(JAPAN) 25 th September | 2018 | Tuesday | 4:04:51 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 12:49:51 AM
 

सेप्टेम्बरबाट नेपाल-जापान यात्रा हाम्रै नेपाल एयरलाईन्सबाट गर्न पाईने

  POSTED ON : Friday, 06 July, 2018 | Views : 11247

सेप्टेम्बरबाट नेपाल-जापान यात्रा हाम्रै नेपाल एयरलाईन्सबाट गर्न पाईने

ज्याक खड्का-टोकियो ।

नेपाल जापान यात्रा गर्दा नेपालीहरुले ट्रान्जिट समस्या देखी बिदेशी बिमानमा खाना, भाषा देखी अन्य समस्या, झण्झट र दुख पाउँदै आएकोमा अब यसबाट मुक्ती पाउने भएका छन् ।

त्यति मात्र होइन बिदेशी एयरलाईन्सको भर नपरी दुखले कमाएको पैसा आफ्नै देशको ध्वजाबाहक बिमानको प्रगतिमा साथ दिएर यात्रा गर्न पाईने भएको छ ।

नेपाल एयरलाईन्सले यही बर्ष अर्थात् सन् २०१८ को सेप्टेम्बर महिनाबाट नेपाल जापान सिधा हवाई उडान गर्ने भएपछि जापानमा रहेका नेपाली तथा नेपाल जापान यात्रा गर्न चाहनेहरुका लागि सुविस्ता मिल्ने भएको हो ।

पर्यटन मन्त्री रविन्द्र अधिकारीका अनुसार दुई नयाँ बिमान एयरबस ए ३३० जेट थपिएपछि नेपाल एयरलाइन्सले १० बर्षपछि जापानमा पुन उडान थालनी गर्न लागेको हो ।

नेपाल एयरलाईन्सले तत्कालको लागि हप्ताको तीन उडान गर्ने भएको नेपाल एयरलाईन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।

नेपाल एयरलाईन्सले टोकियोको व्यस्त बिमानस्थल हानेदा र नारितामा उडानको लागि अनुरोध गरेपनि हानेमा बिमानस्थलमा तत्कालको लागि उडान चाप बढी भएको भन्दै नारिताको लागि मात्र नेपालले अनुमति पाएको छ ।

त्यही भएर सेप्टेम्बरबाट टोकियोको नारिता बिमानस्थलमा मात्र तत्कालका लागी नेपाल एयरलाईन्सले तीन उडान भर्नेछ । यसको उडान तालिका केहीदिन भित्रै सार्वजनिक गर्ने नेपाल एयरलाइन्स प्रशासनले जनाएको छ ।

सन् १९९३ मा सम्झौता भई सन् १९९४ बाट नेपाल जापान उडान भर्दै आएको नेपाल वायुसेवा निगमले सन् २००७ बाट बिमान अभावको कारण जनाउँदै उडान स्थगित गरेको थियो ।

त्यसयता धराशायी अवस्थामा पुगेको निगमलाई सरकारले जमानी बसेर आर्थिक सहयोग गरेपछि दुई ठूला जेट बिमान खरिद गरेको छ ।

नयाँ बिमान थपिएपछि नेपाल एयरलाइन्सले जापान सहित दक्षिण कोरिया, दुबई, अष्ट्रेलिया लगायत देशमा उडान बिस्तार गर्दैछ ।

नेपाल जापान सिधा हवाई उडान हुनेभएपछि नेपालमा जापानी पर्यटकको आगमनमा पनि बृद्धि हुने ठानिएको छ । गत बर्ष मात्र नेपालमा २७ हजार ३ सय २६ जना जापानी पर्यटक आएको तथ्यांक रहेको छ ।

सन् २०२० मा जापानमा ओलम्पिक खेल आयोजना गर्न लागेको अवस्था तथा बर्षेनी १० हजार बढी नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययन तथा भाषा अध्ययन र रोजगारीका लागि समेत हजारौं नेपालीहरु जापान आउने आदि कुरालाई मध्यनजर गर्दा नेपाल एयरलाइन्सको जापान यात्रा थालनी सुखद हुने देखिन्छ ।

जापानमा ८० हजार बढी नेपालीहरु रहेको तथा यो संख्या बढ्ने क्रममा रहेको आधारमा समेत नेपाल एयरलाइन्सले जापानको ओसाका, नागोया, योकोहामा लगायत क्षेत्रमा समेत उडान थालेमा यसबाट जापानमा रहेका सबै नेपालीलाई सहज हुनुका साथै नेपालको प्रचार तथा जापानी पर्यटकको नेपाल यात्रामा बृद्धीहुनेछ ।