(JAPAN) 21 st July | 2019 | Sunday | 9:14:42 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:59:42 AM
 

जापानमा युवा जनशक्ति अहिलेसम्मकै कम, जन्मदर ओरालो तर बृद्ध र बिदेशीको संख्या बढ्दो

  POSTED ON : Saturday, 13 April, 2019 | Views : 271

जापानमा युवा जनशक्ति अहिलेसम्मकै कम, जन्मदर ओरालो तर बृद्ध र बिदेशीको संख्या बढ्दो


गोकर्ण अधिकारी-टोकियो, जापान ।

जापानको जनसंख्याको नयाँ तथ्यांकले जापानी समाज तिब्रगतिमा बृद्ध जनसंख्याले भरिंदै गएको देखाएको छ ।

तथ्यांक अनुसार जन्मदर लगातार ओरालो लागेको र काम गर्न सक्ने युवा जनशक्ति अहिलेसम्मकै कम भएको तथ्य पाईएको छ ।

रोचक कुरा के भने जापानी नागरिकको जनसंख्या घटेपनि जापानमा बिदेशी नागरिकहरुको संख्या भने अहिलेसम्मकै धेरै पाईएको छ ।

जापानको गृह मन्त्रालयका अनुसार गत अक्टोबर महिनामा बिदेशी नागरिक सहित जापानको कुल जनसंख्या १२ करोड ६४ लाख पुगेको छ ।

यो संख्या लगातार आठौं बर्ष घटेर कम स्तरमा पुगेको हो । २ लाख ६३ हजार अर्थात् करिव ०.६३ प्रतिशतले अघिल्लो बर्षको तुलनामा जापानको जनसंख्या घटेको छ ।

सन् २००८ मा जापानको जनसंख्या अहिलेसम्मकै उच्च रहेको थियो ।

नयाँ तथ्यांक हेर्दा युवा जनशक्ति अर्थात् काम गर्ने सक्ने श्रम शक्तिको रुपमा लिईएको १५ देखी ६४ बर्ष उमेर बिचको जनसंख्या ७ करोड ५४ लाख रहेको छ । यो संख्या कुल जनसंख्याको केवल ६० प्रतिशत हो । यो संख्या सन् १९५० मा गरिएको तथ्यांक जुन द्धितिय विश्वयुद्धमा दशौं हजार जापानीको निधन भएको समय पछिको संख्या बराबर जस्तै हो ।

६५ बर्ष भन्दा माथिको जापानको नयाँ जनसंख्या ३ करोड ५५ लाख पुगेको छ । यो संख्या कुल जनसंख्याको २८ प्रतिशत हो । यो जापानको अहिलेसम्मकै धेरै बृद्ध जनसंख्याको रेकर्ड समेत हो ।

यस भित्रपनि ७५ बर्षभन्दा माथिको जनसंख्या ५० प्रतिशत भन्दा धेरै रहेको छ । जापानमा ७५ बर्षभन्दा माथिको उमेर समुहलाई श्रम नगर्ने अथवा गर्न नसक्ने जनसंख्याको रुपमा लिने गरिन्छ ।

१५ बर्ष भन्दा कम्म उमेरका बालबालिकाहरुको संख्या कुल जनसंख्याको केवल १२ प्रतिशत रहेको छ । कुल जनसंख्याको १ करोड १५ लाख जनसंख्या बालबालिकाको रहेको छ । यो पनि जापानको अहिलेसम्मकै सबैभन्दा कम बालबालिका संख्या हो । यसले जापानमा जन्मदर लगातार ओरालो लागेको पुष्टि गर्दछ भने युवा श्रम शक्तिको अभाव आगामी बर्षहरुमा झनै चर्कंदै जाने देखाउँछ ।

जापानमा ३ महिना वा सो भन्दा बढी समय रहने बिदेशी नागरिकको संख्या भने लगातार छैटौं बर्ष बढेर उच्च स्तरमा पुगेको छ ।

नयाँ तथ्यांक अनुसार जापानमा अहिले २२ लाख बढी बिदेशी नागरिकहरु बसोबास गर्दछन् ।

...

जापानले लगातार जन्मदर ओरालो तथा श्रम गर्न सक्ने युवा जनशक्तिको अभावका कारण बिदेशी कामदार समेत ल्याउन थालेको छ ।

यसको लागि नेपाल सहित ९ वटा देशबाट यसै अप्रिल महिनाबाट नयाँ भिषा प्रणालीमा बिदेशी कामदार ल्याउने काम अघि बढाएको छ ।

जापानले आगामी ५ बर्ष भित्रमा ९ देशबाट ३ लाख ४५ हजार कामदार १४ विभिन्न क्षेत्रमा कामको लागि ल्याउँदैछ ।