(JAPAN) 16 th October | 2019 | Wednesday | 7:12:26 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:57:26 PM
 

नेपाल एययरलाईन्सको ओसाका उडानमा १८ जनादेखी २ सय ५६ यात्रु, २५ उडान गर्दा खर्च पनि उठेन

  POSTED ON : Saturday, 05 October, 2019 | Views : 85

नेपाल एययरलाईन्सको ओसाका उडानमा १८ जनादेखी २ सय ५६ यात्रु, २५ उडान गर्दा खर्च पनि उठेन


काठमाडौं, नेपाल ।

नेपाल वायुसेवा निगमले वाइडबडी विमानबाट एक महिनामा 'भदौ ११ देखि असोज १५ सम्म' काठमाडौं–ओसाका–काठमाडौं दुईतर्फी उडान २५ पटक गरिसकेको छ ।

निगमले १२ वर्षपछि खुला गरेको यो रुटमा एयरबसको ए ३३० वाइडबडी विमानबाट सेवा दिइरहेको छ । एक महिनामा २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा एकतर्फी यात्रुको संख्या सबभन्दा धेरै २ सय ६५ पुगेको छ । निगमका अनुसार मंगलबार ओसाकाबाट फर्केर आएको उडानमा १३ बिजनेस श्रेणीका सिट र २ सय ५२ इकोनमी श्रेणीका सिटमा गरी २ सय ६५ जना यात्रु थिए । सबभन्दा कम यात्रु भदौ १३ गते थिए । उक्त उडानमा ४ जना बिजनेश श्रेणीका सहित जम्मा १८ जनामात्रै यात्रु काठमाडौंबाट ओसाका उडेका थिए ।

यो एक महिनामा वाइडबडी विमानले दुईतर्फी गरेर २३ सय २६ जना यात्रु ओसारेका छन् । जसमा जापानबाट नेपाल आउनेको संख्या १६ सय १८ छ भने ७ सय ८ नेपालबाट जापान जाने यात्रु थिए ।

एक अधिकारीका अनुसार यी सबै उडानमा निगमले सञ्चालन खर्च पनि उठाउन सकेको छैन । एउटा उडानमा करिब २ करोड ५० लाख बराबरको कारोबार भए मात्रै उडान सञ्चालन नाफा हुन्छ । तर निगमले प्रमोसनल फेयरका रूपमा प्रतिव्यक्ति ३७ हजार रुपैयाँमा टिकट बिक्री गरेकाले पहिलो महिनामा एउटा उडानबाट ७ लाख रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । ‘एकतर्फी उडानमा ३५ प्रतिशत इन्धन खर्च लाग्छ,’ निगमका एक अधिकारीले भने, ‘३५ प्रतिशत भनेको ७० लाख रुपैयाँ बराबरको इन्धन खर्च हो ।’

निगमलाई हाल जापानले सातामा तीन दिन (मंगलबार, बिहीबार र शनिबार) उडान अनुमति दिएको छ । पहिलो उडानमा यात्रुको संख्या अत्यधिक न्यून भएपछि निगमले भदौ तेस्रो सातादेखि सातामा दुइटामात्रै उडान राखेको थियो । तर, दसैं र पर्यटकीय सिजन सुरु भएसँगै निगमले असोज ७ देखि सातामा तीन दिन उडान सुचारु गरेको छ । निगमले दसैं र तिहारको अवधिमा २ सय हाराहारी यात्रुको एकतर्फी बुकिङ भएको जनाएको छ ।

निगमले हाल काठमाडौंबाट भारतका बैंङलोर, दिल्ली, मुम्बईसहित नौवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ । योसँग अन्तर्राष्ट्रिय उडानका लागि एयरबसका दुइटा न्यारोबडी ए३२० र दुइटा वाइडबडी ए३३० मात्रै छन् ।