(JAPAN) 16 th October | 2019 | Wednesday | 7:13:27 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:58:27 PM
 

टोकियोमा नेपाली नेवारी चलचित्र 'पानबत्ति' प्रदर्शन

  POSTED ON : Friday, 27 September, 2019 | Views : 71

टोकियोमा नेपाली नेवारी चलचित्र 'पानबत्ति' प्रदर्शन


टोकियो, जापान ।

नेवा: अन्तराष्ट्रिय फोरम जापानको आयोजनामा टोकियो मेगुरो कुन्मिन सेन्टर हलमा नेवारी चलचित्र “पानबति” प्रदर्शन भएको छ ।

नेवार, गैर नेवार र जापानी दर्शकहरूको उपस्थितिमा चलचित्रको प्रदर्शनी सफलता पुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रदर्शनमा चलचित्रका निर्देशक सुरेन्द्र तुलाधर समेतको उपस्थिति रहेको थियो । निर्देशक सुरेन्द्र तुलाधर कलाकारिता मार्फत नेवास् भाषा र संकृतिलाई बचाउनुपर्छ भन्ने सोच सहित बिगत तीस वर्ष अघी बाट यस क्षेत्रमा सकृय हुनुहुन्छ ।

ईमेज च्यानलमा प्रसारण हुने नेवारी टेलिचलचित्र खोटाबजी जुन नेपालको टेलिभिजनको ईतिहाँसमा सबै भन्दा लामो भाग 'हाल सम्म ८०० भाग भन्दा बढी' प्रसारण गर्ने कार्यक्रम पर्दछ यसको कथा र निर्देशक पनि तुलाधरकै हो ।

नेवारी भाषालाई बिषेश महत्व दिएर कार्यक्रमहरू प्रसारण गर्दै आएको ईमेज च्यानलको प्रवन्ध निर्देशक रघुवर भक्त्त मानन्धर र श्रीमती मानन्धर पनि यस चलचित्र प्रदर्शनको निमित्त जापान आउनुभएको थियो । 

चलचित्र नेवारी भाषामा भएपनि अंग्रेजी सबटाईटल राखिएको थियो , जापानिज दर्शकलाई भने संवादहरू जापानी भाषामा उल्था गरिएको पेपर दिईएको थियो । पहिलो पटक टोकियो शहरमा नेवारी चलचित्र हेर्न पाएका नेवार समुदाय निक्कै खुशी देखिन्थे । जापानमा पनि नेवारी चलचित्र हेर्न पाईन्छ भन्ने सोचेको थिएनौं, आज हेर्न पायौ खुशी लागेको छ दर्शक मध्ये एक रवि महर्जनले भने ।

आफ्नो कला, संकृति , भाषा , भेषभुसालाई महत्व दिनुपर्छ भन्ने मुल सन्देश रहेछ , कलाकारहरूको अभिनयपनि उत्कृष्ठ रहेछ अर्का दर्शक टोकियो भन्दा टाढा शहर मिएकेन बाट आएकी आस्था प्रभा तुलाधरले बताए । नेवार भाषा त बुझ्दिन तर पनि अंग्रेजीमा सबटाईटल छ भन्ने सुनेकोले हेर्न आएको फिल्म राम्रो बनेको रहेछ सबटाईटलले गर्दा फिल्मको कुरा राम्ररी बुझियो भन्ने दर्शक ईश्वरी कँडेल थिए। हामी नेवार नभएपनि जापानको नेवार समुदाय सँग नजिक छौं , उहाँहरूको विभिन्न कार्यक्रममा जाने गर्छौ आज फिल्म पनि हेर्न आएको राम्रो रहेछ अर्का दर्शक शिशिर खतिवडाको प्रतिकृया थियो ।

