(Japan) 19 th April | 2024 | Friday | 11:54:42 AM || (Nepal) 8:39:42 AM
 
 


जापानी खेलाडी ए डिभिजनमा व्यावसायिक फुटबल खेल्न नेपालमा-अफ्रिकन भन्दा अब्बल

  POSTED ON : Saturday, 21 December, 2019 | Views : 3608

जापानी खेलाडी ए डिभिजनमा व्यावसायिक फुटबल खेल्न नेपालमा-अफ्रिकन भन्दा अब्बल


काठमाडौं, नेपाल ।

नाम चलेका खेलाडीहरूलाई बटुलेको मछिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई २-० ले पराजित गरेपछि प्रशिक्षक प्रवेश कटुवालले भनेका थिए, ‘विदेशी खेलाडी प्रक्रिया पूरा गरेर अर्को खेलमा आउँदैछन्, जसले टिम बलियो बनाउने छ ।’ उनले अफ्रिकी मूलका पिटर सेगुन, एडेलाजा सोमिडे र आन्द्रेस निआलाई शुक्रबार च्यासल युवाविरुद्ध पहिलो रोजाईमै उतारे ।

तर, उसले तीन जापानी खेलाडी भित्र्याएको च्यासललाई पराजित गर्न सकेन । जापानीहरूले प्रभाव देखाएको एन्फा कम्प्लेक्सको खेल १–१ मै टुंगियो ।

पहिलो खेलमा च्यासलले पनि २–० कै जित रचेको थियो । उसको प्रतिद्वन्द्वी थियो गत वर्षको उपविजेता संकटा । च्यासलको त्यो टिममा पनि विदेशी खेलाडी थिएन । एन्फाको नियमानुसार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चार विदेशी (१ दक्षिण एसियालीसहित) अनुबन्ध गर्न पाउँछ भने तीनजनालाई एकैपल्ट खेलाउन मिल्छ । च्यासलले पनि मछिन्द्रले जस्तै विदेशी खेलाडी खेलाउने प्रक्रिया पूरा गर्‍यो । उसले जापानी खेलाडीहरूको उपस्थितिलाई उपयोग गर्‍यो पनि ।

प्रशिक्षक बालगोपाल साहुखलले पूर्णबहादुर गुरुङ र चेतकुमार थारुलाई ‘बेन्च’ मा राख्दै ताइगा नाकामुरा र हायतो वाकिनोलाई पहिलो रोजाइमा मछिन्द्रविरुद्ध उतारे । दुवैले राम्रै प्रभाव देखाए । छरिता देखिएका हायतोले अग्रपंक्तिमा कप्तान सन्तोष साहुखललाई साथ दिए भने नाकामुराले सेन्टरब्याकमा अभिषेक लिम्बुसँग सहकार्य गरे । अर्का जापानी जुनिची ओजावाले ६२ औं मिनेटमा विंगर अमिर श्रेष्ठको स्थान लिए ।

मछिन्द्रले पनि अघिल्लो टिममा तीन खेलाडी परिवर्तन गर्दै तीन अफ्रिकीलाई सुरुबाटै खेलायो । उनीहरूको तुलनामा ‘आर्टिफिसियल टर्फ’ मा जापानी खेलाडी प्रभावशाली देखिए । गत वर्ष मनाङ मर्स्याङदीलाई लिग च्याम्पियन बनाउन प्लेमेकरको भूमिका खेलेका हेमन गुरुङ लिगकै उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए । यसपालि मछिन्द्रमा आबद्ध उनी पहिलो खेलपछि अस्ट्रेलिया पुगिसके । रेजिन सुब्बाले दोस्रो हाफमा दीपक राईको स्थान लिए भने ब्रिगेड ब्वाइजविरुद्ध पूरा समय खेलेका विजय धिमाल च्यासलविरुद्ध बेन्चमै रोकिए ।


मंगोलियाभन्दा स्तरीय

चार वर्षयता प्रायजसो जापानमै रहेका फरवार्ड सन्तोष साहुखल र एनपीओ र्‍याले वर्ल्डकी आया मियोसीको पहलमा च्यासलले तीन जापानी खेलाडी भित्र्याएको हो । सन् २०१० मा जापानको यू–१५ टिमको कप्तानी गरेको बताइएका नाकामुरासहित तीनै खेलाडीले मंगोलियालगायत थुप्रै देशको लिग खेलेका छन् ।

मिडफिल्डमा जुनसुकै भूमिका पनि खेल्न सक्छन्, नाकामुरा । २८ वर्षे उनले २०१४ देखि १७ सम्म सेन्सु विश्वविद्यालयबाट खेलेका थिए । लाओ प्रिमियर लिग २०१८ मा तेस्रो भएको लुआङ प्रावाङ युनाइटेडसँग लाओसमा रहेका उनले पछिल्लो सिजन २०१९ मा मंगोलियाको एथलेटिक्स २२० बाट त्यहाँको प्रिमियर लिगमा १० गोल र १० एसिस्ट गरेका थिए । नेपालको लिगमा पहिलो खेलपछि उनले भने, ‘यहाँ स्तर मंगोलियाको भन्दा राम्रो रहेछ ।’

विशेषतः लेफ्ट विंग्समा खेल्छन् वाकिनो । २६ वर्षे उनीसँग अस्ट्रेलियाको अर्धव्यावसायिक लिग (न्यु साउथ वेल्स) लेइकाहार्ड टाइगर्सबाट खेलेको अनुभव छ । चार सिजन न्युजिल्यान्डको च्याम्पियनसिप खेलेका उनले लिथुआनिया, जर्मनी, फिनल्यान्ड, कोसोभोको लिग पनि खेले । यसपाली इर्चिमबाट मंगोलियन प्रिमियर लिगको उपविजेता भएपछि यहाँ आइपुगेका उनले मछिन्द्रविरुद्ध सन्तोषसँगै च्यासलको अग्रपंक्ति सम्हाले ।

