(JAPAN) 18 th June | 2019 | Tuesday | 4:30:04 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 1:15:04 PM
 

नेपाल एयरलाईन्सको ओसाका उडान स्थगित, गलत ठाउँ उडान चयन गर्दा टिकट विक्रि भएन

  POSTED ON : Wednesday, 05 June, 2019 | Views : 376

नेपाल एयरलाईन्सको ओसाका उडान स्थगित, गलत ठाउँ उडान चयन गर्दा टिकट विक्रि भएन


गोकर्ण अधिकारी-टोकियो, जापान ।

नेपाल एयरलाईन्सले जापानको ओसाकामा आगामी जुलाई ४ (असार १९) गतेबाट गर्ने भनेको उडान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

गत बैशाख २० गते जापानको ओसाका उडानको मिति र समय तालिका सार्वजनिक गरेको निगमले गत महिना टिकट मुल्य सार्वजनिक गरेको थियो ।

सुरुमा साताको तीनदिन मंगलबार, बिहिबार र शनिवार उडान गर्ने तालिका सार्वजनिक गरेको निगमले गत साता बिहिबारको उडान रद्द गर्दै साताको दुईदिन मंगलबार र शनिवार मात्र उडान गर्ने सूचना जारि गरेको थियो ।

लगत्तै एकहप्ता पछि नै सबै उडान स्थगित गरेको सूचना जारी भएपछि जापानमा रहेका नेपालीहरुले निगम व्यवस्थापनको लापरवाहीका कारण जापान ओसाका उडान रद्द हुन पुगेको भन्दै सामाजिक सञ्जालमा आलोचना थालेका छन् ।

नेपालीहरुको कम बसोबास, राजधानी भन्दा टाढा लगायत कारण यात्रु पाउने सम्भावना न्यून हुँदा हुँदै ओसाका उडान रोजेको निगमले अहिले भने उडान रद्द हुनुको कारण टिकट बुकिङ न्युन हुनुलाई जनाएको छ ।

१२ बर्षपछि जापानको उडान हुने कुराबाट थोरै यात्रु लाभान्वित हुने भएपनि यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने भन्दै जापान स्थित नेपाली राजदूतावास लगायत यहाँका संघसंस्थाहरुले आफ्ना कार्यक्रमहरु मार्फत नेपाल एयरलाईन्सको ओसाका उडानको प्रचार प्रसार गर्दै आएका थिए ।

नेपाल एयरलाईन्सको जापान ओसाका उडान साताको दुईदिन मात्रै, बिहिबारको उडान कटौती

निगमका प्रवक्ता नवराज कोईरालाले नै यसलाई पुष्टि गर्दै हरेक उडानमा अत्यन्त न्यून टिकट बुकिङ भएका कारण बिमान रित्तै हुने देखिएपछि उडान रद्द गरेको पुष्टि गरेका छन् ।

निगमले तत्कालको लागि असार १९ बाट गर्ने भनेको उडान स्थगित गरेको जनाएपनि नयाँ उडानको बारेमा केही बताएको छैन ।

नेपाल एयरलाईन्सका जापानस्थित निर्देशक सन्तोष पाण्डेले जापानसमाचारडटकमसँगको कुराकानीमा उडान स्थगनको सूचना प्राप्त भएको पुिष्ट गर्दै यसको निर्णय केन्द्रिय कार्यालयबाट भएको भन्दै विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको बताउनुभयो ।

निर्देशक पाण्डेले ओसाकाको लागि छिट्टै नयाँ उडान तालिका सार्वजनिक हुने विश्वास व्यक्त गर्दै ओसाका सहित नारिता बिमानस्थलमा पनि उडानको लागि पहल भईरहेको भन्दै छिट्नै नेपाल एयरलाईन्सका वरिष्ठ अधिकारीहरु यसबारेमा छलफलको लागि जापान आउन लागेको जानकारी समेत दिनुभयो ।

ओसाका उडान रद्द हुनुमा निगमको असफल नेतृत्व र गलत निर्णय मुख्य कारण

नेपाल एयरलाईन्सको जापान उडान मिति, समय र भाडा तय, मे दोस्रो साताबाट टिकट विक्रि खुल्ला 

नेपाल र जापानलाई सिधा हवाई उडानले जोड्ने त्यसमा पनि राष्ट्रिय ध्वजाबाहक बिमानमा यात्रा गर्न पाईने भएपछि जति जापानवासी नेपाली र नेपालमा रहेका नेपाली खुशी थिए त्यतिनै निरास भएका छन् काठमाडौं र ओसाका शहर उडान स्थगनको अप्रत्यासित निर्णयबाट ।

आम अपेक्षा र सुझाव बिपरित नेपाल एयरलाईन्सले राजधानी टोकियोको नारिता र हानेडा बिमानस्थल उडानमा जति पहल गर्नुपर्ने थियो त्यस बिपरित ओसाकाको कान्साई अन्तर्राष्ट्रिय बिमानस्थल उडानमा पहल गर्दा त्यहीँ उडान तय भयो ।

नेपालीहरुको न्युन बसोबास, जापानको राजधानी भन्दा टाढाको बिमानस्थल, विभिन्न शहरमा छरिएर रहेका नेपालीहरुलाई आउजाउ गर्न दुरीका हिसाबले टाढा रहेका कारण जापानमा पर्यटन, नेपाल एयरलाईन्सको बिगतको जापान उडान र यससँग सम्वन्धि सरोकारवालाहरुले दिएको सुझावलाई नजरअन्दाज गर्दै निगमले आफ्नो निर्णयमा पुर्न बिचार गर्न नसक्दाकै परिणाम उडान तय भएर पनि स्थगित गर्नुपरेको यस क्षेत्रका सरोकारवालाहरु बताउँछन् ।

नेपाल एयरलाईन्सले तत्कालको लागि ओसाका उडान स्थगित गर्ने निर्णय अप्रिय भएपनि सही निर्णय भएको भन्दै सरोकारवालाहरुले नेपाल एयरलाईन्स व्यवस्थापनलाई जतिसक्दो छिटो राजधानी टोकियोको नारिता वा हानेडा बिमानस्थल उडान तय गर्न सुझाव समेत दिएका छन् ।