(JAPAN) 19 th September | 2019 | Thursday | 5:38:29 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:23:29 PM
 

जापानमा विद्यार्थी भिषा कडाई-नेपालीलाई विद्यार्थी भिषा बन्द जस्तै, एक प्रतिशत पनि भिषा लागेन

Jack Khadka   POSTED ON : Thursday, 22 August, 2019 | Views : 6317

जापानमा विद्यार्थी भिषा कडाई-नेपालीलाई विद्यार्थी भिषा बन्द जस्तै, एक प्रतिशत पनि भिषा लागेन


टोकियो, जापान ।

जापानले बिदेशी विद्यार्थीको भिषा आवेदनलाई कडा गर्ने क्रममा नेपाली विद्यार्थीको भिषा करिव बन्द जस्तै हुन पुगेको छ ।

अध्ययनका लागि आएका विदेशी विद्यार्थी ठूलो संख्यामा विद्यालयबाट हराएको खवर सार्वजनिक भएपछि तीन महिना यता नयाँ भिषा तथा जापानमै रहेका बिदेशी विद्यार्थीको भिषा आवेदनमा जापानले कडाई गरेको छ ।

बुधवार जापानको चर्चित समाचार संस्था क्योदोले प्रकाशित गरेको समाचार अनुसार प्रतिशतका आधारमा जापानमा बिदेशी विद्यार्थीको भिषा आवेदन हेर्दा नेपालको एक प्रतिशत पनि भिषा स्विकृत भएको छैन ।

नेपालसँगै म्यानमार र बंगलादेशका विद्यार्थीहरुको भिषा आवेदन समेत अप्रिल यता अस्विकृत क्रम उस्तै रहेको छ ।

टोकियो स्थित जापानी भाषा विद्यालयहरुको संस्थाले गरेको सर्वेक्षण अनुसार म्यानमारका विद्यार्थीहरुको भिषा केवल १५ प्रतिशत स्विकृत भएको छ । यसअघि यो प्रतिशत ७६ रहेको थियो ।

यसैगरि बंगलादेशी विद्यार्थीको यसअघि ६१ प्रतिशत भिषा स्विकृत भएकोमा अहिले मात्र २१ प्रतिशत भिषा लागेको छ ।

बंगलादेशसँगै श्रीलंकन विद्यार्थीहरुको भिषा समेत ५० प्रतिशतबाट घटेर २१ प्रतिशतमा झरेको छ ।

जापानमा सबैभन्दा बढी बिदेशी विद्यार्थीको भिषा आवेदन स्विकृत हुनेमा चीन र दक्षिण कोरिया रहेका छन् । यद्यपी दुवै देशको भिषा आवेदन स्विकृत प्रतिशत यसअघि करिव ९९ रहेकोमा अहिले यो घटेर ९० प्रतिशतमा आएको छ ।

राजधानी टोकियोको कान्तो केसिनेचु क्षेत्रमा आवेदन दिएका नेपाली, बंगलादेशी र श्रीलंकाली विद्यार्थीको भिषा १ प्रतिशत भन्दा कम स्विकृत भएको छ ।

समाचार अनुसार बिदेशी विद्यार्थीहरुको भिषा आवेदन स्विकृतको क्रम गत बर्षको अक्टोबर महिना यता लगातार घटिरहेको छ ।

यसअघि मंगलबार मात्र जापानको अध्यागमन निकायले भिषाको अवधि रहेपनि नियम बिपरित काम तथा अन्य क्रियाकलापमा संलग्न ४ सय १२ बिदेशी विद्यार्थीको भिषा सन् २०१८ मा रद्द गरिएको तथ्यांक सार्वजनिक भएको थियो ।