(JAPAN) 21 st March | 2019 | Thursday | 3:15:36 PM
(Nepal) 21 st March | 2019 | Thursday | 12:00:36 PM
 

आज टोकियोमा भारी हिमपात हुने-रेल सेवा अवरुद्ध हुनसक्ने, होक्काईदोमा ४० बर्ष यताकै चिसो

  POSTED ON : Friday, 08 February, 2019 | Views : 1310

आज टोकियोमा भारी हिमपात हुने-रेल सेवा अवरुद्ध हुनसक्ने, होक्काईदोमा ४० बर्ष यताकै चिसो


ज्याक खड्का टोकियो ।

जापानको मौसम अधिकारीहरुले राजधानी टोकियोमा शुक्रबार भारी हिमपात हुने बताएका छन् ।

जापानको अधिकाशं भागमा हिमपात भईरहेको मौसम विवरणहरु सार्वजनिक गर्दै अधिकारीहरुले होक्काईदोमा ४० बर्ष यताकै चिसो मौसम रेकर्ड भएको जानकारी दिएका छन् ।

राजधानी टोकियोमा शनिबार सहित आगामी सोमबार र शुक्रबार हिमपात हुने प्रक्षेपण गर्दै मौसम अधिकारीहरुले यो क्रम छिटफुट रुपमा बुधवार र बिहिबार सहित आगामी शनिवार र आईतबारसम्म जारी रहने बताएका छन् ।

मौसम अधिकारीहरुका अनुसार राजधानी टोकियोको अधिकाशं भागमा शनिवार बिहानैदेखी हिउँ पर्न सुरुहुनेछ ।

बिहान ७ बजेबाट भारी हिमपात सहित चिसो हावा बहने भन्दै मौसम एजेन्सीका अधिकारीहरुले हिमपातको क्रम साँझ सम्म जारी रहने बताएका छन् ।

शनिबार र आईतबार राजधानी टोकियो हिउँले ढाकिने भन्दै अधिकारीहरुले १० सेन्टिमिटर सम्म बाक्लो हिउँ जम्ने अनुमान गरेका छन् ।

सरकारी अधिकारीहरुले राजधानी टोकियोको मुख्य क्षेत्रमा कम्तिमा ५ मिटरसम्म हिउँ जम्ने भन्दै धेरै ठाउँमा सडक मार्ग अवरुद्ध हुनसक्ने साथै रेल सेवामा समेत असर पर्नसक्ने बताएका छन् ।


हिउँ परेको समयमा साईकल, मोटरसाईकल सहित चारपाँग्रे सवारीका साधन चलाउँदा विशेष सजगता अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

हिउँ परेको सडकमा गाडी कुदाउँदा टायर चिप्लने र गति नियन्त्रण गुम्न गएर दुर्घटनाको सम्भावना अधिक हुने भएकाले अति आवश्यक बाहेक हिउँ परेको स्थानमा सवारी साधनमा यात्रा नगर्न सुरक्षा अधिकारीहरुले सुझाव समेत दिएका छन् ।

चारपाँग्रे सवारीका साधनहरु चलाउँदा टायरमा चेन बानेर सावधानिका साथ न्युन गतिमा चलाउन आग्रह गर्दै सरकारी अधिकारीहरुले कुनैपनि ठाउँको यात्रा गर्नुअघि सो क्षेत्रको मौसम बारेको जानकारी र अवस्था बुझ्न अनुरोध गरेका छन् ।

गत बर्ष यहि समयमा परेको हिमपातका कारण केही स्थानमा ४ दिनसम्म सडक र रेल सेवा अवरुद्ध हुन पुगेको समेत सरकारी अधिकारीहरुले बताएका छन् ।


होक्काईदो हिउँमा परिणत


सन् १९५७ देखी राख्न थालिएको मौसम सम्वन्धि रेकर्डमा शुक्रबार होक्काईदोले चिसो मौसमका उच्च रेकर्ड बनाएको छ ।

शुक्रबार माईनस २४ डिग्रि मापन गरिएकोमा शनिवार तापक्रम थप घटेर माईनस ३० डिग्रि पुग्ने ठानिएको छ ।

शुक्रबार होक्काईदोको १५ सय मिटर उचाईमा २४.४ डिग्रि माईनस तापक्रम मापन गरिएको थियो । शुक्रबार ओकेतो शहरमा माईनस २२.७ डिग्रि रेकर्ड भएको छ भने रिकुबेचु शहरमा माईनस २०।६ डिग्रि तापक्रम पाईएको छ ।

होक्काईदोको मुख्य शहर साप्पोरो र आसाहिकावा शहरमा माईनस १० डिग्रि तापक्रम मापन गरिएको छ ।

मौसम अधिकारीहरुले होक्काईदो क्षेत्रमा अझै केही साता तापक्रम माईनसमा रहने भन्दै यो समयमा स्वास्थ्यमा विशेष ध्यानदिन आग्रह गरेका छन् ।

होक्काईदोको अधिकाशं क्षेत्रमा केहीदिन यता सडक मार्ग अवरुद्ध जस्तै रहेको छ भने रेल सेवा समेत छिटफुट रुपमा मात्रै सञ्चालन भईरहेको जापानी समाचारसंस्थाहरुले उल्लेख गरेका छन् ।