(JAPAN) 18 th June | 2019 | Tuesday | 3:57:24 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:42:24 PM
 

काठमाडौंमा बर्डफ्लुले महामारी रुप लिंदै, ३५० काग मर्यो भक्तपुरमा तीन हजार कुखुरा नष्ट

  POSTED ON : Saturday, 06 April, 2019 | Views : 161

काठमाडौंमा बर्डफ्लुले महामारी रुप लिंदै, ३५० काग मर्यो भक्तपुरमा तीन हजार कुखुरा नष्ट


काठमाडौं ।

काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमणले महामारीको रुप लिईरहँदा कुखुरा मात्र होईन चराचुरुगींहरुपनि मर्न थालेको छ ।

काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको छ ।

 ‘एक हप्तामा डेढ सय काग मरेका छन्, नमुना परीक्षण गर्दा बर्डफ्लु एच५एन१ पोजेटिभ देखियो,’ प्रदेश ३ का वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठले भने । नेपालमा बर्डफ्लु संक्रमणबाट काग मरेको पहिलोपटक पुष्टि भएको चिकित्सकहरूले बताएका छन् ।

पशु विकास अधिकृत श्रेष्ठले परेवा, भँगेरामा कुनै समस्या नदेखिएको, तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्क अपनाइएको बताए । उनका अनुसार पशु सेवा विभागले मृत काग नष्ट गरिसकेको छ । 

टोखा क्षेत्रमा केही समयअघि कुखुरामा बर्डफ्लु देखिएको र फालेका कुखुरा खाँदा कागमा सरेको हुन सक्ने अनुमान पशु चिकित्सकको छ । श्रेष्ठले बर्डफ्लु कुखुरा र कागबाट मानिसमा सर्ने सम्भावना बराबर हुने बताए । मानिसबाट मानिसमा सर्ने क्रम झन् तीव्र हुने उनले बताए । 

कागमा बर्डफ्लु देखिएपछि सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुनले थप सजग रहन सबैलाई आग्रह गरेका छन् । 

भक्तपुरमा करिब तीन हजार कुखुरा नष्ट

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटको उत्कृष्ट बहुउद्देश्य कृषि फर्ममा बर्डफ्लु संक्रमित दुई हजार नौ सय ८५ कुखुरा नष्ट गरिएको छ । सोही फर्ममा एक सय ५० केजी दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । 

दधिकोटको तर्खालका सञ्जीव बुढाथोकीले सञ्चालन गरेको फर्ममा रहेका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण भएको पुष्टि भएपछि वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठ नेतृत्वको टोलीले सो संख्याका कुखुरा नष्ट गरेको हो ।