अट्याकिङ मिडफल्डर हुन्, ओजावा । उनी लाओ प्रिमियर लिग २०१८ मा नाकामुरासँगै लुआङ प्रवाङमा थिए । त्यसअघि मंगोलियन प्रिमियर लिग २०१७) र थाइल्यान्डको ‘बी’ डिभिजन लिग दुई सिजन खेलेका उनले जापानको विश्वविद्यालय लिग खेल्दै २०१० मा करिअर सुरु गरेका थिए । २६ वर्षीय उनलाई लाओ लिगमा घुँडाको चोटले सताएको थियो र त्यसयता पहिलोपल्ट मैदानमा शुक्रबारै फर्किएको उनले बताए ।

मनाङ मर्स्याङदी र थ्रीस्टारका स्टार खेलाडीहरू भित्र्याएर पनि च्यासललाई पराजित गर्ननसकेपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘जापानी खेलाडी आएर च्यासलको टिम राम्रो भएको छ । टिमलाई संगठित बनाइदियो । त्यसले हामीलाई गाह्रो भयो ।’

जापानी खेलाडीको स्तरबारे च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने, ‘उनीहरूको खेल अझै बढ्छ । टिमसँगको अझै मुभमेन्ट बुझेको छैन, खुलेर खेल्न पनि पाएका छैनन् ।’ वोकिनोले दुई साता र अरु दुईले एक सातायता टिमसँग अभ्यास गरेको च्यासल युवाका व्यवस्थापक शंकर व्यञ्जनकारले बताए । ‘मासिक ५ सय अमेरिकी डलरमा उनीहरूलाई तीन महिनाका लागि ल्याइएको हो । पूरा लिग खेलेर फर्किनेछन्,’ उनले भने ।

सन्तोषको ९९ औं गोल

मनाङबाट लिग जितका सोमिडे, थ्रीस्टारमा चम्किएका सेगुन र मिडफिल्डर आन्द्रेसको आगमनसँगै यो लिगकै बलियो टिम बन्ने अभियानमा थियो मछिन्द्र । तर, उसलाई पहिलो प्रयासमै झट्का लाग्यो । आन्द्रेसकै ‘मिस पास’ मा पाएको बल अमिर श्रेष्ठले अगाडि फाले । त्यही बल नियन्त्रण गर्दै सन्तोष साहुखलले पेनाल्टी क्षेत्रको ठीकबाहिरबाट २७ औं मिनेटमा दर्शनीय गोलमा परणत गर्दै च्यासललाई अग्रता दिलाए । सन्तोषले बाँया खुट्टाले प्रहार गरेको ‘हाफ भली’ निकै आकर्षक थियो, जसलाई गत वर्ष मनाङसँगै च्याम्पियन हुँदै उत्कृष्ट गोलकिपर बनेका विशाल श्रेष्ठले रोक्न सकेनन् ।

मछिन्द्रका प्रशिक्षक कटुवालले त्यो गोलमा आन्द्रेसको गल्तीलाई ‘मूर्खता’ को संज्ञा दिए । अघिल्लो खेलमा संकटाविरुद्ध दुई गोल गरेका सन्तोषले उक्त सफलतासँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमाआफ्नो गोलसंख्या ९९ पुर्‍याएका छन् । ‘हाम्रो लिगमा १ सय गोल पुर्‍याउने पहिलो खेलाडी बन्न चाहन्छु,’ २०६० सालमा थ्रीस्टारबाट करिअर सुरु गरेका सन्तोषले भने । अब च्यासलले पुस ९ मा दशरथ रंगशालामा एनरआटीविरुद्ध खेल्नेछ र त्यसैमा उनले गोलसंख्याको शतक पुर्‍याउने आशा गरेका छन् ।

च्याम्पियन बन्ने लक्ष्य बनएको दुई टिमको प्रतिस्पर्धामा दुवैले आ–आफ्नै शैलीमा खेल्ने र आकर्षक फुटबल देखाउने प्रयास गरे । पहिलो गोलको अवसर भने मछिन्द्रले पाएको थियो । त्यो तेस्रो मिनेटमा दीपक राईको प्रयासलाई डिफेन्डर नरेन्द्र चौधरीले क्लियर गरिदिए । विशाल राईले ३० औं मिनेटमा प्रहारगरेको बलमा च्यासलका गोलकिपर एलन नेउपानेले राम्रो बचाउ गरे । रन्जित धिमालको प्रहार पनि पोस्टमाथि गयो ।

दोस्रो हाफमा मछिन्द्रले बलमाथि नियन्त्रण राख्यो । उसले ‘अट्याकिङ थर्ड’मा भने च्यसाललाई दबाब दिन सकेन । च्यासल ३ अंकको नजिक पुगेको थियो । तर, विशाल राईको चलाखीपूर्ण पासमा डिफेन्डर देवेन्द्र तामाङले फस्टबारमै बललाई पोस्टको दिशा दिएर मछिन्द्रलाई ८८ औं मिनेटमा बराबरीमा पुर्‍याए । इन्ज्युरी समयको अन्तिम क्षणमा च्यासलले पेनाल्टी बक्सबाहिर फ्रि–किक पायो । नाकामुराले करिब २५ यार्डबाट प्रहार गरेको बलमा एलनले आकर्षक पन्च नगरेको भए च्यासलले पूर्ण अंक जोड्न सक्थ्यो ।

राजु घिसिङले कान्तिपुरमा लेख्नुभएको यो समाचार सामग्री साभार गरिएको हो ।

सम्बन्धित सामग्री: