(JAPAN) 16 th October | 2019 | Wednesday | 7:07:32 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:52:32 PM
 

जापानीलाई नेपाली कला र संस्कृती चिनाउँदै नेपाल भ्रमणको निम्तो सहित नेपाल फेस्टिवल सम्पन्न

Sajina Moktan   POSTED ON : Tuesday, 01 October, 2019 | Views : 169

जापानीलाई नेपाली कला र संस्कृती चिनाउँदै नेपाल भ्रमणको निम्तो सहित नेपाल फेस्टिवल सम्पन्न


गुन्मा, जापान ।

जापानको गुन्मामा आयोजना भएको दुईदिने नेपाल फेस्टिवल नेपाल भ्रमण बर्ष २०२० को प्रचार सहित जापानीलाई नेपाली कला र संस्कृतीको प्रचार प्रसार गर्दै सम्पन्न भएको छ ।

नेपाल भ्रमण बर्षको लागि प्रचार सामग्री वितरण, मौलिक सांस्कृतिक झाँकी, धार्मिक नृत्य सहित सांगितिक प्रस्तुती, बाजागाजा र नेपाली पहिचानका गीतले जापानीलाई आकर्षण गरेको नेपाल फेस्टिवल गुन्मा २०१९ यही सेप्टेम्बर २८ र २९ तारिखमा सम्पन्न भएको हो ।

नेपाली साझा समाज जापानको मुख्य आयोजना र जापानको ओइजुमी नगरको सह आयोजनामा नेपाल भ्रमण बर्ष २०२० को प्रचारको मुख्य उदेश्य सहित फेस्टिवल आयोजना गरिएको थियो ।

जापानको गुन्मा केन ओइजुमि माची स्थित इजुमी नो मोरिमा भएको २ दिने नेपाल फेस्टिबल गुन्मा २०१९ मा करिव २ हजार बढी व्यक्तिको प्रत्यक्ष सहभागीता रहेको थियो । करिव १ हजारको संख्यामा जापानी नागरिकहरुले सहभागीता जनाएको सह आयोजको रुपमा रहेको यहाँको सरकारी निकायले जनाएको छ ।

उदघाटन समारोहमा जापानको उच्च पदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो । जापानको मुख्य बिपक्षि दल रिक्केन मिन्स्यु तोउका सांसद हासेगावा काइचिको प्रमुख आतिथ्यतामा सुरु भएको फेस्टिवल सहआयोजक ओइजुमि नगरका मेयर मुरायामा तोसिआकि, गुन्मा केनका सांसद खागाया फुजिको र यागिता यासुयुकी, ओइजुमि नगरका प्रहरी उपप्रमुख ताजिमा यासुनोरी लगायत उच्च पदस्थ जापानी अधिकारीहरुको सहभागीता रहेको थियो ।

इभेन्ट सपोर्टर प्रोफिट सर्भिसका प्रमुख खामेयामा नोबुओ, नेपाल र नेपालीलाई अत्यन्तै नजिक बाट चिन्नुभएका सोफिया युनिभर्सिटीका प्राध्यापक तानाका मासाको र नेपाली परम्परागत नृत्यका बिज्ञ यूको ओखामोतो लगयातले फेस्टिवल उद्घाटन सत्रमा नेपाल र नेपालीबारे आफ्नो भनाइ राख्नुभएको थियो ।

बिसेष गरि नेपाल र नेपालीलाई अत्यन्तै माया गर्ने ओइजुमि नगरका मेयर मुरायामा तोसिआकिले बिदेशी सस्था र जापानको सरकारी निकाय बिचको सहकार्यको एक नमुना ओइजुमि नगर भएको र भबिस्यमा पनि बिदेशीहरुलाई जीबनयापन गर्न सहज शहर र जापानिज र बिदेशीहरु एक आपसमा मिलेर बस्ने बाताबरण बनाउन बिसेष पहल गर्ने बताउनु भएको थियो ।

गुन्मा केनका सांसद द्वय खागाया फुजिको र यागिता यासुयुकीले हाल चालु रहेको केनको संसदमा बिदेशीहरु हकहित बारे अवाज उठाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

यस अघि जापानमा भएका नेपाल फेस्टिबलमा नेपालीहरुको मात्रै उपस्थिति भएको अवस्थालाई चिर्दै गुन्मामा आयोजित फेस्टिवलमा नेपाली सरह जापानी नागरिकको उपस्थिति र सहभागीताले जापानीमाझ नेपालको पर्यटन प्रचार गर्न फेस्टिवल सफल भएको देखिएको छ ।

