(JAPAN) 16 th October | 2019 | Wednesday | 8:11:43 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 4:56:43 PM
 

उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरेको व्यालेस्टिक क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रमा खस्यो

  POSTED ON : Thursday, 03 October, 2019 | Views : 103

उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरेको व्यालेस्टिक क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रमा खस्यो


टोकियो, जापान ।

उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरेको एउटा व्यालेस्टिक क्षेप्यास्त्र जापानी क्षेत्रमा खसेको छ ।

अमेरिकासँगको अवरुद्ध परमाणु वार्ता पुन सुरु गर्ने घोषणा गरेको केही घण्टापछि उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरेको क्षेप्यास्त्रको एक घाग जापानको विशेष आर्थिक क्षेत्र सि अफ जापानमा खसेको हो ।

दक्षिण कोरियाली अधिकारीहरूका अनुसार वन्सान पोर्टनजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्र आकाशमा ९१० किलोमिटर माथि उचाईमा पुगेर जापान सागरमा खसेको हो । दुरीको हिसाबले भने उक्त क्षेप्यास्त्र ४ सय ५० किलोमिटर टाढाको भागमा खसेको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

जापानी समाचार संस्था एनएचके टेलिभिजनले उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रको एक भाग जापानको विशेष आर्थिक क्षेत्रको रुपमा रहेको सामुद्रिक क्षेत्रमा खसेको पुष्टि गरेको छ ।

दक्षिण कोरिया स्थित अमेरिका र दक्षिण कोरियाली सेनाको संयुक्त अनुसन्धानले प्रारम्भिक रुपमा उक्त क्षेप्यास्त्र उत्तर कोरियाले पनडुब्बीको प्रयोग गरी परीक्षण प्रहार गरेको अनुमान गरेको छ ।

उत्तर कोरियाले हिजो मात्र अमेरिकासँग पुन वार्ता थाल्ने बताएको थियो ।

उत्तर कोरियाले गत महिना देखी लगातार गरेको क्षेप्यास्त्र परिक्षणका क्रममा बुधवार गरेको परिक्षण सबैभन्दा खतरनाक भएको ठानिएको छ ।

समुन्द्र मुनिबाट पनडुब्बीमा राखेर क्षेप्यास्त्र प्रहार गर्नसक्ने यो क्षमता विश्वमा अमेरिका, रसिया सहित सिमित देशहरुसँग मा रहेको छ । त्यसमा पनि उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रको दुरी हेर्दा उक्त क्षेप्यास्त्रले जापानको जुनसुकै भूभागसम्म पुग्ने क्षमता राख्ने बताईएको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाको पछिल्लो कदमले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्र प्रविधिमाथि प्रतिबन्ध लगाउने राष्ट्रसङ्घको सुरक्षा परिषद्का निर्णयहरू उल्लङ्घन भएको बताएका छन् ।

बिबिसि समाचार संस्थाका अनुसार क्षेप्यास्त्र परीक्षणसम्बन्धी पहिलो समाचार बुधवार सबेरै आएको थियो ।

त्यतिबेला दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको र कम्तीमा एउटा क्षेप्यास्त्र जापानी जलक्षेत्रमा खसेको अधिकारीहरूले बताएका थिए ।

त्यसपछि जापानको मन्त्रिपरिषद्का प्रमुख सचिवले एउटा पत्रकार सम्मेलनमा पानीमा खस्नुअघि एउटा बलिस्टिक क्षेप्यास्त्र दुई टुक्रा भएको हुन सक्ने बताए ।

जापानले यस विषयमा छलफल गर्न सुरक्षा परिषद्को बैठक डाकेको छ ।

यो यस वर्ष उत्तर कोरियाले गरेको ११ औँ क्षेप्यास्त्र परीक्षण हुन सक्छ ।

अधिकारीहरूले यसको सामर्थ्य र मार हान्ने क्षमताबारे विशेष चासो प्रकट गरेका छन् ।

उत्तर कोरियाले केही समययता पनडुब्बीबाट प्रहार गर्न सकिने बलिस्टिक क्षेप्यास्त्र प्रविधिको विकास गर्ने प्रयास जारी राखेको छ । उसले लामो दुरीका क्षेप्यास्त्रको परीक्षण रोकेको थियो ।

पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्रको परीक्षण यसअघि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा पहिले नै अगस्ट २०१६ मा गरिएको ठानिएको छ ।