(JAPAN) 21 st November | 2018 | Wednesday | 2:54:01 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:39:01 PM
 

होक्काइदोको बिनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या १६ पुग्यो, २४ सै घण्टा खोजी र उद्दार जारी

  POSTED ON : Friday, 07 September, 2018 | Views : 615

होक्काइदोको बिनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या १६ पुग्यो, २४ सै घण्टा खोजी र उद्दार जारी

गोकर्ण अधिकारी-टोकियो ।

बिहिबार बिहान गएको शक्तिशालि भूकम्पको केन्द्र होक्काइदोको अचुमा शहरमा घर तथा पहिरोले पूरिएकाहरुको खोजि जारी रहँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

उद्दारकर्मीहरुले रातभर जारी राखेको खोजी र उद्दारका क्रममा हराईरहेका थपको शव फेला पारेका हुन् ।

अधिकाशं घरहरु काम नलाग्नेगरि भत्किएको तथा पहिरोमा परेको अचुमा शहरमा थप २४ जना हराईरहेका छन् । मृत्यु भएका १६ मध्ये ५ जना यहि क्षेत्रका रहेका क्योदो समाचार संस्थाले उल्लेख गरेको छ । 

सरकारी अधिकारीहरुले गएराती नै ९ जनाको निधन भएको पुष्टि गरेका थिए ।

जापानी अधिकारीहरुले बिनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा सबै शक्ति लगाएर निरन्तर खोजी र उद्दार जारी राखेको बताउँदै प्रभावितहरुको लागि आवश्यक व्यवस्था भईरहेको बताएको छ ।


होक्काइदो भर गरेर कुल ३२ जना हराईरहेका र उनिहरु घरमा पुरिएको तथा पहिरोले पूरिएको आशंका गरिएको छ । जापान सरकारका शीर्ष सरकारी प्रवक्ता योशुहा सुगाले प्रहरी, अग्निनियन्त्रक, आत्मरक्षा दल, भू सुरक्षाका सदस्यहरूले मानविय उद्दारलाई प्राथमिकतामा राखेर रातभर काम गरेको बताए ।

सुगाका अनुसार होक्काइदो क्षेत्रका २२ हजार कर्मचारी सहित ७५ वटा हेलिकोप्टर निरन्तर खोजी र उद्दारमा खटिइरहेका छन् । सरकारले सो क्षेत्रमा छुट्टै २५ हजार बढी सुरक्षा सम्वद्ध उद्दारटोली खटाएको छ ।

शक्तिशालि भूकम्पको झड्कापछि ५ रेक्टर माथिका आधा दर्जन सहित १ सय बढी भूकम्पको पराकम्पन गइसकेको सो क्षेत्रमा थप शक्तिशालि पराकम्प जानसक्ने मौसम एजेन्सीका अधिकारीहरुले बताएका छन् ।


मौसम विज्ञान एजेन्सीका अधिकारीहरूले चेतावनी दिएका छन् कि आगामी हप्तामा यस क्षेत्रमा बिहिबार बिहान ३ बजेर ८ मिनेटमा गएको ६.७ रेक्टर स्केल बराबरको शक्तिशालि पराकम्पन पुन जानसक्ने सम्भावना रहेको छ ।

भूकम्पका कारण साप्पोरोका महानगरीय क्षेत्रका अधिकाशं सडकक्षेत्र भत्किएको तथा भासिएको छ । सडक यातायातलाई जतिसक्दो छिटो सञ्जालनमा ल्याउन २४ सै घण्टा मर्मत सम्भारको काम भईरहेको अधिकारीहरुले बताएका छन् ।

हजारौं भूकम्प पीडितहरु आकस्मिक आश्रय स्थलमा बसेका छन् । खाद्यान्न पाईने डिपार्टमेन्ट स्टोरहरुमा सामान रित्तिंदै जानुका साथै बैंक एटिएम मेसिनहरु सञ्चालनमा नआउँदा भूकम्प प्रभावितहरु आवश्यक खर्च गर्न असमर्थ हुन थालेका छन् । मुख्यत खानेपानिको समस्या, विद्युत सेवा बन्द, सञ्जारका साधन भएरपनि उर्जा अभावमा काम नगर्ने बन्दा प्रभावितहरु थप मर्कामा परेका छन् ।



मौसम अधिकारीहरुले शुक्रबार साँझ भारी बर्षा हुनसक्ने सूचना जारि गर्दै यसले भूकम्पले थिलथिलो बनाएका कयौं भूभागमा पहिरो जानसक्ने भन्दै सजगता अपनाउन आग्रह गरेका छन् ।

बिमानस्थल र रेलसेवाहरु अझै पूर्णरुपमा जस्तै बन्द रहेको होक्काइदो क्षेत्रमा सार्वजनिक बस सेवा भने केही स्थानमा सिमित रुपमा सञ्चालनमा ल्याइएको छ ।

Photo :KyodoNews