फेस्टिवल स्थलमा नेपालको पर्यटनबारे जानकारी दिन स्टल राखिनुका साथै नेपालको पर्यटकिय स्थलबारे जानकारी समेटिएको प्रचार सामग्री वितरण समेत गरिएको थियो । स्टलबाट मात्रै करिव ५ सयको संख्यामा जापानीहरुले नेपालबारे जानकारी लिनुका साथै पर्यटन बर्ष र नेपालका पर्यटकिय क्षेत्रको बारे जानकारी लिएका थिए ।

जापानी नागरिकहरुले फेस्टिवलमा प्रस्तुत गरिएका नेपाली सांस्कृतीक झाँकी, बाजागाजा, नेपाली परम्परागत मौलिक नृत्यका साथै स्टेजमा सजाईएको बौद्ध स्तुपाको आकृतिका साथै घुमाउने घरको कला र ढिकि लगायत उत्सुकताका साथ अवलोकन गर्दै नेपालबारे जिज्ञासापूवर्क जानकारीहरु लिएका थिए ।


फेस्टिबलमा समाजसेवी प्रमोद कोइरालाले बौद्ध नाथ स्थुपा आकृतिको स्टेज निर्माण तथा समाजसेवी प्रेम राईले नेपालको पुरानो कलात्मक बाटुले घर निर्माण गर्नुभएको थियो ।

फेस्टिवल स्थलकै फोटो खिच्ने आकर्षक स्थल बनेको बाटुले घरलाई आशिष शेरचनले आकर्षक बुद्ध, लालीगुराँस तथा हिमालको कलाले सजाएका थिए ।

फेस्टिवलमा बुद्ध धर्म सम्वन्धि नाच जापानी नागरिक युकाओकामोतोले प्रस्तुत गर्नुभएको थियो ।

सितेरियो कराते टु डान चतुरन्यारान् कुशांकु काता प्रदर्शन सुनिता नेपालीले प्रस्तुत गर्नुभएको थियो । जसलाई जापानीहरुले उत्सुकतापूवर्क हेरेर आभार व्यक्त गरेका थिए ।

कार्यक्रमलाई संयोजनकारी भूमिकामा धार्मिका घिमिरे र राम गुरुगंले सञ्चालन गरेका थिए ।

नेपाल फेस्टिवल गुन्मा २०१९ लाई जापानी पत्रपत्रिका सहित अनलाईन मिडिया र केही टेलिभिजनहरुले प्राथमिकताका साथ समाचार संप्रेसण गरेका थिए ।

फेस्टिवलमा एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग र अधिबक्ता तथा नेपाल जापान चेम्बर अफ कमर्सका अध्यक्ष डा.बलराम श्रेष्ठ लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

औपचारिक कार्यक्रम नेपाली साझा समाज, जापानका महासचिब निरज गुरुङले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा अध्यक्ष बुद्धि शेरचनले आमन्त्रित पाहुनाहरुलाई स्वागत मन्तव्य राख्नुभएको थियो ।

फेस्टिवलको अन्तयमा नेपाल फेस्टिबल गुन्मा २०१९ आयोजना गर्नुको उदेश्य बारे आयोजक समितिका संयोजक रहनुभएका रन्जय अमात्यले प्रकाश पानुभएको थियो ।

आयोजक नेपाली साझा समाजले फेस्टिवललाई भव्य रुपमा सफल पार्न सहयोग गर्नुभएका प्रायोजक सहित आर्थिक र व्यवस्थापनमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरेको छ ।

जापानको सरकारी निकाय ओइजुमि नगरका कर्मचारीहरु सहित सांसद, प्रहरी संगठन समेतले सहयोग र सहकार्य गरेकोमा जापानमा रहेका नेपाली समुदायको तर्फबाट धन्यवाद व्यक्त गर्दै आयोजक नेपाली साझा समाजले फेस्टिवलमा सहभागी कलाकार, सांस्कृतीक झाँकी प्रस्तु गरिदिनुहुने तथा सहभागी सबैमा आभार व्यक्त गरेको छ ।

कार्यक्रमबारे सामाजिक सञ्जाल सहित विभिन्न मिडिया मार्फत समाचार सम्प्रेषण गरेर सहयोग गर्नुभएका सबैमा धन्यवाद व्यक्त गरेको छ ।