(Japan) 29 th January | 2020 | Wednesday | 5:29:22 AM || (Nepal) 2:14:22 AM
 
 

नेपाल पर्यटन बर्ष २०२० सफल बनाउन सघाउने जापान सरकारको प्रतिवद्धता (भिडियो)

  POSTED ON : Friday, 10 January, 2020 | Views : 756

नेपाल पर्यटन बर्ष २०२० सफल बनाउन सघाउने जापान सरकारको प्रतिवद्धता (भिडियो)


गोकर्ण अधिकारी-टोकियो, जापान ।

नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन जापानले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यही जनवरी ७ तारिखमा नेपाली राजदूतावास जापानले आयोजना गरेको नेपाल भ्रमण बर्षको औपचारिक उद्घाटन समारोहमा जापानको परराष्ट्र मन्त्रालयका संसदिय उपमन्त्री नोरिहितो नाकायामाले नेपाल भ्रमणवर्ष सफल बनाउन जापानले सहयोग गर्ने जानकारी गराउनुभएको छ ।

उपमन्त्री नाकायामाले नेपाल भ्रमण बर्षको शुभकामना दिंदै जापान र नेपालबिच सन् १९५६ मा कुटनैतिक सम्बन्ध स्थापना देखिनै मैत्री सम्बन्ध प्रगाढ रहेको सो अवसरमा स्मरण गर्नुभयो ।

जापानमा रहेको नेपाली राजदूतावासँग सहकार्य गर्दै नेपाल भ्रमणवर्ष सफल बनाउन जापानले सहयोग गर्ने जापान सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत प्रतिवद्धता समेत जनाएको छ ।

जापान स्थित नेपाली राजदूतावास, गैर आवासिय नेपाली संघ जापान लगायत संघ संस्थाको सहकार्यमा नेपाल भ्रमणवर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रम राजधानी टोकियोमा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै जापानका लागि नेपाली महामहिम राजदूत प्रतिभा राणाले भ्रमणवर्ष सफल बनाउन सबैको साथ, सहयोग र सद्भाव आवश्यक रहेको सो अवसरमा बताउनुभयो ।

राजदूत राणाले नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक सहित भाषिक रुपमा समेत विविधतापूर्ण रहेको बताउनुभयो । करिव एक सयको संख्यामा विभिन्न क्षेत्रसँग सम्वन्धित जापानीहरुको उपस्थिति रहेको कार्यक्रममा राजदूत राणाले विश्व सम्पदा सूचिमा रहेको सर्वोच्च शिखर सगरमाथा देखि गौतमबुद्ध जन्मस्थल लुम्बिनी, स्वयंभूनाथ जस्ता क्षेत्रहरुको भ्रमण गरेर प्राकृतिक आनन्द लिन सकिने जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टटले नेपाल र जापानको नागरिक स्तरमा समेत सुमधुर सम्वन्ध रहेको उल्लेख गर्दै नेपाल भ्रमण बर्षमा पर्यटन कुटनीतिका रुपमा समेत जापानीहरुको नेपाल भ्रमणको संख्यामा उल्लेख्य बृद्धिहुने अपेक्षा गरिएको बताउनुभयो ।

एनआरएनए भिजीट नेपाल २०२० का संयोजक समेत रहनुभएका भट्टले प्राकृतिक रुपमा सुन्दर नेपाल गौतमबुद्ध जन्मस्थल, सर्वोच्च शिखर सगरमाथा लगायत असंख्य सम्पदाहरुको अवलोकन गर्न जापानीहरु नेपाल भ्रमणमा जाने विश्वास व्यक्त गर्नुभयो ।

भट्टले नेपाल भ्रमण गरेका र नेपालबारे जानकार एकजना जापानी नागरिकले कम्तीमा तीनजना जापानीलाई बुझाएर नेपाल भ्रमणमा पठाउन सकेमात्र पनी नेपालको लागि त्यो ठूलो सहयोग हुने बताउँदै सहभागी जापानीहरुलाई यसमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

नेपाली मौलीक लोकनृत्यहरु समेत प्रस्तुत गरिएको कार्यक्रममा नेशनल जियोग्राफिका जापानी फोटोग्राफर युमिको ईतावाले नेपालमा खिच्नुभएको बनस्पती, चराचुरुगीं, प्राकृतिक सम्पदाहरुको तस्विर सहित जानकारी गराईएको थियो ।

नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले पर्यटन बर्षलाई मध्यनजर गरेर दुईदेशबिचको सम्वन्ध थप प्रगाढ बनाउन छिट्टै जापान सरकारका तर्फबाट उच्च स्तरको भ्रमणको लागि पहल भईरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी सहित पदाधिकारीहरु एवं एनआरएनए आईसिसिमा रहनुभएका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । यसैगरि जापानमा रहेका नेपाली बुद्धिजिवि, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु गरेर २ सयको संख्यामा सहभागीहरुको उपस्थिति रहेको थियो ।

नेपाल भ्रमणबर्ष २०२० को उद्घाटन कार्यक्रमलाई जापानको खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशनमा कार्यरत जिज्ञानकुमार थापा र राजदूतावासकी कर्मचारी सावायानागी माकीले अँग्रेजी र जापानी भाषामा सञ्चालन गर्नुभएको थियो ।