JAPAN: 13 th December | 2019 | Friday | 7:55:24 PM || Nepal: 4:40:24 PM
 
 

बृद्धबृद्धा भाग्य कि भार ? जापानमा सय बर्ष उमेर नाघेका नागरिक ७१ हजार नाघे

  POSTED ON : Monday, 16 September, 2019 | Views : 409

बृद्धबृद्धा भाग्य कि भार ? जापानमा सय बर्ष उमेर नाघेका नागरिक ७१ हजार नाघे


टोकियो, जापान ।

घरमा बृद्ध उमेरका हजुरबुवा वा हजुरआमा हुनु नेपाली समाजमा उनिहरुका सन्तानका लागि भाग्य र सौभाग्यको रुपमा लिईन्छ । तर बृद्ध उमेरका व्यक्तिहरुको संख्या अधिक हुँदा राज्यलाई भने भाग्यको कुरा नभई भार हुन पुग्दो रहेछ । यसको उदाहरण बनेको छ जापान ।

लगातार बृद्ध जनसंख्या बढ्दै जाँदा जन्मदर घटेर जनसंख्याको सन्तुलनमै समस्या आईरहेको जापानमा एक सय वर्ष नाघेका व्यक्तिको संख्या मात्र ७१ हजार नाघेको छ ।

बृद्ध नागरिकहरुको संख्या लगातार बढ्दै जाने क्रममा झण्डै आधा शताब्दि अर्थात् ४९ औं वर्षमा यो संख्या ७१ हजार २ सय ३८ जना पुगेको जापान सरकारको तथ्यांकले देखाएको छ ।

बृद्ध जनसंख्या बढ्दै जाँदा उनिहरुको हेरचाह र स्वास्थ्यमा खर्च गर्नुपर्दा जापानमा राज्यढुकुटीमा बर्षनी ठूलो भार थपिंदै गएकोमा जापानी अधिकारीहरु समेत चिन्तित बनेका छन् ।

जापानमा मनाईने बृद्धबृद्धाहरुको सम्मान दिवसअघि सार्वजनिक तथ्यांकमा सन् १९८९ मा जापानमा केवल ३ हजार ७८ जना १ सय बर्ष नाघेका व्यक्ति रहेको बताईएको छ । यो संख्या ३० बर्षमा बढेर २३ गुणा नाघेको छ ।

जापानमा वृद्धवृद्धाहरुलाई सम्मान गर्ने दिवस हरेक बर्षको सेप्टेम्बर महिनाको तेस्रो हप्ताको सोमवार मनाउने गरिन्छ ।

सार्वजनिक तथ्यांक अनुसार यो आइतवार सम्ममा जापानमा एक सय वर्ष पुगेका महिलाको संख्या ६२ हजार ७ सय ७५ पुगेको छ । यो संख्या अघिल्लो बर्षको तुलनामा १ हजार ३ सय २१ ले बढी हो ।

महिलासँगै पुरुषको संख्या समेत बढेको छ । पुरुषको संख्या गत वर्षको तुलनामा १ सय ३२ ले बढेर ८ हजार ४ सय ६३ मा पुगेपनि एक सय बर्ष पुगेका महिलाको तुलनामा भने पुरुषको संख्या ज्यादै न्युन पाईएको छ ।

जापानको फुकुओका शहरमा सबैभन्दा बृद्ध १ सय १६ वर्षिय नागरिक काने तानाका रहेका छन् । उनी महिला हुन् । सन् १९०३ मा जन्मिएकी तानाकाले विश्व रेकर्डमा जिवित उमेरका बृद्धाको रुपमा नाम समेत लेखाएकी छिन् ।

जापानकै सबैभन्दा बृद्ध पुरुषमा भने निगाता प्रिफेक्चरका १ सय १२ वर्षिय चितेसु वातानावे रहेका छन् ।

जापानमा सबैभन्दा धेरै बृद्धबृद्धाको संख्या राजधानी टोकियोमा रहेको छ । टोकियोमा  मात्र ६ हजार ५९ जना सय बर्ष नाघेका व्यक्तिहरु रहेका छन् ।

विश्वमै सबैभन्दा लामो आयु बाँच्ने देशको तेस्रो नम्वरमा रहेको जापानमा महिलाको ८७ बर्ष र पुरुषको ८१ बर्ष औसत आयु रहेको छ ।

वातावरण, स्वास्थ्य, खानपान तथा औषधोपचारको सुविधाका कारण बर्षेनी जापानी नागरिकको औषत आयु बढिरहेको छ ।