(Japan) 29 th January | 2020 | Wednesday | 5:53:15 AM || (Nepal) 2:38:15 AM
 
 

जापानमा बृद्धबृद्धा रेखदेखमै बर्षदिनमा १ सय खर्ब खर्च

Sajina Moktan   POSTED ON : Saturday, 30 November, 2019 | Views : 428

जापानमा बृद्धबृद्धा रेखदेखमै बर्षदिनमा १ सय खर्ब खर्च


टोकियो, जापान ।

बृद्धबृद्धाहरुको रेखदेखको लागि जापानले एक बर्षमै १ सय खर्ब जापानी येन खर्च गरेको छ ।

जापानमा बढ्दो बृद्धबृद्धाहरुको संख्याका कारण उनिहरुको नर्सिंग रेखदेखको लागि सन् २०१८ मा पहिलो पटक १ सय खर्ब येन खर्च भएको जापानी अधिकारीहरुले बताएका छन् ।

जापानी समाचार संस्था माईनिचि सिम्बुनका अनुसार पहिलो पटक बृद्धबृद्धाहरुको स्वास्थ्य र रेखदेखमा यतिधेरै खर्च भएको हो । सन् २००१ बाट बृद्धबृद्धाहरुको रेखदेखको लागि गरिएको लगानीको तथ्यांक यता यो रकम सबैभन्दा धेरै हो ।

समाचार संस्था एनएचके टेलिभिजनका अनुसार जापानको कल्याण मन्त्रालयले सन् २०१८ मा भएको ९२ अर्ब डलर (जापानी येनलाई डलरमा मुल्यांकन गर्दा) खर्चको आँकडा सन् २००१ को तुलनामा दुईगुणा भन्दा बढी हो ।

यसमा बृद्धबृद्धाहरुको रेखदेखको लागि उनिहरुले गरेको खर्च समेत सामेल गरिएको हो ।

सन् २०१९ को मार्च महिना सम्ममा अघिल्लो आर्थिक बर्षमा करिव ६० लाख बृद्धबृद्धाहरुले स्वास्थ्य तथा हेरचाह सुविधा प्राप्त गरेका थिए ।

जापानमा बढ्दो बृद्धबृद्धाको जनसंख्याका कारण उनिहरुको स्वास्थ्य र हेरचाहको लागि सरकारी खर्च बर्षेनी बढ्ने सरकारी अधिकारीहरुको अनुमान छ ।

सन् २०४० सम्ममा जापानमा बृद्धबृद्धाहरुको संख्या चरमबिन्दुमा पुग्ने बताउँदै अधिकारीहरुले उनिहरुको स्वास्थ्य र रेखदेखमै राज्यको मुख्य लगानी खर्च हुने भन्दै यसमा चिन्ता व्यक्त गरेका छन् ।

बृद्ध उमेरका नागरिकको संख्या बढ्दो र घट्दो जन्मदरका कारण जापानमा बर्षेनी जनसंख्या ओरालो लागिरहेको छ ।

जसका कारण युवा श्रमशक्ति अभावका कारण जापानले बृद्धबृद्धाहरुको रेखदेखको लागि नर्सिगं केयर सहित विभिन्न क्षेत्रमा नेपाल सहित ८ वटा देशबाट सन् २०२४ सम्ममा करिव ५ लाख कामदार ल्याउने प्रक्रिया थालेको छ ।

एक तथ्यांक अनुसार जापानमा सन् २०२४ सम्ममा झण्डै २५ लाख स्वास्थ्यकर्मी (नरसिंग,केयरगिभर) अभाव हुने देखिएको छ ।

सन् २०२५ सम्ममा जापानमा हरेक ५ जना व्यक्तिमा एकजना व्यक्ति ७५ बर्ष उमेर माथिको हुने अनुमान जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था जापानटाईम्सले उल्लेख गरेको छ ।

त्यसमा पाँच जना मध्ये एकजना ६५ बर्ष उमेरको व्यक्ति मानसिक रुपमा अस्वस्थ हुने र उसको रेखदेखको लागि एकजना सहयोगी आवश्यक पर्ने ठानिएको छ ।

Photo Source : KYODO/The Japan Times