(Japan) 29 th January | 2020 | Wednesday | 5:13:26 AM || (Nepal) 1:58:26 AM
 
 

जापान प्रविधिमा सँधै अगाडी-अब अटोमेटिक ब्रेक भएको मोटरकार मात्र चलाउन पाईने

Gokarna Adhikari   POSTED ON : Wednesday, 18 December, 2019 | Views : 1484

जापान प्रविधिमा सँधै अगाडी-अब अटोमेटिक ब्रेक भएको मोटरकार मात्र चलाउन पाईने


टोकियो, जापान ।

जापानमा सन् २०२१ बाट सबै स्वचालित (आफैं ब्रेक लाग्ने) प्रविधि जडान गरिने मोटरकार मात्र सञ्चालनमा आउने भएको छ ।

जापानको यातायात मन्त्रालयले नयाँ मोडलका सबै कारमा सन् २०२१ को नोभेम्बरबाट स्वत ब्रेक लाग्ने प्रविधि जडान गरिनुपर्ने नयाँ नियम बनाएको हो ।

मन्त्रालयले यो प्रविधि जडान गरिएपछि यातायातका साधनको सुरक्षामा जापान विश्वमै अग्रणी देश बन्ने बताएको छ ।

पछिल्लो बर्षहरुमा जापानमा लगातार बृद्ध उमेरका चालकहरुबाट हुने घातक दुर्घटनाहरु बढ्न थालेपछि मन्त्रालयले यस्तो कदम चालेको ठानिएको छ ।

नयाँ नियम अनुसार सन् २०२१ बाट विक्रि वितरण हुने यात्रुमात्र चढ्ने (सामान बोक्ने वा अन्य सवारी बाहेक) सबै सवारीका साधनमा यो प्रविधि अनिवार्य जडान भएको हुनुपर्नेछ ।

यसैगरि अन्यदेशबाट आयात हुने सवारी साधनमा सन् २०२४ को जुन महिनाबाट यो नियम लागु हुनेछ ।

जापानमानै निर्माण भएको अन्य खाले सबै सवारीका साधनमा भने यो नियम सन् २०२५ को डिसेम्बरबाट लागु हुने यहाँको यातायात मन्त्रालयले मंगलबार जनाएको छ ।

नयाँ प्रविधि जडान गरिएपछि प्रतिघण्टा ३० किलोमिटरको गतिमा गुडेको सवारी साधनले प्रतिघण्टा पाँच किलोमिटरको गतिमा यात्रा गर्दै गरेका यात्रु अगाडी देखेमा स्वत ब्रेक लाग्ने जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।

जापानमा यसैबर्ष मात्र ७५ बर्ष भन्दा माथि उमेरका बृद्ध व्यक्तिले चलाएको कार दुर्घटनामा १ दर्जन बढी व्यक्तिको मृत्यु र सोही संख्यामा गम्भिर घाईते भएको तथ्यांकमा उल्लेख छ ।

जापानमा यसै बर्षमात्र बृद्ध उमेरका व्यक्तिहरुले सवारी साधन चलाउँदा सडक किनारमा हिँडेका यात्रुलाई ठक्कर दिनुका साथै, साईकलमा यात्रा गरेका यात्रु सहित पैदल यात्रुलाई ठक्कर दिएको ठूला दुर्घटनाहरु भएका छन् ।

जापानमा उमेरहदका कारण सवारी चालक अनुमतिपत्र रद्द हुने व्यवस्था छैन । पछिल्लो समय उमेरहद राख्नुपर्ने बहस बढ्दै गएपनि यसबारेमा कुनै कानुन बनिसकेको छैन ।

यद्यपी जापानमा बर्षेनी बृद्ध उमेरका कारण सवारी साधन चलाउन नसक्ने भन्दै हजारौं जापानी नागरिकहरुले सरकारी निकायमा गएर आफ्नो सवारी चालक अनुमतिपत्र फिर्ता गर्ने गर्दै आएका छन् ।