(Japan) 29 th March | 2024 | Friday | 2:07:20 PM || (Nepal) 10:52:20 AM
 
 


टोकियो, चिबा, खानागावा र साइतामा प्रिफेक्चरमा २ हप्ता आपतकाल थपिने

Sima Khadka   POSTED ON : Thursday, 04 March, 2021 | Views : 9446

टोकियो, चिबा, खानागावा र साइतामा प्रिफेक्चरमा २ हप्ता आपतकाल थपिने


टोकियो, जापान ।

प्रधानमन्त्री योशीहिदे सुगाले बुधवार टोकियो महानगरीय क्षेत्रमा आपतकाल दुई हप्ता थप गर्ने बिचार गरिएको बताएका छन् ।

यसै हप्ताको अन्त्यमा आपतकाल हटाउने अवस्थाको लागि पर्याप्त सुधार नभएकाले आपतकाल थप गरिन लागिएको प्रधानमन्त्री सुगाको भनाई छ ।

स्वास्थ्य मन्त्री नोरिहिसा तामुरा र कोरोना भाइरस प्रतिक्रिया जिम्मेवार मन्त्री यासुतोशी निशिमुरा लगायतका मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफल गरेपछि सुगाले महामारीको कदम महत्वपूर्ण मोडमा रहेको बताए । प्रधानमन्त्रीले स्वास्थ्य विशेषज्ञ र सम्बन्धित प्रिफेक्चर प्रमुखहरुसँग परामर्श गरेपछि निर्णय गरिने जानकारी गराएका छन् ।

टोकियो सरकारका गर्भनर यूरिको कोइकेले संक्रमणको गिरावट सुस्त गतिमा रहेकोमा चिन्ता व्यक्त गर्दै आपतकाल दुईसाता थप गरिनुपर्ने बिचार यसअघि बुधवार मध्यान्ह सार्वजनिक गरेकी थिईन् । छिमेकी खानागावा, चिबा र साइतामा प्रिफेक्चरका समकक्षीहरूसँग टेलिफोन वार्ता गरेर समेत गर्भनर कोईकेले आपतकाल हटाउन सकिन्छ कि भनेर छलफल गरेकी थिईन् ।

राजधानीमा बुधवार ३१५ कोरोना भाइरसका बिरामी थप भएका छन् । यो सहित टोकियोमा हालसम्म संक्रमितको संख्या १ लाख १२ हजार ३ सय ४५ पुगेको छ ।

अघिल्लो दिन प्रधानमन्त्री सुगाले हाउस अफ काउन्सिलरहरूको बजेट समितिको बैठकमा महानगरीय क्षेत्रका लागि हरेक प्रान्तको लागि नभई समग्र चार स्थानको अवस्था हेरेर निर्णय गरिने बताएका थिए ।

आपतकालिन अवस्थामा मानिसहरूलाई अनावश्यक रूपमा आफ्नो घर बाहिर यात्रा नगर्न भनिएको छ । रेस्टुरेन्ट र बारहरू रात ८ बजे बन्द गर्न भनिएको छ ।

विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको देशलाई पुनर्जीवनतर्फ लैजानको लागि अब गरिने निर्णय महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ । किनभने अबको तीन महिना पछि टोकियोले विश्व खेलको महाकुम्भ मेला अर्थात् ओलम्पिक तथा पारा ओलम्पिक आयोजना गर्दैछ ।

तर स्वास्थ्य विशेषज्ञहरु र प्रिफेक्चर अधिकारीहरु चिन्तित छन् कि हतारमा आपतकाल हटाउँदा संक्रमणमा फेरी छिट्टै बृद्धि हुन सक्छ । किनभने यहि समय साकुरा फूल्ने मौसम भएकाले मानिसहरुको बाहिरी आवागमन उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री सुगाले टोकियो महानगरीय क्षेत्रका लागि जनवरी ७ मा एक महिनाको लागि आपतकाल घोषणा गरेका थिए । पछि यसलाई कुल ११ प्रान्तमा विस्तार गरिएको थियो । साथै आपतकाल अवधि समेत एक महिना थपिएर मार्च ७ सम्म पुर्याईएको छ ।

संक्रमण घटेको र कोभिड १९ का बिरामीहरुको चाप घटेको भन्दै ७ प्रिफेक्चरमा आपतकाल हटाईसकिएको छ । तर बाँकी रहेका टोकियो महानगरिय क्षेत्रका चार प्रिफेक्चरमा संक्रमण, अस्पतालमा भर्ना भएका बिरामी र उपलब्ध बेड संख्या अझै खतराको स्तरमा रहँदा सरकार थप २ हप्ता आपतकाल लम्ब्याएर मार्च २१ तारिखसम्म लम्ब्याउने अन्तिम तयारीमा लागेको छ । यसको औपचारिक घोषणा सम्भवत आगामी शुक्रबार गरिनेछ ।