(JAPAN) 21 st July | 2019 | Sunday | 8:58:09 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:43:09 AM
 

विश्वकप क्रिकेट-अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इङ्ल्यान्ड फाईनलमा, उपाधिको लागि न्यूजिल्याण्डसँग भिड्ने

  POSTED ON : Friday, 12 July, 2019 | Views : 53

विश्वकप क्रिकेट-अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इङ्ल्यान्ड फाईनलमा, उपाधिको लागि न्यूजिल्याण्डसँग भिड्ने


काठमाडौं ।

घरेलु मैदानमा विश्वकप क्रिकेटको सेमिफाईनलमा उपाधि दावेदार अष्ट्रेलियालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै इङ्ल्यान्ड विश्वकप क्रिकेटको फाईनलमा प्रवेश गरेको छ ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा घरेलु टोली इङ्ल्यान्डले जीत निकाल्ने क्रममा मात्र २ विकेट गुमायो ।

इङ्ल्यान्डको जितमा जे रोयले सवार्धिक ८५ रनको योगदान दिए । जेएम बाएस्ट्रोले ३४ रनको योगदान दिंदा जेई रुट र मोर्गानले क्रमस ४९ र ४५ रनको नटआउट योगदान दिंदै टिमलाई बिजयी बनाए ।

अष्ट्रेलियाले दिएको २ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले मात्र ३२.१ ओभरमा २ विकेट गुमाउँदै २ सय २६ रन जोड्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलिया ४९ ओभरमा २ सय २३ रनमा अलआउट भएपछि इङ्ल्यान्डले फाइनल पुग्न २ सय २४ रनको लक्ष्य पाएको थियो ।


एड्बेस्टोनमा अष्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक ८५ रन बनाए । १ सय १९ बल ६ चौका प्रहार गरेका स्मिथ रनआउट भए । मिचेल स्टार्कले २९ रनको योगदान दिए । ३६ बल खेल्दै १ चौका र छक्का प्रहार गरेका स्टार्क वोक्सको बलमा बटलरमार्फत क्याच भए ।

एलेक्स केरीले ४६ रनको योगदान दिए । अर्धशतक बनाउन ४ रनले चुकेका केरीले ४ चौका प्रहार गर्दै आदिल रासिदको बलमा क्याच भए । ग्लेन म्याक्सवेलले २२ रन बनाए । २३ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।

म्याक्सवेल जोफ्रा आर्चरको बलमा इयोन मोर्गनमार्फत क्याच भए । ओपनर डेविड वार्नर ९ रनमा क्रिस वोक्सको बलमा बेरियस्टोमार्फत क्याच हुँदा प्याट कुमिन्स ६ रन तथा पिटर हेन्ड्कोम्ब ४ रनमा पवेलियन फर्किएका थिए ।

कुमिन्स रासिदको बलमा रुटमार्फत क्याच हुँदा पिटर बोल्ड भएका थिए । कप्तान एरोन फिन्च र मार्कुस स्टानिसले खाता नै खोल्न सकेनन् । कप्तान फिन्च बोल्ड हुँदा मार्कुस एलबिडब्लु धरापमा परेका थिए ।


नाथन लियोनले ५ रन बनाए । जेसन बेरेनड्रफ १ रनमा पबेलियन फर्किए ।

इङल्याण्डका क्रिस वोक्स र आदिल रासिदले ३-३ विकेट लिए । जोफ्रा आर्चरको नाममा २ विकेट रह्यो । मार्क वुडले १ विकेट लिए ।

पाँच पटकको च्याम्पियन अष्ट्रेलियाको छैठौं पटक उपाधि चुम्ने चाहना चकनाचुर पार्दा इङ्ल्यान्ड घरेलु मैदानमा पहिलो पटक विश्वकपको उपाधि होडको फाईनलमा प्रवेश गरेको छ ।

अब इङ्ल्यान्डले उपाधिका लागि भारतलाई हराएर फाईनल यात्रा तय गरेको न्यूजिल्याण्डको सामना गर्नेछ ।