(JAPAN) 18 th June | 2019 | Tuesday | 4:24:07 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 1:09:07 PM
 

जापानी भाषा विद्यालयको लागि यस्ता कडा प्रावधान आउँदै, विद्यार्थीहरुलाई पर्नसक्छ असर

Gokarna Adhikari   POSTED ON : Monday, 15 April, 2019 | Views : 4020

जापानी भाषा विद्यालयको लागि यस्ता कडा प्रावधान आउँदै, विद्यार्थीहरुलाई पर्नसक्छ असर


टोकियो ।

जापानको न्याय मन्त्रालयले बिदेशी विद्यार्थीहरु पढाउने जापानी भाषा विद्यालयको लागि नयाँ कडा प्रावधान लागु गर्ने तयारी गरेको छ ।

जापानमा विदेशी विद्यार्थी पढाउने भाषा विद्यालय सञ्चालनको विषयमा बहस बढिरहँदा मन्त्रालयले सञ्चालनको लागि कडा प्रावधान ल्याउने तयारी अघि बढाएको हो ।

पछिल्लो दश बर्षमा बिदेशी विद्यार्थी पढाउने यस्ता भाषा विद्यालयको संख्या दुईगुणाले बढेको समेत मन्त्रालयले जनाएको छ ।

आप्रवासन एजेन्सीका अनुसार हाल जापानमा ७ सय ४९ वटा यस्ता भाषा विद्यालयहरु रहेका छन्, जसले विदेशी विद्यार्थीहरु अध्ययन गराईरहेको छ ।

जापान सरकारले विदेशी विद्यार्थीहरुको संख्या तीन लाख बढाउने घोषणा गरेपछि जापानमा भाषा विद्यालयको संख्यामा केही बर्षयता बाढी नै आएको पाईन्छ ।

नयाँ कडा प्रावधानले भाषा विद्यालयहरुलाई नियमन गर्न कक्षामा पढाईको समय तथा शिक्षकको संख्या जस्ता विषयहरुलाई समेत समेटेको छ । जसले थोरै विद्यार्थी रहेका साना विद्यालय तथा अनियमीत विद्यालय जाने विद्यार्थीहरुलाई सिधा असर पार्नेछ ।

नयाँ प्रावधान अनुसार नयाँ शर्तहरु पुरा गर्नसक्ने विद्यालय तथा कम्पनीले मात्र भाषा कक्षाको पढाई सञ्चालन गर्न सक्नेछन् । हाल सञ्चालनमा रहेका कयौं भाषा विद्यालयहरुले विद्यार्थीलाई विद्यालयकै काममा समेत लगाउने तथा न्यून भूक्तानी गर्ने देखी पढाई तथा शिक्षकहरुको अध्यापन नियमीत नभएको बताईन्छ ।

नयाँ मापदण्डमा भाषा परिक्षामा विद्यार्थीहरुको सफलता प्रतिशत समेत विद्यालयले सार्वजनिक गर्नुपर्ने उल्लेख छ । जसले भाषा विद्यालयहरुको शैक्षिक अवस्था उजागर गरिदिनेछ । हाल भाषा विद्यालयको रुपमा सञ्चालिय यस्ता दर्जनौं जापानी भाषा विद्यालयहरु नाम मात्रको रुपमा छन् जसले विदेशी विद्यार्थीलाई पैसा सोहोर्ने दुहुनो गाईको रुपमा मात्र प्रयोग गरेका छन् ।

जापानी भाषा शिक्षाको प्रवद्र्धन गर्ने संघले समेत केही विद्यालयहरु उत्कृष्ठ रहेको भएपनि केही विद्यालयहरु नाजुक अवस्थामा रहेको स्विकार्दै यसमा नियमीत चेकजाँच गर्ने प्रणाली अत्यावश्यक भईसकेको सुझाव सरकालाई दिएको छ ।

न्याय मन्त्रालयले छिट्टै नयाँ कडा प्रावधान सहितको योजनालाई लागू गर्ने तयारी अघि बढाएको अधिकारीहरुलाई उदृत गर्दै जापानी समाचार संस्था एनएचके टेलिभिजनले उल्लेख गरेको छ ।

समाचार अनुसार भाषा विद्यालयहरुको लागि नयाँ प्रावधानहरु लागू भएमा विद्यार्थीहरुमा समेत प्रत्यक्ष प्रभाव पर्नसक्ने भन्दै त्यस्ता सकारात्मक वा नकारात्मक असरको वारेमा समेत मन्त्रालयले विचार विमर्श गरिरहेको बताईएको छ ।