(Japan) 26 th February | 2020 | Wednesday | 4:10:35 PM || (Nepal) 12:55:35 PM
 
 

ताईफु वितण्डा सिजुओखा अस्तव्यस्त-खानागावा, टोकियो, साईतामा, गुन्मा, यामानासी र नागानो क्षेत्रमा आपतकालिन चेतावनी

  POSTED ON : Saturday, 12 October, 2019 | Views : 1026

ताईफु वितण्डा सिजुओखा अस्तव्यस्त-खानागावा, टोकियो, साईतामा, गुन्मा, यामानासी र नागानो क्षेत्रमा आपतकालिन चेतावनी


टोकियो, जापान ।

जापानमा दशकौं यताको ठूलो बिनासकारी ताईफु हागीबिसले सिजुओखा क्षेत्रलाई अस्तव्यस्त बनाएको छ ।

साँझ ६ बजेर ४५ मिनेटसम्ममा चिबा प्रिफेक्चरमा एकजनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । गुन्मा र शिजुओखा प्रिफेक्चरमा गरेर ४ जना सम्पर्क विहिन बनेका छन् ।

शिजुओखा, गुन्मा लगायत क्षेत्रमा गरेर ५० बढी व्यक्ति घाईते भएको र घाईते मध्ये केहीको अवस्था गम्भिर रहेको जापानी समाचार संस्था एनएचके टेलिभिजनले उल्लेख गरेको छ ।

साँझ ६ बजेपछि गुन्मा, शिजुओखा क्षेत्रबाट बिनासकारी ताईफुले टोकियो क्षेत्रमा असर थालेको छ ।

७ बजे भारी बर्षा सहित तिब्रगतिको हावा चल्न सुरु गरेको टोकियो, साईतामा, गुन्मा, यामानासी र नागानो क्षेत्रमा उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न मौसम अधिकारीहरुले सूचना जारी गरेका छन् ।

अधिकारीहरुले खतराको उच्च स्तर मध्ये सबैभन्दा बढी पाँचको स्तरमा खतरा रहेको बताउँदै भारी बर्षाका कारण बाढी र पहिरो सुरु भएको बताएका छन् ।

खोला तथा समुन्द्र किनार सहित पोखरी र तलाउ भएका क्षेत्रमा पानी खतराको स्तरमा पुगेकाले वस्ती क्षेत्रमा पस्न सुरु गरेको बताउँदै मौसम अधिकारीहरुले अत्यावश्यक वस्तु साथमा राखेर सुरक्षित स्थानमा रहन भनेका छन् ।

गुन्मा, चिबा, सिजुओखा क्षेत्रको अधिकाशं ठाउँमा आपतकालिन सुरक्षित ठाउँमा जान स्थानिय बासिन्दालाई सूचना जारि गरिएको छ ।

ताईफु हागीबिस अघि बढ्दै गरेको क्षेत्रमा आईतबार अपरान्हसम्म प्रत्यक्ष असर पर्ने र त्यसको प्रभावले भोली दिनभरजसो सबै क्षेत्र प्रभावित हुने भएकाले कम्तिमा ४८ घण्टाको तयारी गरेर अत्यावश्क वस्तुहरु तयारी अवस्थामा राख्न सरकारी अधिकारीहरुले अनुरोध गरेका छन् ।

फुकुसीमा, गुन्मा, साईतामा, चिबा, टोकियो, कानागावा, यामानासी, नागानो, सिजुओखा र माए गरी १० वटा प्रिफेक्चरमा गरेर ६ लाख १९ हजार घरहरु हागीबिस ताईफुले निम्त्याउने बाढी, पहिरोलगायत असरको उच्च खतरामा रहेको अधिकारीहरुले बताएका छन् ।

सम्भावित जोखिमका क्षेत्रमा माईकिगं गरेर सुरक्षित आश्रय स्थलमा गएर बस्न अनुरोध भईरहेको र चिबा, गुन्माकेन सहित सिजुओखामा दर्जन बढी घरहरुमा ताईफुले क्षति पारिसकेको विवरण जापानी टेलिभिजनहरुले प्रशारण गरिरहेका छन् ।

करिव १ लाख घरहरुमा विद्युत् आपुर्ती अवरोध भईसकेको र यो संख्या बढ्दो क्रममा रहेकाले विद्युतीय सामग्रीहरु चार्ज गरेर राख्न सूचना मार्फत अधिकारीहरुले आग्रह गरेका छन् । कान्तो क्षेत्रमा मात्रै शनिवार साँझ ६ बजेसम्ममा ३० हजार घर विद्युत् विहिन बनेका छन् ।

खोला तथा समुन्द्र किनार क्षेत्रमा वाढी पस्न सुरु भएको र अन्य स्थानमा लगातारको वर्षाले जलमग्न हुन थालेको भन्दै जोखिमका क्षेत्रमा तल्लो तलामा रहेका बासिन्दालाई आफ्ना महत्वपूर्ण सामान माथिल्लो तल्लामा लैजान भनिएको छ ।

ताईफुको चपेटाकै बिच चिबा र टोकियो क्षेत्रलाई हल्लाउँदै शनिवार साँझ भूकम्प गएको छ ।

५.७ रेक्टर स्केलको भूकम्पबाट कुनै क्षति भएको विवरण प्राप्त भएपनि ताईफुबाट जोगिएर घरभित्र रहेकाहरु भूकम्पको त्रासमा परेका थिए ।