(Japan) 29 th January | 2020 | Wednesday | 5:13:49 AM || (Nepal) 1:58:49 AM
 
 

जापानले सन् २०२० मा ८ हजार नेपाली जापान ल्याउनसक्ने, नेपालीमा सीप र भाषाको कमजोरी

  POSTED ON : Tuesday, 07 January, 2020 | Views : 514

जापानले सन् २०२० मा ८ हजार नेपाली जापान ल्याउनसक्ने, नेपालीमा सीप र भाषाको कमजोरी


टोकियो, जापान ।

नयाँ भिषा प्रणाली अनुसार जापानले सन् २०२० मा ८ हजार नेपाली कामदार ल्याउनसक्ने जनाएको छ ।

दुईदेशबिच भएको सम्झौता अनुसार गतबर्षबाट सुरु भएको नेपाली कामदार ल्याउन प्रक्रिया अनुसार यस बर्ष थप भाषा र सीप परिक्षा हुने भएको छ ।

जस अनुसार जापानले सन् २०२० मा ८ हजार नेपाली युवाले भाषा र सीप परिक्षा दिनपाउने जनाएको छ ।

नेपाली युवामा जापान आउने आकांक्षा धेरै भएपनि भाषा र सीप परिक्षणमा भने कमजोर देखिएको जापानी अधिकारीहरुले नेपाली समकक्षीसँग बताएका छन् ।

सन् २०१९ मा नर्सिङ केअरगिभरका लागि १,००० आवेदकले परीक्षा दिन पाएपनि केही जना मात्र भाषा तथा सिप परिक्षणमा उत्तिर्ण भएका छन् । उनिहरुको जापान जाने प्रक्रिया अन्तिम चरणमा रहेको अधिकारीहरुले बताएका छन् ।

सन् २०२० मा यसअघि निश्चित संख्यामा मात्र परीक्षा लिईएकोमा यसपटक बर्षभरीनै परिक्षा सञ्चालन गर्ने र त्यसमा ८ हजार बढी नेपाली परिक्षार्थी सहभागी हुनसक्ने जापानी पक्षले बताएको नेपाली अधिकारीहरुले बताएका छन् ।

परिक्षामा सहभागी नेपालीहरु भाषा र सीप परिक्षामा उत्तिर्ण भएमा प्रक्रिया पुरा गरेर जापान जानसक्ने भएकाले सन् २०२० मा ८ हजार नेपाली युवाको लागि अवसर रहेको नेपाली अधिकारीहरुले बताएका छन् ।

अब हरेक दुई महिनाको फरकमा परीक्षा गर्ने जानकारी जापानी पक्षले गराएको छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दीपक ढकालले भन्नुभयो जनवरी महिनामा १ हजार र मार्चमा १३ सय नेपाली युवाले परीक्षा दिन पाउने तालिका सार्वजनिकनै भईसकेको छ ।

परीक्षा जापान फाउन्डेशनले सार्वजनिक गरेको तालिका अनुसार हुनेछ ।

सन् २०१९ मा नर्सिङ केअरगिभरको लागि करिव १३ सय नेपालीले आवेदन दिएकोमा गोलाप्रथाद्धारा १ हजार जनाले परीक्षा दिन पाएका थिए । गोलाप्रथाका कारण सक्षम व्यक्ति परीक्षाबाट बञ्चित हुनुपरेको र परीक्षा कोटा थोरै भएको नेपाली अधिकारीहरुले बताएपछि जापानले यसपटक परीक्षासँगै संख्या पनि बढाएको हो ।

सहसचिव ढकालका अनुसार यसपटक परीक्षार्थीको सङ्ख्या र परीक्षा विधिबारे जापानका अधिकारीहरूसँग छलफल गरिने भएको छ ।

जापानमा पछिल्लो समय जन्मदर लगातार ओरालो लाग्नुका साथै बृद्ध जनसंख्या बढीरहँदा श्रम गर्नसक्ने युवा जनशक्तिको अभाव बढ्दै गएको छ ।

कामदार अभाव बढेसँगै जापानले गतबर्षबाट नेपाल सहित ९ देशबाट कामदार ल्याउने प्रक्रिया अघि बढाएकोमा हाल यो संख्या पाकिस्तान थपिएपछि १० पुगेको छ ।

जापानले केयरगिभरसँगै, निर्माण, कृषि, होटल रेष्टुरेण्ट, मत्स्य, उद्योग लगायत विभिन्न १४ क्षेत्रमा नेपाली कामदार लैजाने सहमती भएको छ ।

गत बर्ष केयरगिभरको मात्र परिक्षा भएकोमा यस बर्ष अन्य क्षेत्रको पनि परिक्षा हुने नेपाली अधिकारीहरुले बताएका छन् ।

गत बर्षको परिक्षा हेरेर जापानी अधिकारीहरुले नेपाली परिक्षार्थीहरुको भाषागत कमजोरीका साथै सीप परिक्षणमा समेत कमजोरी देखिएको भन्दै दुवै पक्षमा मेहनत गर्नुपर्ने सुझाव दिएका थिए ।

जापानी पक्षको सुझाव अनुसार जापानमा रोजगारी गर्न जाने नेपाली युवाहरुको सीपविकास र भाषाप्रशिक्षणमा नेपाल सरकारबाट लगानी गर्नुपर्ने तथा परिक्षार्थीहरुले समेत थप मेहनत गर्नुपर्ने देखिएको छ ।