(JAPAN) 16 th October | 2019 | Wednesday | 6:19:05 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:04:05 PM
 

जापानको जनसंख्या लगातार दशौं बर्ष ओरालो, एक बर्षमै ४ लाख बढी जापानी घट्दा बिदेशीको संख्या २ प्रतिशत पुग्यो

Gokarna Adhikari   POSTED ON : Thursday, 11 July, 2019 | Views : 314

जापानको जनसंख्या लगातार दशौं बर्ष ओरालो, एक बर्षमै ४ लाख बढी जापानी घट्दा बिदेशीको संख्या २ प्रतिशत पुग्यो


टोकियो, जापान ।

जापानको जनसंख्या लगातार दशौं बर्ष घटेको छ ।

जापानी नागरिकको संख्या बर्षेनी घट्दो क्रममा रहेपनि जापानमा बस्ने बिदेशी नागरिकहरुको संख्या बढेर दुई प्रतिशत नाघेको छ ।

जापानको अन्तरिक मन्त्रालयका अनुसार यस बर्षको जनवरी १ तारिख सम्ममा जापानको कुल जनसंख्या १२ करोड ४७ लाख बढी रहेको पाईएको छ ।

वल्र्डओमिटरडटकम नामको वेवसाईटमा प्रकाशित जापानको प्रत्यक्ष जनसंख्या थपघट तथ्यांक हेर्ने हो भने जुलाई १० तारिख २०१९ साँझ सम्ममा १२ करोड ६८ लाख बढी रहेको देखिन्छ ।

जापानको आन्तरिक मन्त्रालयले सार्वजनिक गरेको जनवरी १ तारिख २०१९ को तथ्यांक अनुसार जापानको जनसंख्या अघिल्लो बर्षको तुलनामा ४ लाख ३३ हजारले घटेको छ ।

जापानको जनसंख्या यतिधेरै घटेको अहिलेसम्मकै बढी हो ।

सन् १९६८ सालदेखी राख्न थालिएको जनसंख्याको तथ्यांक हेर्दा गत बर्ष सबैभन्दा बढी जनसंख्या घटेको पाईएको छ ।

१० बर्षदेखी घट्दो क्रममा रहेको जापानको जनसंख्या पाचौं बर्ष लगातार ठूलो संख्यामा ओरालो लागेको हो ।


जन्मदरपनि घट्दो

जापानमा शिशु जन्दरको संख्या सन् १९७९ पछि गत बर्ष सबैभन्दा कम भएको छ । गत बर्ष मात्र ९ लाख २१ हजार शिशुको जन्म भएको जापानको सरकारी रेकर्डले देखाएको छ ।

शिशु जन्मदरको यो संख्या अघिल्लो बर्षको तुलनामा एक लाख भन्दा बढीले कम हो ।


टोकियो सभैभन्दा धेरै जनघनत्व भएको शहर


जापानभरको जनसंख्याको बसोबास हेर्दा राजधानी टोकियो सबैभन्दा बढी जनघनत्व भएको शहर भएको पाईएको छ ।

टोकियोमा कानागावा प्रिफेक्चर सहित १ करोड ३० लाख बढी नागरिक बसोबास गरिरहेको तथ्यांकले देखाएको छ ।

जापानको तोत्तोरी प्रिफेक्चरमा सबैभन्दा कम जनसंख्या बसोबास गर्दछन् । सो प्रिफेक्चरमा मात्र ५ लाख ६१ हजार जनसंख्या रहेका छन् ।


४७ प्रिफेक्चरमध्ये पाँच प्रिफेक्चरको जनसंख्या बढ्यो

जापानमा टोकियो, होक्काईदो जस्ता प्रिफेक्चर स्वायत्त क्षेत्रको संख्या ४७ वटा रहेको छ । यस्ता प्रिफेक्चरको संख्या धेरै रहेपनि मात्र पाँच वटा प्रिफेक्चरमा गत बर्ष जनसंख्या बढेको पाईएको छ ।

जसमा राजधानी टोकियो सहित साईतामा, कानागावा र चिबा रहेका छन् । जुन राजधानी टोकियो आसपासका प्रिफेक्चर हुन् ।

राजधानी टोकियो बाहिरको एकमात्र ओकिनावा प्रिफेक्चरको जनसंख्या केही बढेको देखिएको छ ।

राजधानी टोकियोमा गत बर्ष ७० हजार जनसंख्या बढेको छ । टोकियोपछि सबैभन्दा बढी होक्काईदोमा ३९ हजार जनसंख्या बढेको तथ्यांकले देखाएको छ ।

राजधानी टोकियोमा जनसंख्या बढेपनी प्रमुख शहरको रुपमा रहेको नागोया र ओसाका क्षेत्रमा भने जनसंख्या घट्दो क्रममा देखिएको छ ।


जापानीको संख्या घट्दो बिदेशी बढ्दो


जापानमा बिदेशी नागरिकहरुको संख्या बढेर गत बर्ष २ लाख ६६ हजार नाघेको छ । यो संख्या जापानको कुल जनसंख्याको २ प्रतिशत भन्दा बढी हो ।

जापानको जनसंख्या घट्दो क्रममा रहेपनि बिदेशी नागरिकको संख्या भने सबै प्रिफेक्चरमा बढेको पाईएको छ ।


कुन शहरमा कति बिदेशी बढे ?

राजधानी टोकियोमा बिदेशी नागरिकहरुको संख्या सबैभन्दा बढी ५ लाख ५० हजार रहेको छ ।

टोकियोपछि आईची प्रिफेक्चरमा २ लाख ५० हजार र ओसाकामा २ लाख ३० हजार बिदेशी नागरिक बसोबास गरिरहेको जापानको आन्तरिक मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।