(Japan) 26 th February | 2020 | Wednesday | 3:16:31 PM || (Nepal) 12:01:31 PM
 
 

जापानमा मोहन ड्रागन नेपाली झण्डा बोकेर भिड्दै-बिगव्याङ उपाधि भिडन्त जापानी खेलाडीसँग

Gokarna Adhikari   POSTED ON : Sunday, 22 December, 2019 | Views : 1618

जापानमा मोहन ड्रागन नेपाली झण्डा बोकेर भिड्दै-बिगव्याङ उपाधि भिडन्त जापानी खेलाडीसँग


टोकियो, जापान ।

आक्रामक भिडन्तमा उत्रने खेल कलाकै कारण तीन जापानी खेलाडी पछि हट्दा दुई बर्षदेखी किक बक्सिङ भिडन्तमा नदेखिएका चर्चित नेपाली खेलाडी मोहन ड्रागन फेरी एकपटक नेपाली झण्डा बोकेर मैदानमा उत्रने भएका छन् ।

जापानको राजधानी टोकियोको सुईदोउबासी स्थित टोकियो डोमको भव्य किक बक्सिङ रिङमा वेर्टल क्लास अन्र्तगत ६६.७ किलो तौल समुहमा मोहन ड्रागन उपाधिका लागि जापानी मुक्केबाजसँग भिड्नेछन् ।

यही डिसेम्बर २९ तारिख आईतबार साँझ हुने खेलको लागि प्रशिक्षण र तयारीमा व्यस्त रहेका मोहन ड्रागन नामले परिचित मोहन महर्जन यसपटक नेपालको ईज्जत र जापानवासी नेपालीहरुको शानको लागि जसरीपनि उपाधि जित्ने दाबी गर्छन् ।

आफ्नो फरक खालको खेल प्रस्तुतीकै कारण जापानीमाझ चर्चासँगै रुचाईएका किक बक्सर मोहन ड्रागन नेपालको प्रतिनिधित्व गर्दै बिगव्याङ जापान टाईटल उपाधिका लागि भिड्न लागेका हुन् ।

'बिगव्याङ टाईटल जितेमा यो टाईटलको अन्तर्राष्ट्रिय प्रतियोगितामा जापानबाट खेल्ने पहिलो बिदेशी खेलाडी बन्ने मौका जुरेको छ' दुई वर्ष अघि के वान टाईटलमा उपबिजेता बन्नुपरेको घटना सम्झँदै ड्रागन भन्छन्-'मेरो खेल हेर्नकै लागि भनेर कयौं जापानीहरुले किटक काटेका छन् म उनिहरुलाई निरास बन्न दिन्न साथै जापानवासी नेपालीहरुको मायाँलाई पनि खेर जान दिन्न ।'

ड्रागनसँग जापानका अर्का चर्चित किक बक्सर खेलाडी ज्योजी भिड्दैछन् । बिगव्याङ जापानको ३७ औं टाईटलमा नेपाली खेलाडी ड्रागनलाई पहिलो राउण्डमै हराएर उपाधि जित्ने दाबी जापानी खेलाडीले गरेको सुनाउँदै ड्रागनले विश्वासका साथ भने 'म उनलाई नेपाली मुक्केबाजको मुक्का कहिल्यै नभुल्नेगरि पाठ सिकाएर नेपाली झण्डा फहराउँछु ।'

४ हजार दर्शक क्षमताको करिव टोकियो डोमको कोराकोएन हलको करिव ३ हजार टिकट जापानीहरुले मात्र लिईसकेको आयोजकले जानकारी दिएको ड्रागनले बताए ।

जापानमा रहेर आफ्नै लगानी र क्षमतामा देशको झण्डा फहराउँदै भिडन्त गर्दै आएपनि नेपाल सरकार देखी जापानस्थित राजदूतावासबाट कुनैपनी सहयोग नपाएको गुनासो ड्रागनको छ । जापानवासी नेपालीहरुबाट पाएको मायाँ अनि जापानमा रहेका व्यवसायीहरुको साथले अघि बढ्न सहयोग मिलिरहेको बताउँदै मोहन ड्रागनले भने -'विगतमा जस्तै २९ तारिख हुने भिडन्तमा पनि नेपाल नेपाल नेपाल भनेर हलभरी आवाज गुञ्जेको सुन्न पाएँ भने त्यसैले नै मलाई सबैभन्दा ठूलो खुशी मिल्छ ।'