(JAPAN) 26 th April | 2019 | Friday | 7:22:00 PM
(Nepal) 26 th April | 2019 | Friday | 4:07:00 PM
 

कतारमा हुने विश्वकप २०२२ छनौटमा नेपाल दोस्रो चरणमा प्रवेश

  POSTED ON : Saturday, 13 April, 2019 | Views : 341

कतारमा हुने विश्वकप २०२२ छनौटमा नेपाल दोस्रो चरणमा प्रवेश


काठमाडौं ।

फिफा वरीयतामा पछिल्लोपटक एसियाको शीर्ष ३४ स्थानमा रहन सफल भएपछि नेपाली राष्ट्रिय फुटबल टिम कतारमा हुने विश्वकप २०२२ छनोटमा सिधै दोस्रो चरणमा प्रवेश गरेको छ ।

सन् १९८६ को संस्करणबाट विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न थालेको नेपालले पहिलोपल्ट ‘बाई’ पाएर सिधै दोस्रो चरणमा खेल्ने मौका पाएको हो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले पछिल्लोपल्ट ४ अप्रिल, २०१९ मा जारी गरेको वरीयतामा नेपाली पुरुष टिम १ सय ६१ औं स्थानमा रहेको थियो । यो स्थान एसियाली वरीयतामा ३४ औं स्थान हो ।

एसियाली फुटबल महासंघ ९एएफसी० का अनुसार एसियाली वरीयताका शीर्ष ३४ टिमले छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउनेमा नेपाल ३४ औं स्थानमा परेको हो । 

नेपालले विश्वकप छनोटमा प्रवेश गरेको ३३ वर्षे इतिहासमा सन् २०१४ को संस्करणमा मात्र प्रारम्भिक चरण पार गरेर दोस्रो चरण पुग्न सकेको थियो ।

दशरथ रंगशालामा भएको प्ले–अफमा टिमोर लेस्टेलाई २–१ र ५–० ले पराजित गरेको नेपाली टिम त्यस बेला दोस्रो चरणमा जोर्डनसँग हारेको थियो ।

अम्मानमा ९–० ले हारेको पाँच दिनभित्रै नेपालले भरत खवासको आकर्षक गोलसँगै घरेलु मैदानमा भएको दोस्रो लेगमा जोर्डनलाई १–१ मा रोकेको थियो ।

नेपालले पछिल्लोपल्ट कुवेतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थयो । कुवेती भूमिमा तीन साताअघि भएको खेलमा पहिलो प्रतिस्पर्धा गोलरहित टुंग्याएको नेपाल दोस्रोमा १–० ले हारेको थियो । फिफा वरीयताको १ सय ५६ औं स्थानमा रहेको कुवेतले पनि सिधै विश्वकपको दोस्रो चरणमा खेल्नेछ ।

विश्वकप २०२२ छनोटलाई एएफसीले एसियन कप २०२३ को छनोटका रूपमा पनि लिएको छ  ।

त्यस्तै पछिल्लो संस्करणमा पनि दुई प्रतिष्ठित प्रतियोगिताको छनोट उस्तै संरचनामा भएको थियो  । त्यसमा नेपाली टिम प्ले–अफमै भारतविरुद्ध हारेको थियो । एएफसी सोलिडारिटी कप २०१६ विजेता भएपछि नेपालले अनपेक्षित रूपमा एसियन कप २०१९ छनोटको तेस्रो चरणमा खेल्ने अवसर पाएको थियो  ।

राष्ट्रिय टिमको चार वर्षयताको नतिजाको आधारमा फिफा वरीयता तय गर्ने गरिन्छ । त्यस प्रणालीमा ९९६ अंक जोडदै नेपाल १ सय ६१ औं स्थानमा रहेको हो  ।

एएफसी प्रतियोगिता समितिका अनुसार शीर्ष ३४ वरीयताका टिम र प्ले–अफबाट आउने ६ गरी कुल ४० टिम दोस्रो चरणमा हुनेछन् । पाँच–पाँच टिमलाई आठ समूहमा विभाजन गरी सेप्टेम्बर, २०१९ देखि जुन २०२० सम्म होम एन्ड अवेको आधारमा दोस्रो चरण सञ्चालन गरिनेछ  ।

त्यसबाट समूह विजेता ८ र उपविजेतामध्ये उत्कृष्ट चार गरी १२ टिम विश्वकप २०२२ छनोटको फाइनल चरणमा प्रवेश गर्नेछन्  ।