(JAPAN) 21 st March | 2019 | Thursday | 3:30:35 PM
(Nepal) 21 st March | 2019 | Thursday | 12:15:35 PM
 

कलेज खारेज भएपछि विद्यार्थी भिषामा गएका सयौं नेपाली अस्ट्रेलियामा अलपत्र पर्दै

  POSTED ON : Wednesday, 20 February, 2019 | Views : 172

कलेज खारेज भएपछि विद्यार्थी भिषामा गएका सयौं नेपाली अस्ट्रेलियामा अलपत्र पर्दै


काठमाडौं ।

आफु अध्ययनरत कलेज दर्ता नभएपछि अध्ययनका लागि अष्ट्रेलिया पुगेका सयौं नेपाली अलपत्र पर्ने अवस्थामा पुगेका छन् ।

सयौको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी 'एआईबिटी' को दर्ता अस्ट्रेलिया सरकारले खारेज गरेपछि यस्तो अवस्था आएको हो ।

कलेजको दर्ता खारेजीसँगै अध्ययनरत सयौं नेपाली विद्यार्थीहरु प्रभावित भएका छन् । सिड्नी र ब्रिसबनमा रहेको उक्त कलेजले विद्यार्थी ल्याउने समयमा अनैतिक व्यावसायिक तरिका अपनाएको भन्दै अस्ट्रेलियाको प्राविधिक शिक्षालाई नियमन गर्ने निकाय अस्ट्रेलियन स्किल क्यावालिटी अथोरिटी ९आस्क्वा० ले दर्ता खारेज गरिदिएको हो ।

उक्त कलेजमा नेपाली विद्यार्थीहरु नर्सिङ, एकाउन्टिङ्ग, आइटी लगायतका विषय अध्ययनरत छन् । कलेजको दर्ता खारेजीसँगै नर्सिङ विषयका विद्यार्थीहरु बढी समस्यामा परेका छन् ।

एआइबिटीमा डिप्लोमा अफ नर्सिङ अध्ययन गर्न विभिन्न समयमा आएका सयौं नेपाली विद्यार्थीहरुले यहाँको नर्सिङ विषयको नियमन निकाय अष्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेटर एजेन्सी ९आप्रा० र अष्ट्रेलियन नर्सिङ एण्ड मिडवाफरी एक्रिडेसन काउन्सिल ९एनम्याक० मा उक्त कलेज दर्ता नभएको थाहा पाएपछि समस्या बाहिर आएको हो । नर्सिङ अध्ययन सकेका विद्यार्थीहरुको सर्टिफिकेटलाई दर्ता गर्ने र नर्सको रुपमा काम गर्न पाउने अधिकार दिने नियमन निकायहरुमा नै दर्ता नभएको खुलेपछि विद्यार्थीहरु सहयोग माग्दै अस्ट्रेलियास्थित नेपाली दूतावास, अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठन सिसा लगायतका स्थानमा पुगेका थिए ।

दूतावासले यहाँको शिक्षा विभागमा औपचारिक पत्र लेखेर विद्यार्थीहरुको समस्या समाधान गरिदिन आग्रह गरेको थियो । सिसाले समेत विद्यार्थीहरुको पक्षमा अस्ट्रेलियाको शिक्षा विभागहरुमा न्यायका लागि पहल गरेको थियो । अस्ट्रेलियाका लागि नेपाली निमित्त राजदूत द्रुपदा सापकोटाले विद्यार्थीहरुको समस्यामा परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल सरकारलाई जानकारी गराइसकेको बताइन् । उनले यहाँस्थित शिक्षा विभाग लगायतका उच्च निकायहरुसँग विद्यार्थीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको समेत जनान् । उनले आफू पीडित विद्यार्थीहरुको समेत सम्पर्कमा रहेको र उनीहरुलाई सहयोग पुर्‍याउन लागिरहेको दाबी गरिन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठन सिसाका अध्यक्ष विजय सापकोटाले अहिले विद्यार्थीहरुको समस्या सुनवाईको प्रक्रिया सुरु भइसकेको बताए । उनले विद्यार्थीहरुको समस्याप्रति आफूहरु गम्भीर रहेको बताउँदै विद्यार्थीहरुलाई पूर्ण न्याय दिन लागिपरेको बताए । उनले विद्यार्थी तथा अभिभावकहरुलाई नआत्तिन सल्लाह दिँदै विद्यार्थीहरुको पक्षमा समस्या समाधान हुने दाबी गरे ।

समस्यामा परेका विद्यार्थीहरुले शैक्षिक परामर्शदाताले आफूहरुलाई यहाँ आउनुअघि पर्याप्त जानकारी नदिएको गुनासो गरेका छन् । 

अस्ट्रेलियाको शैक्षिक नियमन निकायहरुले यसअघि पनि नियमानुसार सञ्चालन नगर्ने शैक्षिक संस्थाहरुलाई कारबाही गर्दै आएका छन् । दर्ता खारेज गरिदिएको नियमन निकाय आस्क्वाले उक्त कलेजलाई मार्चको अन्तिमसम्मको समय दिएको छ । सो समयभित्र एडमिनिष्ट्रेटिभ अपिल्स ट्राइबुनलमा 'एएटी मा कलेजले अपिल गर्न पाउने व्यवस्था छ ।

यो घटना तब सार्वजनिक हुन पुगेको हो जब समस्यामा परेका विद्यार्थीहरुले सिधा कुरा जनतासँग कार्यक्रममा रवि लामिछाने मार्फत आफ्ना कुरा राखेका थिए ।