टोकियो लगायत टोकियो बाहिर बाट आएका जापानी दर्शकहरूपनि चलचित्र हेर्न आएका थिए । टोकियो बाहिर शहर गुफु केन बाट आउनुभएको कियोमी आमानो नेपालको चलचित्र पहिले पटक हेरेको र त्यसमा नेवारी चलचित्र हेर्न मौका पाए । बोलिएको कुरा केही नबुझिए पनि चलचित्रको थिम लगभग बुझे साथै जापानिजमा उल्था गरिएको संवादको पेपरले पनि केही सहयोग गर्यो । नेपाली चलचित्रलाई माया गर्ने र हाल सम्म कठपुतली, शिरिषको फुल र माइ लभ गरी तीनवटा नेपाली चलचित्र बनाईसक्नुभएको जापानी निर्देशक तोसीआकी इटोउ पनि पानबति हेर्न आउनुभएको थियो। नेपालको नेवारी चलचित्र टोकियोमा हेर्न पाउँदा निक्कै खुशी लाग्यो भनी आफ्नो प्रतिकृया व्यक्त गर्नुभएको थियो ।

टोकियो शहरमा दर्शक माँझ बसेर चलचित्र हेरेका निर्देशक सुरेन्द्र तुलाधर पनि निक्कै खुशी देखिन्थे । 'जापान जस्तो व्यस्त शहरमा बसेर पनि समय मिलाएर हल सम्म चलचित्र हेर्न यति धेरै दर्शक आईदिनुभयो सबैलाई हृदय देखिनै धन्यवाद छ। दर्शकहरूले देखाउनु भएको यो मायाले कलाकारिता क्षेत्रमा अझै धेरै गर्ने हौसला मिलेको छ । नेवारी कला ,संकृति, भाषा , भेषभुसालाई चलचित्रको माध्यम बाट देश बिदेशमा अझै प्रचार गर्नेछु, साथै यति भव्य कार्यक्रम आयोजक गर्ने संस्था प्रति पनि कृतज्ञता छ' निर्देशक तुलाधर ।

कार्यक्रमको सुरूवाती सम्मान पत्र वितरण बाट भएको थियो । आयोजक संस्था नेवास् अन्तराष्ट्रिय फोरम जापानले मिडियाको मार्फत नेवा स् भाषाको संरक्षण र प्रवर्धन गरेकोमा ईमेज च्यानलको महाप्रबन्धक रघुवर भक्त्त मानन्धर तथा कलाकारिता मार्फत नेवास् भाषाको संरक्षण र प्रवर्धन गरेकोमा निर्देशक सुरेन्द्र तुलाधरलाई संस्थाको पदाधिकारीहरू बाट खादा ओढाई सम्मान पत्र वितरण गरेको थियो । त्यस लगत्तै राष्ट्रिय गान बजेको थियो र चलचित्र सुरू भएको थियो । चलचित्रको अन्त पछी यसै चलचित्रको गीतमा आयोजक, दर्शक र नेपाल बाट आउनुभएको पहुनाहरू स्टेजमा गई नाचेर कार्यक्रमलाई रमाईलो र फरक तरिकाले समापन गरेको थियो ।

नेवा: अन्तराष्ट्रिय फोरम जापानले स्थापना काल देखिनै आफ्नो कला संकृतिलाई जापानमा पनि मनाउनुपर्छ , आफ्नो सन्ततीलाई पनि सिकाउनुपर्छ साथै गैर नेवार र जापानिज माँझ चिनाउनुपर्छ भनेर वर्षै भरी विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। म्हँ पुजा, बुद्ध जयन्ति, क्वाटी पुन्ही, दशैं , बेल विवाह 'ईही' मुख्य कार्यक्रम रहेको छ भने नेवारी चलचित्र प्रदर्शन पहिलो पटक हो ।

नेवारी चलचित्रको संरक्षण र बिकासको लागि भविष्यमापनि चलचित्र प्रदर्शन गर्दै जानेछौ संस्थाको महासचिव शिव तण्डुकारले बताउनुभयो । जापानमा क्रियाशिल संघ संस्था मध्ये नेवा: अन्तरष्ट्रिय फोरम जापान पनि एक हो ।