(Japan) 29 th January | 2020 | Wednesday | 5:46:19 AM || (Nepal) 2:31:19 AM
 
 

जापानमा विद्यार्थीलाई काम खोज्न खुकुलो नियम - व्यापार र पर्यटकमा आएरपनि भिषा फेर्न सकिने

Gokarna Adhikari   POSTED ON : Sunday, 22 December, 2019 | Views : 10410

जापानमा विद्यार्थीलाई काम खोज्न खुकुलो नियम - व्यापार र पर्यटकमा आएरपनि भिषा फेर्न सकिने


टोकियो, जापान ।

जापान सरकारले भिषा परिवर्तन गरेर काम गर्न चाहने बिदेशी विद्यार्थीहरुको लागि विशेष सहयोग गर्ने भएको छ ।

विदेशी विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्य सहित सन् २०१८ डिसेम्बरमा तयार मस्यौदामा थप खुकुलोपना ल्याउने निर्णय शुक्रबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले गरेको अधिकारीहरुलाई उदृत गर्दै जापानटाईम्स अनलाईनले समाचार प्रकाशित गरेको छ ।

विद्यार्थीहरुले सजिलै काम पाउने अवसर सिर्जन गर्न र जापानमा रहेका बिदेशीहरुलाई नयाँ रोजगार भिषामा सहभागी गराउने दायरा बढाउन संशोधित नीतिले सहयोग पुर्याउने सरकारी अधिकारीहरुले बताएका छन् ।

नयाँ प्याकेज भित्र विदेशी विद्यार्थीहरुलाई रोजगारी पाउन अवसरहरु बृद्धि गर्ने उपायहरु अपनाउन जापानी कम्पनीहरुलाई सरकारले जानकारी गराउनेछ ।

यसका साथै जापानमा स्नातक तहसम्म अध्ययन गरेरपनि रोजगारी खोज्न नसकेको अवस्थामा उनिहरुले कामखोज्नको लागि जापानमै बस्न पाउने थप भिषा पाउनेछन् । यसको लागि विद्यार्थीहरुले ईन्टर्नशिपमा आवेदन दिन सरकारी अधिकारीहरुले आग्रह समेत गरेका छन् ।

यसका साथै बिदेशी विद्यार्थीहरुलाई काम खोज्ने अवसर प्रदान गर्न जापानभर हुँदै आएको रोजगार मेलालाई थप स्थानमा विस्तार सहित बृद्धि गरिने भएको छ ।


व्यापार र पर्यटक भिषामा आएरपनि जापानमै काम गरेर बस्न सकिने !

नयाँ रोजगार प्रणाली अन्र्तगत तोकिएको क्षेत्रमा जापानमा कामगर्न चाहने बिदेशीहरुले जापानमा आएर परिक्षा दिन पाउने भएका छन् ।

नयाँ भिषा कार्यक्रमको दायरालाई बढाएर सरकारले व्यापार तथा पर्यटक भिषामा जापान आएका बिदेशीले पनि तोकुतेई गिनोउ प्रणाली अन्र्तगत परिक्षा दिएर जापानमा रोजगार गर्न पाउने मौका दिने भएको छ ।

हालसम्म निश्चित अवधि र लामो समय जापानमा बस्न पाउने भिषा रहेका बिदेशीहरुले मात्र यो प्रणाली अनुसार जापानमा रोजगार भिषा परिवर्तन गर्न पाउने नियम रहेको छ ।

सन् २०१९ को नोभेम्वर अन्त्य सम्ममा नयाँ भिषा प्रणाली मार्फत जापानमा १ हजार १९ जना बिदेशीले आफ्नो भिषा परिवर्तन गर्न सफल भएको तथ्यांकले देखाएको छ ।