(JAPAN) 25 th May | 2019 | Saturday | 3:02:03 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:47:03 AM
 

नेपाली भूउपग्रह ‘नेपाली स्याट-१’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण, यस्तो छ अन्तरिक्षयानको विशेषता

  POSTED ON : Thursday, 18 April, 2019 | Views : 395

नेपाली भूउपग्रह ‘नेपाली स्याट-१’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण, यस्तो छ अन्तरिक्षयानको विशेषता


काठमाडौं ।

नेपालको पहिलो भूउपग्रह सफलतापूवर्क प्रक्षेपण भएको छ ।

नेपाली स्याट १ नाम दिईएको भूउपग्रह अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रक्षेपण गरेको हो ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी 'क्यूटेक' बाट स्पेस टेक्नोलोजीमा इञ्‍जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड-३’ परियोजनाअन्तर्गत अमेरिकाबाट नेपाली समय अनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेटमा ‘नेपाली क्यूबसेट स्याट-१’ नामको भूउपग्रह प्रक्षेपण भएको हो ।

नेपालीस्याट– १ नामक उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अंकित छ ।

नेपाली युवाले बनाएको भू-उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ । 

नेपालसँगै  श्रीलंकाको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ भूउपग्रह पनि प्रक्षेपण गरिएको नासाले जनाएको छ । 

भूउपग्रहले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।

नाष्टले भूउपग्रहको सूचना लिनका लागि आफ्नै कार्यालयमा ग्राउण्ड स्टेशन निर्माण गर्ने तयारी गरिरहेको छ । उक्त स्टेशन निर्माणका लागि हाल २१ दिने सूचनासहितको बोलपत्र आह्वान गरिएको छ ।

नाष्टमा लामो समय उपकुलपति नियुक्त नहुँदा ग्राउण्ड स्टेशन निर्माणका लागि व्यवस्थापकीय समस्या परेको हो । 

जाक्साले नाष्टलाई ९५ प्रतिशत सम्भावना भएको प्रविधिका साथै १०० प्रतिशत क्षमता भएको अर्बिटमा छाड्ने दर उपलब्ध गराइसकेको छ । ग्राउण्ड स्टेशनको एण्टिनाको दिशाले समस्या नपारेमा भूउपग्रहबाट छिट्टै जानकारी पाउन सकिने नासाले बताएको छ ।