(JAPAN) 22 nd August | 2019 | Thursday | 8:08:27 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 4:53:27 PM
 

जापान 'क्योएनि' आगलागि-'मर्छौं' भन्दै पेट्रोल छर्किएर आगो लगाउँदा मारिनेको संख्या ३३ पुग्यो, ३६ जना गम्भिर (भिडियो सहित)

Gokarna Adhikari   POSTED ON : Friday, 19 July, 2019 | Views : 1347

जापान 'क्योएनि' आगलागि-'मर्छौं' भन्दै पेट्रोल छर्किएर आगो लगाउँदा मारिनेको संख्या ३३ पुग्यो, ३६ जना गम्भिर (भिडियो सहित)


टोकियो, जापान ।

जापानको क्योतो एनिमे स्टुडियो भवनमा मानिसहरु रहेको समयमा एक व्यक्तिले आगो लगाउँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

क्योतो अग्नि नियन्त्रक अधिकारीहरुलाई उदृत गर्दै यहाँको एनएचके टेलिभिजनले राती ११ बजेर ३० मिनेटसम्ममा मृत्यु हुनेको संख्या ३३ पुगेको समाचार प्रशारण गरेको छ ।

४० बर्ष पार गरेका एक व्यक्तिले ७० भन्दा बढी व्यक्तिहरु रहेको समयमा पेट्रोल पोखेर आगो लगाउँदा भवन दनदनी जल्न पुगेको थियो ।

जापान टाईम्सका अनुसार ४१ बर्ष उमेरका बताईएका आगो लगाउने व्यक्तिलाई प्रहरीले घाईते अवस्थामा उद्दार गरि अस्पताल भर्ना गरेको छ ।


प्रहरीको हिरासमा उपचाररत आक्रमणकारीको अनुहार र शरिरका भागहरु नराम्ररी जलेको समाचार संस्था क्योदो न्यूजले उल्लेख गरेको छ ।

आगलागि गर्ने व्यक्ति एनिमे स्टुडियोसँग रुष्ट भएका कारण बदलाको भावले घटना गराएको ठानिएपनि प्रहरीले खास कारण खुलि नसकेको बताएको छ ।

घटनाका प्रत्यक्षदर्शी तथा घाईतेहरुका अनुसार पेट्रोल छर्किएर आगो लगाउने आक्रमणकारीले 'मर्छौ, मर्छौ' भन्दै पेट्रोल छर्किएर आगो लगाएका थिए ।

एनिमे स्टुडियोका प्रमुखले हालै मात्र एक चेतावनी युक्त ईमेल प्राप्त भएको बताएको एनएचके टेलिभिजनले उल्लेख गरेको छ ।

क्योतो एनिमेसनका प्रमुख हिदेकी हात्ताले भनेका छन् -"आगो लगाउने आक्रमणकारीले आगो लगाउनुअघि हाम्रो कार्यालय र व्यापार शाखामा गएर 'मर्छौ' भनेका थिए ।"

मर्छौ भन्दै ग्यालिनमा बोकेको पेट्रोल केही पर लगेर पोख्दै उनले साथमा बोकेको लाईटर बालेर आगो लगाएको भवनमा जडित सिसिटिभि फुटेजमा देखिएको एनएचके टेलिभिजनले समाचार प्रशारण गरेको छ ।

सन् १९८१ बाट सञ्चालनमा आएको यो एनिमे स्टुडियो क्योतोको चर्चित एनिमे स्टुडियोको रुपमा रहेको छ ।

यसका 'के-अन', 'दि मेलान्चोए अफ हारुचि सुजुमिया' जापानकै चर्चित एनिमे श्रृंखला मध्येमा पर्दछन् ।

जापानको एनिमे उद्योगमानै महत्वपूर्ण योगदान दिएको क्योतो एनिमे स्टुडियोमा लागलागी भएपछि जापानभर घटनाप्रति गहिरो दुख व्यक्त गरिएको छ ।

बिहिबार मध्यरात सम्ममा मृत्यु हुनेको संख्या ३३ पुष्टि भएको छ । घाईते मध्ये कयौंको अवस्था अझै गम्भिर रहेकाले त्यो संख्या बढ्न सक्ने चिन्ता अधिकारीहरुले गरेका छन् ।

क्योएनि नामले प्रसिद्ध यो स्टुडियो राजधानी टोकियो बाहिर सञ्चालित सफल एनिमे स्टुडियोको रुपमा रहेको छ ।

जापानमा सन् २००१ मा राजधानी टोकियोको व्यस्त पर्यटकिय क्षेत्र खाबुकिचोमा एक भवनमा लागलागि हुँदा ४४ जनाको निधन भएको थियो । त्यसयता यो नै सबैभन्दा ठूलो मानविय क्षतिको आगलागि भएको समाचार संस्था क्योदोले उल्लेख गरेको छ ।

यसबिच ओसाकामा सन् २०१६ मा एक भिडियो पार्लरमा भएको आगलागिमा परि १६ जनाले ज्यान गुमाएका थिए ।