(Japan) 26 th February | 2020 | Wednesday | 4:05:19 PM || (Nepal) 12:50:19 PM
 
 

टोकियो ओलम्पिक अघि नेपाली खेलाडीले जापानमै प्रशिक्षण गर्ने, एनओसी र तोकोशिमा प्रिफेक्चरबिच सम्झौता

  POSTED ON : Wednesday, 22 January, 2020 | Views : 1088

टोकियो ओलम्पिक अघि नेपाली खेलाडीले जापानमै प्रशिक्षण गर्ने, एनओसी र तोकोशिमा प्रिफेक्चरबिच सम्झौता


गोकर्ण अधिकारी-टोकियो, जापान ।
२०२० टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीहरुले जापानमै प्रशिक्षण पाउने भएका छन् ।

नेपाली खेलाडीहरुलाई जापानमा प्रशिक्षणको लागि यहाँको तोकोशिमा प्रिफेक्चरले सहयोग गर्ने भएको छ ।

नेपाली खेलाडीलाई जापानमा प्रशिक्षण व्यवस्था मिलाउने विषयमा नेपाल ओलम्पिक कमिटी ९एनओसी० र तोकोशिमा प्रिफेक्चरबिच सोमबार जापानमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार ओलम्पिक खेलमा सहभागी हुन आउने नेपाली खेलाडीहरुले जापानमै रहेर १५ दिन प्रशिक्षण गर्नेछन् ।
यसको लागि नेपाली खेलाडी र प्रशिक्षकहरुलाई जापानमा रहन र प्रशिक्षण केन्द्र उपलब्ध गराउने काम तोकोशिमा गर्भनर कार्यालयले गर्ने छ ।

यस बिषयमा तोकोशिमा प्रिफेक्चरका गर्भनर कामोन इजुमी र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

तत्कालको लागि स्विमिगंबाट गौरिका सिंह र एलेक्जेण्डर शाहले जापानमै प्रशिक्षण गर्ने निश्चित भएको छ कारोबार दैनिकसँगको कुराकानीमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले भन्नुभयो स्विमिगंसँगै आर्चरीबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीहरुले पनि यहीँ प्रशिक्षण पाउने भएका छन् तर खेलाडी छनौट नटुंगेकाले नाम पछि तय हुनेछ ।

सम्झौता अनुसार आर्चरी र स्विमिगं सँगै ८ खेलका खेलाडी र प्रशिक्षक गरेर कुल १६ जनाको लागि जापानमा रहने सम्पूर्ण व्यवस्था तोकोशिमा प्रिफेक्चरबाट हुने भएको छ श्रेष्ठले भन्नुभयो यसबाट खेलाडीहरुलाई समय, हावापानी लगायत कुराका कारण विगतमा हुनेगरेको असर कम हुनुका साथै यहाँको रहनसहनमा खेल खेल्न अभ्यस्त हुन सहयोग पुग्नेछ ।

ओलम्पिकमा नेपालले प्रतिस्पर्धा गर्ने सबै खेलका खेलाडीहरुलाई सहयोग उपलब्ध गराउन आफुहरुले माग गरेपनि खेल र खेलाडीहरु तय नभईसकेका कारण तोकोशिमा प्रिफेक्चरका गभर्नर कामोन ईजुमीले सबै खेल र खेलाडी टुंगो लागेपछि यसबारेमा आवश्यक सहयोग गर्ने बताएको श्रेष्ठको भनाई छ ।

सम्झौतामा पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य र आर्चरी संघका अध्यक्ष दीपकराज गुरुगंले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, राजदूतावासका तृतिय सचिव प्रेम बराल लगायतको उपस्थिति रहेको थियो ।

सम्झौता कार्यक्रममा बोल्दै एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल र जापानबिच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत राम्रो सम्वन्ध रहेको बताउनुभयो । खेलको माध्यमबाट समेत नेपाल र जापानबिच रहेको सम्वन्ध थप प्रगाढ बनिरहेको भन्दै श्रेष्ठले नेपालको खेलकुद बिकासमा जापानको सहयोग महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।

२०२० टोकियो ओलम्पिक आगामी जुलाई २२ तारिखबाट सुरु भई अगष्ट ९ तारिख सम्पन्न हुँदैछ ।
एनओसीको पहलमा सार्क खेल अघिपनि नेपाली खेलाडीहरु अनुशिया तण्डुकार, उपास्थि महर्जन, अनुभव सुब्बा, दिपांकर अवाले लगायतले जापानमा प्रि टेनिगं गरेका थिए ।
जापानमा प्रशिक्षण गरेका मध्ये सन्तोषी श्रेष्ठले सार्कमा स्वर्ण पदक जितेकी थिईन् भने पुष्पा भण्डारीले एथलेटिक्समा नेपाललाई रजत पदक दिलाएकी थिईन् ।

ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीहरुलाई तोकोशिमा प्रिफेक्चरसँगै तामुरा शहरले पनि आवश्यक सहयोग गर्ने छ । यस विषयमा यसअघिनै दुई पक्षबिच सम्झौता भईसहेको छ ।
यस बाहेक जापानकै ओमागाने शहरले पनि आवश्यक सहयोग गर्ने आश्वासन दिएको एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले बताउनुभयो ।