(Japan) 19 th April | 2024 | Friday | 2:04:28 AM || (Nepal) 10:49:28 PM
 
 


कोपा अमेरिका फुटबल-जापान पहिलो खेलमै चिलीसँग ४-० ले पराजित, दोस्रो खेल उरुग्वेसँग

  POSTED ON : Wednesday, 19 June, 2019 | Views : 3200

कोपा अमेरिका फुटबल-जापान पहिलो खेलमै चिलीसँग ४-० ले पराजित, दोस्रो खेल उरुग्वेसँग


टोकियो, जापान ।

ब्राजिलमा जारी कोपा अमेरिका कपको पहिलो खेलमै जापान चिलिसँग पराकिलो अन्तरले पराजित भएको छ ।

आमन्त्रित टोलीको रूपमा सहभागिता जनाएको एसियाली पावर हाउस जापान ब्राजिलको साओपाउलोमा मंगलबार बिहान भएको समूह ‘सी’को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चिलीसँग ४–० गोलको अन्तरले पराजित भएको हो ।

चिलीको फराकिलो जितमा इडुआडो भार्गसले २ तथा इरिक पुग्लर र एलेक्सिस सान्चेजले समान १–१ गोल गरे ।

चिलि यसअघिको दुवै संस्करणको कोपा अमेरिका कपको च्याम्पियन हो ।

मिडफिल्डर चार्लेस अरान्गिजको पासमा एरिक पुल्गरले गोल गर्दै साविक विजेतालाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । ४४औं मिनेटमा जापानले बराबरी गोलको मौका खेर फालेको थियो ।

५४ औं मिनेटमा माउरिसियो इस्लाको पासमा एडुआर्डौ भार्गासले गोल गर्दै चिलीको अग्रता दोब्बर पारे । ८२औं मिनेटमा एलेक्सिस सान्चेजले अरान्गिजको पासलाई सदुपयोग गर्दै टोलीको जित पक्का गरे । त्यसको एक मिनेट नबित्दै सान्चेजको पासमा भार्गासले व्यक्तिगत दोस्रो गोल गर्दै एसियन पावर हाउस जापानलाई ४–० को फराकिलो हार चखाए ।

जापानले स्पेनिस क्लब रियल मड्रिडले यसै साता अनुबन्धित भएको जापानी ‘मेस्सी’ ताकेफुसा कुबोलाई ९० मिनेट मैदानमा उतारे पनि गोल गर्न सकेन । दुवै टोलीले उत्तिकै अवसर पाए पनि जापानले आक्रमण गरेपनि गोलको सुन्दर अवसरहरुको सदुपयोग गर्न सकेन ।

जापानले अब बिहिबार बिहान दोस्रो खेलमा उरुग्वेको सामना गर्नेछ । यस समूहमा उरुग्वेले पहिलो खेलमा इक्वेडरमाथि ४–० को नै जित निकालेकोले जापानको लागि उरुग्वे समेत भारि पर्ने ठानिएको छ ।

उरुग्वेसँगको खेल जापानी समय अनुसार बिहान ८ बजे हुनेछ ।

सम्बन्धित सामग्री: