(JAPAN) 25 th May | 2019 | Saturday | 2:22:30 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:07:30 AM
 

जापानमा बिदेशी बिद्यार्थीमाथि कडा नियम लागू ! नियम उल्लंघन गर्ने विद्यालय बन्द देखी विद्यार्थीलाई आफ्नै देश फिर्ता

Gokarna Adhikari   POSTED ON : Wednesday, 08 May, 2019 | Views : 7043

जापानमा बिदेशी बिद्यार्थीमाथि कडा नियम लागू ! नियम उल्लंघन गर्ने विद्यालय बन्द देखी विद्यार्थीलाई आफ्नै देश फिर्ता


टोकियो, जापान ।

जापानले जापानी भाषा विद्यालय र बिदेशी बिद्यार्थीको लागी नयाँ कडा नियम लागू गर्ने अन्तिम तयारी गरेको छ ।

आप्रवासन अधिकारीहरुले विद्यालय नियमन गर्दै शैक्षिक स्तर उकास्न र नियम बिपरित काम गर्ने बिदेशी बिद्यार्थीलाई बिदाई सम्मको नयाँ नियम ल्याउन लागेका हुन् ।

खराब शैक्षिक स्तर र विद्यालयको लापरवाहिका कारण भाषा विद्यालयहरुको आलोचना हुने क्रम बढेपछि आप्रवासन अधिकारीहरुले नयाँ नियम लागू गर्ने तयारी गरेका हुन् ।


नियम नमान्ने विद्यालयले बिदेशी विद्यार्थी भर्ना गर्न नपाउने, विद्यार्थीलाई बिदाई !

आप्रवासन अधिकारीहरुका अनुसार अधिकाशं विद्यालयमा अध्ययनरत बिदेशी विद्यार्थीहरुले अध्ययनको समयमा समेत विद्यालयमा उपस्थित नभई तोकेको भन्दा बढी समय काम गर्ने गरेको गुनासो बढेको छ ।

अब बिदेशी विद्यार्थीहरुले अध्ययन बाहेक बाहिर धेरै समय काम नगरुन् वा गर्न नपाउन् भन्नको लागि आप्रवासन कार्यालयले लागू गर्ने नयाँ नियम विद्यालयहरुले अनिवार्य पालना गर्नुपर्नेछ ।

जस अनुसार हरेक ६ महिनामा कुल विद्यालय समयको कम्तिमा ७० प्रतिशत समय विद्यार्थीहरु कक्षामा अनिवार्य उपस्थित भएको हुनुपर्नेछ ।

हाल अनिवार्य उपस्थितिको यो प्रतिशत ५० वा त्यो भन्दा बढी हुनुपर्ने नियम छ ।

तर अब विद्यार्थीहरुलाई ७० प्रतिशत विद्यालयमा उपस्थित गराउन नसकेमा विद्यालयहरुले नयाँ शैक्षिक सत्रबाट थप बिदेशी विद्यार्थी भर्ना गर्न पाउनेछैनन् ।

भाषा विद्यालयहरुलाई पढाई स्तर सुधार गर्न र विद्यार्थी उपस्थिति बढाउन कडा नियम बाँध्दै आप्रवासन अधिकारीहरुले विद्यार्थीहरुको परिक्षामा उत्तिर्णको संख्यामा समेत निश्चित प्रतिशत तोकेका छन् ।

जस अनुसार भाषा विद्यालयहरुले कम्तिमा ७० प्रतिशत विद्यार्थीहरुलाई जापानी भाषा प्रविणतामा तोकिएको स्तर पुरा गरेर उत्तिर्ण गराउन सक्नुपर्नेछ ।

यदि लगातार तीन बर्षसम्म यस्तो शैक्षिक स्तरको लक्ष्य पुरा गर्न नसकेमा त्यस्ता विद्यालयहरुको बिदेशी विद्याथी भर्ना गर्न पाउने अनुमति खारेज हुनेछ । शैक्षिक स्तर सुधार गर्न नसक्ने, नियमहरु पालना नगर्ने भाषा विद्यालयहरु बन्द सम्म गराउन सक्नेगरि नयाँ नियम आउने भएको छ ।

साथै ७० प्रतिशतसम्म विद्यालयमा उपस्थित नहुने विद्यार्थी र तोकिएको समयभन्दा बढी बाहिर काम गरेको पाईएका विद्यार्थीहरु जापानमा थप अध्ययन तथा काम गरेर बस्नको लागि अयोग्य हुनेछन् ।

जसका कारण उनिहरुको भिषा अवधि थप नहुने भन्दै आफ्नो देश फर्कनुपर्ने अवस्था आउने जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

जापानमा हाल करिव ७ सय ५० वटा जापानी भाषा विद्यालयहरु रहेको आप्रवासन अधिकारीहरुको भनाई छ ।

जापान सरकारले जापानी भाषा विद्यालयहरुको लागि नयाँ नियम सम्वन्धि विस्तृत विवरण यही मे महिनाको अन्तिमसम्ममा उपलब्ध गराउने भएको छ ।

जापान सरकारको आधिकारीक वेवसाईटमा उपलब्ध हुने यस्तो नियम आगामी जुन महिनाबाट सबै जापानी भाषा विद्यालयको लागि लागू हुने छ ।