(JAPAN) 17 th October | 2018 | Wednesday | 5:01:45 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 1:46:45 PM
 

टोकियोमा एकल साँझमा गुञ्जिए रामकृष्ण-यस्तो रह्यो नेपाली र जापानी धुनको अनुपम संगम (भिडियो सहित)

  POSTED ON : Wednesday, 03 October, 2018 | Views : 1258

टोकियोमा एकल साँझमा गुञ्जिए रामकृष्ण-यस्तो रह्यो नेपाली र जापानी धुनको अनुपम संगम (भिडियो सहित)

गोकर्ण अधिकारी-टोकियो ।

मादल र तबलाको तालमा ताल मिलाउँदै जापानी संगितकर्मीले आधुनिक बाजाको धुन भरिरहँदा बाँसुरीको सुमधुर आवाजले सभाहल संगितमय बातावरणमा उघारियो ।

प्रस्तोता रबिन शर्माको साहित्यिक शब्दले संगितमय वातावरणमा सुनमा सुगन्ध थपिरहँदा एकल साँझमा पर्खाइका मुख्य पात्र बनिरहेका उनै गायक रामकृष्णबम मल्ल प्रस्तुत भए आफ्नो देशप्रेमले भरिएको गीत मुटु भित्र नेपाल छ कि नेपाल भित्र मुटु लिएर ।

खाँटी नेपाली पोशाक दौरासुरुवाल र ढाकाटोपीमा मञ्चमा पलेँटी कसेर आफुले संगित तथा स्वर दिएका आफ्ना एकदर्जन गीत पस्किएका मल्लले जापानलाई नै कर्मभूमि बनाएर संगित र साहित्यमा लागिरहेका अधिकाशं युवापुस्ताका श्रृजना पस्किएका थिए ।

जापानलाई कर्मथलो बनाउँदै आएका सर्जकहरु केशव पौडेल, पिताम्बर चापागाँई, युवराज आचार्य, रविन शर्मा, लक्ष्मण कार्की, दिप पाठक, अरुण पौडेल लगायतका रचनालाई गायक मल्लले एकल साँझमा समेटेका थिए ।

एकल साँझमा गायक मल्लले मुटु भित्र नेपाल छ कि नेपाल भित्र मुटु, आधि आधि सँगै हिँड्ने बाटो फेरि दियौ, बाँचु भने मनभरि दर्द, यो जिन्दगी बगेको गंगा झैं, बस प्यारी धनकमाई आउँला, आफ्नो भाग्य आफ्नै हातले लेख्न मिल्ने भए लगायत लोकप्रिय गित प्रस्तुत गरेका थिए ।

यसैगरि देशप्रेमले भरिएको तराईमा धान झुल्दा माथि हिमाल हाँस्छन, मेरी आमा देउता सम्झी काट्दै होलिन बत्ती, सहित कार्यक्रमको उत्तर्राद्धमा सालैजो, यानीमाया, ठाडो भाकामा गीत गाउँदा हल मनोरञ्जनात्मक बन्न पुगेको थियो ।

जसमा गायक मल्ललाई गायिकाद्वय सोना केसी र सीता पुनले साथ दिएका थिए ।

कार्यक्रममा जापानी गायिकाद्वय आओइ सानो र एरि खावामुराले जापानी गीत गाएर सांगितिक साँझलाई नेपाल र जापानबिच सांगितिक सम्वन्धको सेतु बनाउने काममा पुलको भूमिका निभाएका थिए ।

मल्लको जादुमयी स्वरमा सुमधुर संगित भरेर अविस्मरणीय एकल साँझ बनाउन तबला र मादलमा ऋषि पौडेल, बाँसुरीमा खडग पुन तथा सारङ्गीमा मनु थापा र अक्टोप्याडमा भरत सुनारले सारथीको भूमिका निभाएका थिए ।

नेपाली मौलिक संगित र गायनलाई जापानी धुनमा मिलाएर दुई देशबिचको मित्रतालाई सांगितिक हार्दिकता बनाउन गितारमा शिगेयुकी कोनिता, बेस गितारमा तारो इरिए, कि बोर्डमा मासामी इशिहारा र पार्समा बुन्ता ताकामुराले ठूलो भूमिका निभाए ।

फरक बाजागाजा अनि गायनलाई न्याय दिलाएर आधुनिक बाजाको संगित भर्न जापानी संगितकर्मीहरुले गरेको परिश्रम उनिहरुका मुहारमा एकलसाँझ अवधिभर झल्किन्थ्यो भने नेपाली मौलिक बाध्यबाधनको सुमधुर धुन प्रत्यक्ष सुन्न पाउँदा उपस्थित दर्शकहरु मन्त्रमुग्ध भएर कार्यक्रम अवधिभर हलमा बसेका थिए ।

रामकृष्णबम मल्ल एकल साँझ राष्ट्रिय लोक तथा दाहोरीगीत प्रतिष्ठान नेपालको कलाकार कल्याणकारी कोषको सहयोगार्थ आयोजना गरिएको थियो ।

जापानको व्यस्त दैनिकिमा कार्यालय समयको दिनमा आयोजित एकल साँझमा करिव अढाई सय दर्शक हलमा उपस्थित थिए ।

नेपाल र नेपाली संगितलाई मायाँ गर्ने दर्जनौं जापानी नागरिकहरुको समेत उपस्थिति रहेको सांगितिक साँझमा साहित्यिक कार्यक्रमको लागि जापान आईपुगेका आधा दर्जन बरिष्ठ साहित्यकारहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, फ्रान्सका लागि पूर्व नेपाली राजदूत तथा जापानस्थित नेपाली राजदूतावासका पूर्व कार्यवाहक राजदूत मोहनकृष्ण श्रेष्ठ, नेपाल हाइकुकेन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाँडे, साहित्यकारहरु शिरोमणि दवाडी, अश्विनी कोइराला, किरण पौडेल, विजयराज आचार्य, गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्री, तत्कालिन नेकपा माओबादी केन्द्रका बागलुङ जिल्ला संयोजक ज्ञाननाथ गैरे 'अनिल', लोक दोहोरी प्रतिष्ठान दक्षिण कोरियाका प्रतिनिधी गायिका रेबिका लामिछाने, माचुदो इन्टर्नेशनल एक्सचेञ्ज एसोशियशनका डाईरेक्टर योसीयुकी सिमानो, हारुहितो नोजु, डा। इतो युकी, फुरुहाता चुनेहिरो लगायत दर्जनौं संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।