(JAPAN) 26 th April | 2019 | Friday | 7:00:56 PM
(Nepal) 26 th April | 2019 | Friday | 3:45:56 PM
 

जुलाई ४ बाट नेपाल एयरलाईन्समा नेपाल जापान सिधा यात्रा, सस्तो र सहज, उडानको समय तालिका सहित

  POSTED ON : Monday, 08 April, 2019 | Views : 7202

जुलाई ४ बाट नेपाल एयरलाईन्समा नेपाल जापान सिधा यात्रा, सस्तो र सहज, उडानको समय तालिका सहित


गोकर्ण अधिकारी-टोकियो, जापान ।

नेपाल वायुसेवा निगमले जापान उडानको लागि अनुमति पाएसँगै अब नेपालीहरुले आफ्नै देशको ध्वजाबाहक बिमानमा नेपाल जापान सिधा यात्रा गर्न पाउने भएका छन् ।

जुलाइ ४ तारिखबाट जापानको ओसाका उडानको लागि जापानको नागरिक उडड्यन कार्यालय जेक्याब बाट सोमबार अनुमति पाएसँगै नेपाल एयरलाईन्सको जापान उडानको अन्यौलता अन्त्य भएको हो ।

जापान उडानको पहिलो यात्रा नेपाल एयरलाईन्सले जुलाई ४ तारिख गर्ने भएको छ । यसको लागि निगमको बिमान राती २ बजेर ३० मिनेटमा काठमाडौं त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलबाट यात्रु लिएर जापानको लागि उड्नेछ ।

८ घण्टा २५ मिनेटको सिधा हवाई उडान गरेर नेपाल एयरलाईन्स बिहान ११ बजेर ५५ मिनेटमा जापानको ओसाका स्थित कान्साई अन्र्तराष्ट्रिय बिमानस्थलमा अवतरण हुनेछ ।

नेपालको माग अनुसारनै जापानबाट ओसाका काठमाडौं उडान अनुमति पाएको नेपाल एयरलाईन्स जापानबाट सोही दिन अर्थात् जुलाई ४ तारिख अपरान्ह १ बजेर ५५ मिनेटमा यात्रु लिएर नेपालको लागि उड्नेछ ।

नेपाल वायुसेवा निगमसँग रहेको दुईवटा एयरबस ३३० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका स्जित कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा उडान गर्ने छ ।

२ सय ७४ सिट क्षमताको एयरबस ३३० मा १८ बिजनेस क्लास र २ सय ५६ ईकोनोमि क्लासका सिट रहेका छन् ।

नेपाल एयरलाईन्सले यात्रुहरुलाई सहज होस् भनेर सबैको पायक पर्नेगरि काठमाडौं र जापानको ओसाबाट उडानको समय तालिका यत गरेको नेपाल एयरलाईन्सका जापान निर्देशक सन्तोष पाण्डेले जानकारी दिनुभयो ।

रातको समयमा नेपालबाट उडान हुनेहुँदा साँझ काठमाडौंमा रहने यात्रुहरुले घरमानै खाना खान सक्नेछन् भने काठमाडौंको जामको समस्याबाट समेत जोगिने छन् ।

उडानको समय तालिका अनुसार रातको ८ बजेपछि सडक जाम हटेपछि काठमाडौं उपत्यकाको जुनसुकै स्थानबाट बिमानस्थल पुग्न भ्याउने समय यात्रुहरुले पाउनेछन् ।

यसका साथै जापानबाट नेपाल उडान हुने समय समेत अपरान्ह १ बजेपछि भएकाले जापानको जुनसुकै स्थानबाट ओसाका पुग्नको लागि यात्रुले समय पाउने भएका छन् ।

साथै नेपाल सोही दिन साँझ ६ बजे बिमान अवतरण हुने छ ।

तत्काल नेपाल जापान उडानको टिकट मुल्य नतोकिएपनि केही साताभित्रमानै सबै टुंगो लाग्ने जानकारी दिंदै निगमका कायममुकायम उपनिर्देशक समेत रहनुभएका पाण्डेले अन्य बिमान कम्पनीको तुलनामा सस्तो हुने बताउनुभयो । पाण्डेका अनुसार आवश्यक व्यवस्थापन र तयारीको लागि निगमले फाईनान्स मेनेजर र बिमानस्थलमा रहेर नेपाली यात्रु र जापानसँग सहकार्य गर्नको लागि ईमिग्रेसन म्यानेजर पठाउने तयारी गरिसकेको छ ।

नेपाल एयरलाईन्सले अँग्रेजी महिनाको मे बाट नेपाल जापान उडानको तयारी गरेपनि हाल अप्रिल १ तारिखबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको धावनमार्ग निर्माणको कारण उडान पर सर्न गएको नेपाल एयरलाईन्सका जापान प्रमुख सन्तोष पाण्डेले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

रातको १० बजेबाट बिहान ८ बजेसम्म धावनमार्ग निर्माणको काम भईरहेकाले नेपाल एयरलाईन्सको जापान उडान दुई महिना ढिलो हुन पुगेको पाण्डेको भनाई छ ।

निगमले जापानबाट उडान अनुमति पाएको ४० दिनभित्र नियमित उडान गर्ने योजना बनाएपनि नेपालमा धावन मार्ग निर्माणका कारण पछि धकेलिएको हो ।

बिमान अभावका कारण एक दशकअघि जापान उडान बन्द गरेको नेपाल एयरलाईन्सले बोइङ ७५७ मार्फत जापान उडान गर्दै आएको थियो ।

दुई बोइङ चालु अवस्थामा रहेको निगमले अन्तराष्ट्रिय उडान विस्तारको लागि थप बिमान ल्याउने तयारी गरिरहेको छ ।

निगमले दुई साताअघि मात्र काठमाडौंबाट जापानको राजधानी नारिता बिमानस्थलमा उडानको लागि समेत निवेदन दिईसकेको छ ।

यसअघि नेपालमा अवतरण हुने समय अन्यथा पर्न गएकोमा सच्याईएको छ । यसबाट पर्नगएको असुविधाको लागि क्षमायाचना गर्दछौं ।

समाचार सम्वन्धित श्रोतबाट प्रकाशनको लागि अनुमति पाएपछि प्रकाशित गरिएकाले यसमा समाचार संस्थाको गल्ति नरहेको समेत प्रष्ट पार्न चाहन्छौं ।