(JAPAN) 21 st July | 2019 | Sunday | 8:57:37 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:42:37 AM
 

जापानले नेपाली कामदार ल्याउने टुंगो लाग्यो, अक्टोबरमा सिप र भाषा परीक्षा, खर्च ४५ सय जापानी येन

Jack Khadka   POSTED ON : Saturday, 29 June, 2019 | Views : 2298

जापानले नेपाली कामदार ल्याउने टुंगो लाग्यो, अक्टोबरमा सिप र भाषा परीक्षा, खर्च ४५ सय जापानी येन


टोकियो, जापान ।

सम्झौता भएको ६ महिना बित्दा समेत नेपाली कामदार जापान आउनेबारे अन्योलता रहि रहँदा त्यसलाई चिर्दै अब भने नेपाली कामदार जापान आउन भाषा परिक्षा देखि सिप परिक्षणको समेत मिति तोकिएको छ ।

तर यस्तो खवर जापान आउन भाषा अध्ययन गरिरहेका अर्धदक्ष नेपाली युवाहरुको लागि भने खासै खुशीको बन्न सकेको छैन । किनभने जापानले नेपालबाट पहिलो वर्ष ‘नर्सिङ कियर गिभर’ को क्षेत्रमा मात्र दक्ष कामदार ल्याउने भएको छ ।

यसको लागि आगामी अँग्रेजी महिनाको अक्टोबरमा काठमाडौंमा सीप र भाषाको परीक्षण गर्ने टुंगो लागेको छ ।

जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष–अर्धदक्ष कामदार ल्याउने सहमति गरे पनि पहिलो वर्ष नर्सिङ कियर गिभरको क्षेत्र छनोट गरेको हो  ।

५ वर्षभित्र नर्सिङ क्षेत्रमा जापानले ६० हजार विदेशी कामदार ल्याउने निर्णय अनुसार नेपालबाट ल्याउन सुरुवात गर्न लागेको हो । तर नेपालबाट पाँच बर्षको अवधिमा कति जना यो क्षेत्रबाट आउन पाउनेहुन् केही खुलाईएको छैन ।

जापानी कम्पनीले माग गरेअनुसार कामदार छनोट हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

दुई देशबीचका श्रम अधिकारीबीच भएको ‘भिडियो कन्फ्रेन्स’मा जापानी अधिकारीहरूले नर्सिङ क्षेत्रमा नेपालीलाई प्राथमिकतामा राखिएको जनाएका छ ।

श्रम समझदारीपछिको यो पहिलो भिडियो कन्फ्रेन्स बैठक भएको बताईएको छ । यसलाई प्राविधिक समितिको बैठक नभनिए पनि यसमा भएका विषय सरकारी रेकर्डमा राख्न दुवै पक्ष सहमत भएको श्रम मन्त्रालका सहसचिव उमेश ढुंगानाले बताएका छन् ।

जापानमा सरकारी संयन्त्रबाटै कामदार पठाइनेछ । कामदार पठाउन म्यानपावरको संलग्नतालाई स्वीकार गरिएको छैन । कामदार लैजाने प्रक्रिया अगाडि बढेपछि दुवै देशले एकआपसमा सिधा सञ्चार तथा समन्वय गर्न सम्पर्क व्यक्ति तोकेका छन् 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव ढुंगानालाई सम्पर्क व्यक्ति तोकेको छ  । ‘वैदेशिक रोजगार विभागअन्तर्गत जापानको इकाई बनाउने प्रारम्भिक काम भइसकेको छ । एकजना निर्देशकलाई तोकिसकेका छौं,’ ढुंगानाले जानकारी दिए ।

‘नर्सिङ केयर’का लागि अक्टोबरमा भाषा परीक्षण गर्न जापानले अन्तर्राष्ट्रिय कम्पनी ‘प्रो म्याट्रिक’लाई जिम्मा दिएको छ । सीप परीक्षण गर्न जापान फाउन्डेसनले पनि एउटा अन्तर्राष्ट्रिय संस्थालाई तोकेको छ । सीप र भाषा दुवै कम्प्युटरमा आधारित हुनेछ  ।

‘परीक्षा सकिएलगत्तै परीक्षार्थीले पास र फेल थाहा पाउनेछन्,’ ढुंगानाले भने, ‘एकपटक भाषामा पास भएपछि १० वर्षसम्म मान्यता पाउनेछ ।मन्त्रालयका अनुसार भाषा परीक्षाका लागि २५ सय जापानी येन, सीप परीक्षाका लागि एक हजार येन र नर्सिङ क्षेत्रका लागि एक हजार येन गरी ४५ सय जापानी येन शुल्क लाग्नेछ । 

सरकारी समझदारी अनुसार भिसा प्रक्रियामा लाग्ने र टिकट खर्च रोजगारदाताकै जिम्मेवारीभित्र पर्नेछ ।

जापानले नेपाल सहित ९ देशबाट ५ वर्षभित्र १४ वटा क्षेत्रमा ३ लाख ४५ हजार विदेशी श्रमिकलाई ल्याउने निर्णय गरेको थियो ।

जापान सरकारले दिएको जानकारी अनुसार अन्य भिसामा जापान आईपुगेका नेपालीमध्ये ७० जनालाई जापानले श्रम भिसामै काम दिन छनोट गरिसकेको छ ।