(JAPAN) 19 th June | 2018 | Tuesday | 12:19:47 PM
(Nepal) 19 th June | 2018 | Tuesday | 9:04:22 AM
 

सुर्य ईन्टरनेशनल अवार्ड नोमिनेशन दर्ता खुल्ला, जापानमा नेपाली चलचित्र र संगीतको ऐतिहाँसिक अवार्ड यस्तो हुँनेछ

  POSTED ON : Saturday, 09 June, 2018 | Views : 1768

सुर्य ईन्टरनेशनल अवार्ड नोमिनेशन दर्ता खुल्ला, जापानमा नेपाली चलचित्र र संगीतको ऐतिहाँसिक अवार्ड यस्तो हुँनेछ

गोकर्ण अधिकारी-टोकियो ।

जापानमा नेपाली चलचित्र र संगीतका साधक र श्रष्टाको सम्मानमा आयोजना हुन लागेको सुर्य ईन्टरनेशनल अवार्डको लागि नोमिनेशन फारम खुल्ला गरिएको छ ।

सेप्टेम्बर १६ तारिखमा हुन लागेको चलचित्र र संगीतको यो अवार्ड जापानमा पहिलो पटक हुन लागेको हो ।

जापानका नेपालीहरुमाझ परिचित सुर्य ईन्टरनेशनलको आयोजनामा चलचित्र र संगीतमा ६ ६ विधामा गरि कुल १२ बिधामा अवार्ड वितरण गरिने भएको छ ।

कसरी गर्ने नोमिनेशन दर्ता ?

१२ बिधा मध्ये चलचित्रको लागि ६ विधामा चलचित्र सम्बद्ध र ६ विधामा संगीतमा आवद्ध कलाकार तथा निर्देशक लगायतले आफ्नो नोमिनेशन दर्ता गराउन सक्नेछन् ।


उत्कृष्ठ फिल्म

उत्कृष्ठ फिल्मको लागि विक्रम संवत् २०७४ सालभर प्रदर्शन भएका चलचित्रहरु नोमिनेशनको लागि दर्ता गर्न सकिनेछ । यसरी दर्ता भएका मध्येबाट सुर्य ईन्टरनेशनल अवार्ड जुरी टिमले उत्कृष्ठ पाँच चलचित्रलाई अन्तिम सुचिमा समावेश गरि नाम सार्वजनिक गर्नेछ ।


उत्कृष्ठ नायक/नायिका


उत्कृष्ठ चलचित्रको दाबी सहित दर्ता भएका चलचित्रमा अभिनय गरेका तथा दर्तामा नभएपनि विक्रम सम्वत २०७४ सालको अवधिमा प्रदर्शन भएको अन्य चलचित्रमा अभिनय गरेका नायक नायिकाहरुले आफ्नो नोमिनेशन दर्ता गराउन सक्नेछन् । सुर्य ईन्टरनेशनका निर्देशक बासुदेव लामिछानेले जापानसमाचारसंगको कुराकानीमा भन्नुभयो-'कुनै चलचित्र लोकप्रिय हुनसक्छ तर कलाकार नहुन सक्छ, कुनै चलचित्रबाट नायक नायिका जोडदार अभिनयले लोकप्रिय हुनसक्छन् तर चलचित्र नहुन सक्छ त्यसैले उत्कृष्ठतालाई अवार्ड दिइने भएकाले चलचित्र र कलाकार एउटै चलचत्रिको हुनुपर्छ भन्ने छैन । चलचित्रमा अभिनय गर्ने नायक नायिका सहित सपोर्टिङ कलाकार महिला तथा पुरुष पनि यसै अनुसार चयन हुने भएकाले त्यही अनुसार सबैले नोमिनेशन दर्ता गराउन सक्नुहुनेछ ।'

चलचित्रको ६ विधामा १. उत्कृष्ट चलचित्र २. उत्कृष्ट निर्देशक ३. लोकप्रिय नायक ४. लोकप्रिय नायिका ५. उत्कृष्ट सह अभिनेता ६. उत्कृष्ट सह अभिनेत्री पुरुष रहेका छन् ।

चलचित्रको लागि छुट्याईएको ६ विधाका पुरस्कारहरु कुनै एक चलचित्रले धेरै विधामा अवार्ड जित्न पनि सक्ने र सबै फरक फरक चलचित्रबाट चयन हुनपनि सक्नेछन् । अनलाईन भोटिङको आधारमा बिजयी हुनेले अवार्ड पाउने भएकाले अवार्ड कार्यक्रम निस्पक्ष र पारदर्शी हुने आयोजकको दाबी छ ।

उत्कृष्ठ सह-अभिनेता र अभिनेत्रीको अवार्ड बारे सोधिएको जिज्ञासामा सुर्य ईन्टरनेशनलका निर्देशक लामिछानेले भन्नुभयो-'यो कुनैपनि चलचित्रको नायक नायिका पछि दोस्रो उत्कृष्ठ अभिनय गर्ने सह-नायिका वा नायक हुनपनि सक्छ, वा अन्य भूमिकामा अभिनय गर्ने जस्तो हाँस्य कलाकार, अतिथि कलाकार, नायक नायिकाको वुवा आमाको भूमिकामा रहेका अझ भनौं चलचित्रमा उत्कृष्ठ अभिनय गर्ने जो कोही हुनसक्छ ।


संगीत साधक र श्रष्टाको सम्मानमा ६ अवार्ड


चलचित्रमा जस्तै गीत संगीत तर्फ ६ वटा विधामा अवार्ड दिन लागिएको सुर्य ईन्टरनेशन अवार्डमा गायक/गायिका सहित श्रष्टा र सर्जक पनि सम्मानीत हुने भएका छन् ।

