(Japan) 29 th January | 2020 | Wednesday | 6:03:15 AM || (Nepal) 2:48:15 AM
 
 

अब जापानको सक्कली नक्कली जाईरियु कार्ड सजिलै पत्ता लाग्ने, मोबाईल एपबाटै सबै हेर्न सकिने

Gokarna Adhikari   POSTED ON : Thursday, 09 January, 2020 | Views : 1448

अब जापानको सक्कली नक्कली जाईरियु कार्ड सजिलै पत्ता लाग्ने, मोबाईल एपबाटै सबै हेर्न सकिने


टोकियो, जापान ।

जापान सरकारले आवास अनुमतिपत्र जाईरियु कार्ड नक्कली बोक्नेको संख्या बढेपछि सजिलै पत्ता लगाउन सक्ने मोबाईल एप सार्वजनिक गर्ने तयारी गरेको छ ।

हाल निर्माणको चरणमा रहेको मोबाईल एपबाट सक्कली र नक्कली जाईरियु कार्ड सजिलै पत्ता लाग्ने अध्यागमन अधिकारीहरुले बताएका छन् ।

उक्त मोबाईल एपबाट जाईरियु कार्डमा भएको बारकोड स्क्यान गरेपछि सजिलै सक्कली र नक्कली पत्ता लाग्ने बताईएको छ ।

जाईरियु कार्डमा व्यक्तिको नाम, जन्म मिति, राष्ट्रियता, बसोबास अनुमति र भिषा समय अवधि उल्लेख हुन्छ । जसलाई मोबाईल एपबाट हेर्दा सक्कली र नक्कली छुट्टिनुका साथै सम्वन्धित व्यक्ति हो होईन बनेर पहिचान गर्न सहज हुनेछ ।

जापानमा बिदेशी नागरिकहरुको संख्या बढिरहँदा आवास अनुमतिपत्रको दुरुपयोग र नक्कली आवास अनुमति पत्र बोक्नेको संख्या समेत बढेपछि त्यसलाई नियन्त्रण गर्न मोबाईल एप निर्माण थालिएको अधिकारीहरुले बताएका छन् ।

यसै बर्षको अन्त्यसम्ममा सार्वजनिक गर्ने तयारी गरिएको मोबाईल एपलाई सबै मोबाईलमा चल्ने र सबैले सजिलै पत्ता लगाउन सक्नेगरि निर्माण गरिरहेको जापानी अधिकारीहरुले बताएका छन् ।

हाल जापानमा २८ लाख बढी बिदेशी नागरिकहरु बसोबास गर्दै आईरहेका छन् । हरेक बर्ष बिदेशीको संख्या बढिरहेपनि कामदार अभाव चर्किएपछि जापान सरकारले आगामी पाँच बर्षभित्रमा नेपाल सहित ११ देशबाट ३ लाख ४५ हजार बढी बिदेशी कामदार ल्याउने प्रक्रिया अघि बढाईसकेको छ ।

बिदेशी नागरिकको संख्या बढेसँगै समस्यापनि बढेको र विशेषगरि आवास अनुमतिपत्र दुरुपयोग र नक्कली परिचयपत्र भेटिनेक्रम बढेपछि जापान सरकारले त्यसलाई रोक्न यस्तो कदम चालेको जनाएको छ ।

जापान सरकारको तथ्यांक अनुसार सन् २०१८ मा मात्रै ६ सय २० वटा जाईरियु कार्ड दुरुपयोग तथा नक्कली कार्ड बोकेको घटना भएको छ ।

यस्ता घटनाहरुमा धेरैजसो चिनियाँहरु संलग्न भएको पाईंदा फिलिपिन्स, भियतनाम सहित केही घटनामा नेपालीहरुको समेत संलग्नता वा पिडित भएको घटना सार्वजनिक भएका छन् ।

जाईरियु कार्ड दुरुपयोग रोक्न तयार पारिंदै गरेको एप सार्वजनिक भएपछि नक्कली परिचयपत्र बनाएर वा अरुको जाईरियु कार्ड दुरुपयोग गरेर कम्पनीहरुमा काम गर्ने तथा अवैध रुपमा जापानमा बसोबास गर्दैै आएकाहरु नियन्त्रणमा आउने जापानी अधिकारीहरुले दाबी गरेका छन् ।