(JAPAN) 26 th April | 2019 | Friday | 7:21:02 PM
(Nepal) 26 th April | 2019 | Friday | 4:06:02 PM
 

मलेसियालाई ८ विकेटले हराउँदा पनि विश्वकप क्रिकेटमा छनौट हुन नेपाललाई अब जीतले मात्र नपुग्ने

  POSTED ON : Monday, 15 April, 2019 | Views : 171

मलेसियालाई ८ विकेटले हराउँदा पनि विश्वकप क्रिकेटमा छनौट हुन नेपाललाई अब जीतले मात्र नपुग्ने


काठमाडौं ।

यू–१९ विश्वकप छनोटको तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

मलेसियाको बायुमास रंगशालामा भएको खेलमा नेपालले मलेसियालाई उसकै घरेलु मैदानमा सानदार जित निकालेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ब्याटिंगको निम्तो दिएको थियो । पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभर खेल्न सफल भएपनि खातामा भने मात्र ९२ रन जोड्दा अल आउट हुन पुग्यो ।

९३ रनको सामान्य लक्ष्यलाई नेपाली यू–१९ टोलीले १३ ओभरमा मात्र २ विकेटको क्षतिमा पुरा गर्यो । ९५ रन बनाउँदै नेपालले ८ विकेटको फराकिलो जित समेत दर्ता गर्यो ।

नेपालको जितका लागि रित गौतमले नटआउट ३९ रन बनाए, आशिफ शेखले २६, पजन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान गरे।

मलेसियालाई झिनो स्कोरमा समेट्नेक्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए भने कमलसिं ऐरीले २ र सागर ढकालले एक विकेट लिए। 

पहिलो खेलमा सिंगापुरमाथि २१७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा डीएल नियमका आधारमा यूएईसँग १ रनको हार व्यहोरेको थियो। वर्षाले खेल अवरुद्ध भएपछि नेपाललाई क्षति पुगेको हो ।

बर्षाका कारण रन रेटका आधारमा यूएईसँग हार व्यहोरेको नेपाललाई विश्वकपमा छनोट हुन कठिन परेको छ ।

प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुने भएकाले नेपाल कठिन अवस्थामा परेको हो ।

कतिसम्म भने नेपालले अबका खेल जितेर मात्र पुग्दैन । यूएईले कम्तिमा एक खेलमा हार्नै पर्ने हुन्छ भने रन रेटमा समेत नेपालले उसलाई उछिन्नुपर्ने छ ।

आलसम्मको तीन खेलमा यूएई एकमात्र देश रहेको छ जसले तीनै खेल जितेको छ । आजै भएको खेलमा कुवेतलाई ७ विकेटले हराएको यूएई अंक तालिका शिर्ष स्थानमा रहेको छ ।

नेपालले भने चौथो खेलमा मंगलबार ओमानको सामना गर्दैछ । यो खेलमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गरेमा विश्वकप क्रिकेटमा छनोट हुने सम्भावना जिवितै रहनेछ ।