(JAPAN) 21 st March | 2019 | Thursday | 2:49:03 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:34:03 AM
 

जापानको घर बेचेर नेपालमा शिक्षा र सेवामा अहोरात्र लागिपरेका ओकेबाजेलाई नागरिक अभिनन्दन गरिंदै

  POSTED ON : Tuesday, 05 March, 2019 | Views : 3024

जापानको घर बेचेर नेपालमा शिक्षा र सेवामा  अहोरात्र लागिपरेका ओकेबाजेलाई नागरिक अभिनन्दन गरिंदै


पाल्पा ।

पाल्पामा २५ वर्षदेखि सामाजिक काममा सक्रिय भूमिका निर्वाह गर्दै आएका जापानी नागरिक काजुमासा काकिमी ओके बाजेलाई तानसेनमा नागरिक अभिनन्दन गरिने भएको छ । यही फागुन ३० गते तानसेनको टँुडिखेलमा ७८ वर्षिय समाजसेवी ओके बाजेलाई नागरिक अभिनन्दन गर्न लागिएको हो ।

२०५० सालदेखि जिल्लाको शिक्षा, स्वास्थ्य, आयआर्जन, खेलकुद, विकास निर्माण तथा जनचेतनाको क्षेत्रमा ओके बाजेले काम गर्दै आएका छन् । समाजसेवी जापानिज नागरिक ओके बाजेलाई यस अघि रामपुरमा दुई पटक नागरिकहरुले अभिनन्दन गरिसके थिए । जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई चेतनशील बनाउन, शैक्षिक जागरण मार्फत समाज रुपान्तरणको अभियानमा ओके बाजेको महत्पूर्ण भूमिका रहेको छ ।

विशेषगरी पूर्वी पाल्पाका जनजाती मगर दलित बस्तीमा विद्यालय खोल्ने, स्वास्थ्यचौकी निर्माण, गरीव बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान, विद्यालयमा शिक्षक नियुक्ती, विद्यालयमा पुस्तकालय स्थापना, विद्यालय भवन निर्माणमा ओके बाजेले सहयोग गर्दै आएका छन् ।

जिल्लाका १ सय ५० विद्यालयमा ओके बाजेले सहयोग गरिसकेका हुन् । सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेलेको भन्दै नेपाल सरकारले बाके बाजेलाई गोरखा दक्षिणबाहु तेस्रोले सम्मान गर्दै नेपालका लागि आवासीय प्रवेश आज्ञा प्रदान गरेको छ । जापानबाट अग्रेजी शिक्षक सेवा निवृत्त भएपछि नेपालको अन्नपूर्ण पदयात्रामा आएका काजुमासा काकिमी पाल्पा जल्पा ढोलिमाराका पर्यटक गाईड तिलक आलेसंग भेटघाटपछि सामाजिक कार्यमा सक्रिय भएका हुन् ।

ओके बाजेले जापानमा पेन्सनबाट आउने सम्पूर्ण रकम जिल्लाको सामाजिक कार्यमा लगाउँदै आएका छन् । जापानको टोकियोमा रहेको घर समेत विक्री गरी काजुमासा काकिमीले पाल्पाको शिक्षा क्षेत्रमा खर्च गरेका छन् ।

पूर्वी पाल्पामा बालबालिकाको लागि ओके बाजे निकै प्रिय रहेका छन् । सामाजिक काममा सक्रिय रहदा काजुमासा काकिमीले नेपाली भाषा नजान्दा ओके ओके भन्दा बालबालिकाले नेपाली नाम नै ओके बाजे राखिदिएका हुन् । उनी अहिले वास्तविक नामबाट भन्दा ओके बाजेबाट परिचित रहेका छन् । उनले जिल्लाको सामाजिक काममा १ अर्ब रकम खर्च गरिसेका छन् । उनले जापानका विभिन्न संघ–संस्था, सेवा निवृत्त व्यक्तिको पेन्सन रकम संकलन गरी नेपालको सामाजिक काममा खर्च गर्दै आएका हुन् । ओके बाजेले यस क्षेत्रका जनताको सेवा गर्दै पाल्पामै जीवन बिताउने र पाल्पाकै माटोमा मर्ने अन्तिम ईच्छा रहेको बताए ।

निस्वार्थ भावनाले समाज सेवा गर्दै आएका जापानी नागरिक ओके बाजेको काममा अझै उत्साह जगाउन, हौसल्ला बढाउन, आत्मसन्तुष्टी बढाउन, उनलाई मानार्थ नेपाली नागरिकता दिलाउन अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष सुन्दरप्रसाद श्रेष्ठले पत्रकार संमेलन गरी जानकारी दिए । सम्मेलनमा पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेशकुमार अर्यालले जिल्लाको सामाजिक क्षेत्रमा ओके बाजेको योगदान महत्वपूर्ण रहेको बताए ।

कृष्ण पोखरेलले पाल्पाबाट सितलपाटी अनलाईनमा लेख्नुभएको समाचार साभार गरिएको हो ।