(JAPAN) 22 nd August | 2019 | Thursday | 8:13:04 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 4:58:04 PM
 

६ महिना अघि नेपाली कामदार जापान जान नपाउने ! इन्डोनेसिया र फिलिपिन्सपछि मात्रै नेपालमा भाषा परीक्षा

  POSTED ON : Friday, 26 April, 2019 | Views : 1748

६ महिना अघि नेपाली कामदार जापान जान नपाउने ! इन्डोनेसिया र फिलिपिन्सपछि मात्रै नेपालमा भाषा परीक्षा


काठमाडौं ।

नेपाल र जापानले कामदार आपूर्तिबारे सम्झौता गरेपनि जापानले भाषा परीक्षाको मोडालिटी टुंगो लगाएका कारण नेपाली युवाहरु जापान रोजगारको लागि जाने प्रक्रिया तत्काल सुरु नहुने भएको छ ।

हाल ईण्डोनेसिया र फिलिपिन्समा भाषा परिक्षाको काम सुरु भएकाले दुई देशमा यसको काम सकिएपछि मात्र नेपालमा भाषा परिक्षा हुने भएको छ । 

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालका अनुसार जापानले भाषा परीक्षा र कामदार आपुर्ति प्रक्रियाका विषयमा गृहकार्य गरिरहेकाले कामदार लैजाने प्रक्रिया र मिति तय हुन नसकेको हो ।

जापान सरकार र नेपाल सरकारबीच कामदार आपुर्तिको विषय सार्वजनिक भएलगत्तै भाषा परिक्षा अनिवार्यको खवरले देशभर दशौं हजार युवा जापानी भाषा पढिरहेका छन् । तर सरकारी अधिकारीहरुको अनिश्चित भनाईले उनिहरुको समय र लगानी खेर जाने देखिएको छ ।

जापानले हाल परीक्षणका रुपमा इन्डोनेसिया र फिलिपिन्समा भाषा परीक्षा सञ्चालन गर्दैछ । त्यसपछि मात्रै नेपालसहित अरु ७ मुलुकमा कामदार आपूर्तिका लागि परीक्षा गर्ने बताईएको छ ।

जापानले आफ्नो प्रक्रिया र मोडालिटी टुंगो लगाएपछि कामदार भर्तिको प्रक्रिया सुरु हुने भएको छ ।

जापानले दुईदेशसँगको प्रक्रिया पुरा गरेर नेपालमा भाषा परिक्षाको मोडालिटी, भाषा विद्यालय छनौट, परिक्षा, नतिजा प्रकाशन, सिप परिक्षण, जापानी कम्पनीले छनौट र भिषा लागेर नेपाली कामदार जापान जाने काम अबको ६ महिना अघि पुरा हुन नसक्ने सरकारी अधिकारीहरु बताउँछन् ।

सबै काम समयमै सकिएमा दुई महिनापछि भाषा परिक्षाको तय र ६ महिनापछि नेपाली कामदार जापान जाने सुरुवात हुनसक्ने अधिकारीहरुको अनुमान छ ।

जापानी भाषा कक्षा सञ्चालन तथा कस्तो भाषा आवश्यक पर्ने भन्ने कोर्सको कुनै टुंगो लागिसकेको छैन । जापानले दुई देशमा परीक्षण स्वरुप भाषा परीक्षा गरेपछि नेपालमा पनि भाषा परीक्षाको कोर्स पठाउने जानकारी दिएको सचिव दाहालको भनाई छ ।

नयाँ भिषा प्रक्रिया अनुसार जापान जाने नेपाली कामदारले जापानी सरह सेवा सुविधा पाउने बताईएको छ । यही अप्रिल १ देखि नेपाल सहित ९ वटा देशबाट कामदारको भर्ति प्रक्रिया सुरु गर्ने बताईएपनि पहिलो महिना सकिन लाग्दा जापानले केही देशमा मात्र भाषा परिक्षा, द्धिपक्षिय सम्झौता लगाएको काम सकेको छ ।

दुई प्रकारको भिषामा पहिलो दक्ष र दोस्रोमा विशिष्ट क्षमताका गरेर सुरुमा पाँच बर्षे भिषा अवधिमा जापानले आगामी पाँच बर्षमा ३ लाख ४५ हजार कामदार लैजाने तयारी गरेको छ ।

जसमा पहिलो दक्ष कामदारले पाँच बर्षे भिषा पाएपनि परिवारका सदस्य लैजान पाउनेछैनन् । तर विशिष्ट क्षमताका कामदारले भने परिवारका सदस्य समेत लैजान पाउनेछन् भने भिषा समेत चाहे अनुसार थप गरेर जापानमा रहन सक्नेछन् ।

कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योथ, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हजाई उद्योगमा जापानले ९ देशबाट कामदार लिनेछ ।

यसमध्ये नेपालबाट कुन क्षेत्रमा बढी कामदार लैजाने भन्ने टुंगो लागिसकेको छैन । नेपाल सरकारले नेपाली कामदार जापान जाँदा निशुल्क प्रक्रियाको प्रयास गरिरहेको बताएपनि न्युन शुल्कमा सहमती हुने बताईएको छ । तर त्यस्तो न्युन शुल्क दक्षिण कोरिया रोजगारमा जाने कामदार सरह हुने वा कति रकम हुने तय भएको छैन ।