(JAPAN) 18 th November | 2019 | Monday | 5:45:56 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:30:56 PM
 

समुन्द्रपारी धर्म संस्कृती संरक्षण-टोकियोका नेपालीले मनाए नेपाल संवत् र म्हँ पूजा

laxmi Paudel   POSTED ON : Wednesday, 06 November, 2019 | Views : 95

समुन्द्रपारी धर्म संस्कृती संरक्षण-टोकियोका नेपालीले मनाए नेपाल संवत् र म्हँ पूजा


टोकियो, जापान ।

नेपाली कला, संस्कृती, धर्मलाई जीवन्त राख्नेक्रममा जापानमा रहेका नेपालीहरुले नेपालको राष्ट्यि संवत् नेपाल संवत् र म्ह पूजालाई विधिपूर्वक सामुहिक रुपमा भव्य रुपले मनाएका छन् ।

जापानमा क्रियाशिल संस्था नेवा अन्तर्राष्ट्रिय फोरम जापानले नेपाल सम्वत ११४० को अवसरमा शुभकामना आदानप्रदान तथा सामुहिक म्हँ पूजा कार्यक्रम सम्पन्न गरेको हो ।

टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न कार्यक्रमा जापानमा रहेका नेवारी समुदाय सँगै अन्य समुदाय र जापानी नागरिकहरुको समेत सहभागीता रहेको थियो ।

कार्यक्रमको सुरूवात नेपाल सम्वतका प्रवर्तक राष्ट्रिय विभुतीशंखधर शाख्वको तस्बिरमा माल्यार्पण सँगै दीप प्रज्जवल बाट गरिएको थियो । संस्थाको संस्थापक अध्यक्ष माधव नारायण मानन्धरले नेपाल सम्वत ११४० को शुभकामना व्यक्त गर्दै म्हँ पुजामा सहभागी हुन आउने सबैलाई स्वागत गर्नुभएको थियो ।

त्यस लगतै नेवारी परम्परा अनुसार म्हँ पूजा सुरू भएको थियो । बयस्क र बालबालिका सहित करिव साठी जनाको सहभागिता रहेको सामुहिक म्हँ पूजा दुई चरणमा गरिएको थियो ।

नेवारी खाना र पेयपदार्थको समेत व्यवस्था भएकोले नेपालमै बसेर नेवारी भोज खाँदै म्हँ पुजा गरेको जस्तो अनुभव भएको अमेरिका बाट केही समयको लागि जापान आउनुभएकी रमिता बदे श्रेष्ठले अनुभव सुनाउनुभयो ।

नेपाली मध्येको नेवार जातीको यो परम्परा जहाँ शरीरको पुजा गरिन्छ पहिलो पटक अनुभव गर्न पाए, टोकियो बाहिर गिफु बाट सहभागी हुन आएकी जापानिज आगन्तुक कियोमी आमानोले बताउनुभयो ।

कार्यक्रममा सधै सहभागी हुने आगन्तुकहरू रमाउने त भएनै पहिलो पटक सहभागी हुने आगन्तुकहरू पनि निकै उत्साहित देखिन्थे । जापानमा पनि यसरी सामुहिकरूपमा म्हँ पुजा गर्न पाउँदा नेपालको न्यास्रोपन हटेको भन्दै सहभागीहरुले आयोजकलाई धन्यवाद दिंदै कार्यक्रम निरन्तरता र थप व्यापक बनाउन सुझाव समेत दिएका थिए ।

कार्यक्रमको अन्तिम चरणमा नेवारी गीत संगितमा नाचगान गरी सहभागीहरुले मनोरञ्जन गरेका थिए ।

बिगतमा नेपालमा गरेकै दिन म्हपुजा गर्दा सहभागी न्युन भएको तितो अनुभव समेत रहेकोले तिथि अनुसारको दिनमा नगरेर म्हँ पुजा सकिएको पहिलो शनिवार या आईतवार गर्ने गरेको संस्थाका महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो ।

नेवास् अन्तराष्ट्रिय फोरम जापानले जापानमा हुने महत्वपूर्ण कार्यक्रमहरुमा सांस्कृतीक झाँकीहरु प्रस्तुत गर्नुका साथै विभिन्न संस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ । म्हँ पुजा बाहेक दशैं कार्यक्रम, बुद्ध जयन्ति कार्यक्रम, क्वाटी पुन्ही कार्यक्रम समेत संस्थाले गर्दै आएको छ ।

नेवारी परम्परामा बालिकाहरूलाई गर्नुपर्ने बेल विवाह अर्थात “ईही” कार्यक्रम पनि गर्ने गरेको जानकारी गराउँदै संस्थाकी निवर्तमान अध्यक्ष गंगा डंगोलले त्यस बाहेक संस्थाले सामाजिक कार्यमा समेत सहयोगको काम गर्दै आएको बताउनुभयो ।