा गत जनवरी १६ पछि पहिलो पटक जुलाई २१ मा १८ सय दैनिक संक्रमित संख्या नाघेकोमा त्यो संख्या अहिले करिव ३२ सय पुगिसकेको छ ।

टोकियोमा हाल औषत ८ हजारको संख्यामा पीसीआर परीक्षण भइरहेको छ । संक्रमण बढ्दै जाँदा परीक्षणको संख्या पनि बढिरहेको छ ।

महानगर सरकारको तथ्यांक अनुसार परीक्षण गराएका मध्ये डेल्टा भेरियण्ट संक्रमितको संख्या टोकियोमा जुलाई ११ सम्ममा साताको ३०.५ प्रतिशत पुगेको छ । अघिल्लो हप्ता यो संख्या २१.५ प्रतिशत मात्र थियो ।

भेरियन्टको तथ्यांक तुरुन्तै उपलब्ध हुँदैन यसको लागि छुट्टै जीनोम अनुक्रमण पत्ता लगाउन समय लाग्छ ।