गीत संगीत तर्फ सबै बिधालाई समेटेर अवार्ड घोषणा गरेको आयोजकले संगीत तर्फ लोक, आधुनीक र पप गीतको तीनवटा क्षेत्र छुट्याएको छ ।

जसमा लोक गितको तर्फबाट उत्कृष्ट गायक गायिका, आधुनिक गितको तर्फबाट गायक गायिका र पप गीतमा पनि लोकप्रिय गायक र गायिकाले अवार्ड पाउनेछन् ।


विश्वभरबाटै दिनसकिन्छ आवेदन

जापानमा पहिलो पटक नेपाली चलचित्र र संगीतको सुर्य ईन्टरनेशनल अवार्ड आयोजना हुने

नेपाली चलचित्र तथा गीत संगीतको क्षेत्र फराकिलो बन्दै गएको छ । बिदेशमा नै चलचित्र निर्माण र प्रदर्शन सहित गीत संगीत सिर्जना र प्रकाशन प्रशारण भईरहेका छन् सुर्य ईन्टरनेशनलका प्रमुख लामिछानेले भने-'त्यही भएर सबै विधामा विश्वव्यापी रुपमा ईन्टरनेटबाटै नोमिनेशन भर्न सकिने व्यवस्था मिलाएका छौं तर त्यसको लागि आवेदकले केही प्रक्रिया भने पुरा गर्नुपर्छ । तर सबै प्रक्रिया निशुल्क हुने भएकाले कोही पनि श्रष्टा र सर्जकले आफ्नो सिर्जना र अभिनय उत्कृष्ठ ठहरिएर अवार्ड पाउन कुनै रकम खर्च गर्नु पर्दैन मात्र प्रक्रिया पुर्याएर नोमिनेशन दर्ता अनि शुभेच्छुक र आफ्ना फ्यानहरुको साथ पाए पुग्छ ।'

'विश्वभरीबाट अनलाईन तथा सामाजिक सञ्जाल मार्फत भोटिङ गर्न सकिने व्यवस्था सहित भोटिङकै आधारमा पपुलर अवार्ड वितरण गरिने छ' लामिछानेले थप स्पष्ट पार्दै भन्नुभयो-'नेपाली अवार्ड वितरणमा बेला बखत लाग्ने गरेको निश्पक्षताको आरोपलाई ख्याल गर्दै सबै पारदर्शी बनाउन मतदानका आधारमा उत्कृष्ट हुनेलाई अवार्ड दिन लागिएको हो ।'

जेष्ठ मसान्त सम्म अवार्डको लागि नोमिनेशन दर्ता गराउन सकिने आयोजकले जानकारी दिएको छ । विश्वकै महंगो शहरको रुपमा परिचित जापानको राजधानी टोकियोमा नेपाली चलचित्र र संगीत क्षेत्रमा आवद्ध करिव ५ दर्जन नेपाली कलाकार र सरकारी उच्च अधिकारी समेतलाई उपस्थित गराएर ऐतिहाँसिक अवार्ड आयोजना गर्न लागिरहेको सुर्य ईन्टरनेशनलका निर्देशक बासुदेव लामिछानेका अनुसार अवार्ड समारोहमा हाँस्य, गायन नृत्य सहितको बृहत सांस्कृतिक कार्यक्रम गरिनेछ । जसको लागि नेपालबाट लोकप्रिय कलाकारहरु निम्त्याइने तयारी भइरहेको छ ।

अवार्डको तयारी तिब्ररुपमा गरिरहेको आयोजकले नेपालमा कलाकर्मी व्यवस्थापन तथा फारम वितरण तथा संकलन सञ्चारकर्मी नरेश भट्टराई र समीर बलामीलाई जिम्मेवारी दिएको छ । विधागत सूची अनुसार नोमिनेशन दर्ता गराउन अनुरोध गर्दै आयोजक संस्था सुर्य ईन्टरनेशनले ऐतिहाँसिक र भव्य बनाउन छुट्टै तयारी र व्यवस्थापन टिमले काम गरिरहेको भन्दै सुर्य ईन्टरनेशनल अवार्ड २०१८ नेपाली चलचित्र र संगीतको क्षेत्रमा श्रष्टा र सर्जकको सम्मानको सेतु बन्ने दाबी गरेको छ ।

तोकिएका १२ बिधा बाहेक नेपाली चलचित्र तथा संगीतमा अतुलनीय योगदान दिएका कलाकार तथा श्रष्टाको सम्मानमा सुर्य ईन्टरनेशनल लाईफ टाईम अचिभमेन्ट अवार्ड समेत वितरण गरिन लागेको जानकारी दिंदै आयोजक संस्थाका निर्देशक बासुदेव लामिछानेले भन्नुभयो-'सबैले सम्मान गर्न लायक र नाम लिंदा पनि सम्मानले शिर झुक्ने त्यस्ता व्यक्ति यो अवार्डबाट सम्मानीत हुनुहुनेछ तर त्यस्तो व्यक्ति हाम्रो जुरी टिमले छनोट गरिएका विभिन्न नामहरुमध्येबाट टुंगो लगाउनेछ ।'

सुर्य कर्पोरेशनले लियो जापानमा 'छक्का पन्जा-३' चलचित्र प्रदर्शनको एकाधिकार 

साकुरा नाईटको तेस्रो श्रृंखला टोकियो, नागोया र ओशाकामा भव्य रुपमा सम्पन्न

टोकियो साकुरा नाईटमा हाँसो, नृत्य र गायनको बेजोड प्रस्तुती (भिडियो सहित)