(JAPAN) 18 th November | 2019 | Monday | 5:40:16 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:25:16 PM
 

जापानमा २६ हजार विदेशी विद्यार्थीले रोजगार भिषा पाउँदा ३ हजार नेपाली विद्यार्थी

Gokarna Adhikari   POSTED ON : Thursday, 24 October, 2019 | Views : 1339

जापानमा २६ हजार विदेशी विद्यार्थीले रोजगार भिषा पाउँदा ३ हजार नेपाली विद्यार्थी


टोकियो, जापान ।

जापानमा अहिलेसम्मकै उच्च संख्यामा बिदेशी विद्यार्थीहरुले कामदारको भिषा प्राप्त गर्न सफल भएका छन् ।

जापानको आप्रवासन विभागका अनुसार सन् २०१८ मा करिव २६ हजार विदेशी विद्यार्थीहरुले विद्यार्थी भिषालाई रोजगार भिषामा परिवर्तन गरेका छन् ।

विश्वविद्यालयको स्नातक तथा व्यावसायिक अध्ययन पुरा गरेका विदेशी विद्यार्थीले जापानमा कामगरेर बस्नको लागि भिषाको प्रकारलाई अनिवार्य रुपमा परिवर्तन गर्नुपर्ने नियम रहेको छ ।

आप्रवासन सेवा विभागका अनुसार गत बर्ष २५ हजार ९ सय ४२ जना विदेशी विद्यार्थीले कामदारको रुपमा भिषा परिवर्तन गर्न सफल भएका छन् ।

बिभागको तथ्यांक अनुसार सन् २०१७ को तुुलनामा यो संख्या ३ हजार ५ सय २३ ले बढी हो ।

जापानले सन् १९९२ देखी बिदेशी विद्यार्थीले जापानमा कामदारको रुपमा भिषा परिवर्तन गरेर बस्न थालेको तथ्यांक राख्न थालेकोमा गत बर्षको संख्या सबैभन्दा बढी हो ।

भिषा प्राप्त गरेका मध्ये ९३ प्रतिशत बढी विद्यार्थीले मानविकि, विशेषज्ञ ईन्जिनियर, अन्तर्राष्ट्रिय सेवा शिर्षकको भिषा प्राप्त गरेका छन् ।

दोस्रोमा भाषा मध्यस्थता तथा सूचना उद्योग क्षेत्रमा भिषा प्राप्त गर्नेहरु रहेका छन् ।

२६ हजार विदेशी विद्यार्थीले रोजगार भिषा पाउँदा ३ हजार नेपाली

देशको आधारमा सबैभन्दा बढी चिनियाँ, दोस्रोमा भियतनामी र तेस्रोमा नेपालीहरु रहेका छन् ।

चिनियाँ १० हजार ८ सय ८६ जनाले विद्यार्थीबाट कामदारको भिषा परिवर्तन गरेका छन् ।

यसैगरि ५ हजार २ सय ४४ जना भियतनामी विद्यार्थीले रोजगार भिषा परिवर्तन गर्न सफल हुँदा नेपाली विद्यार्थीहरु तेस्रो स्थानमा पर्न सफल भएका छन् ।

गत बर्ष २ हजार ९ सय ३४ जना नेपाली विद्यार्थीहरुले जापानमा रोजगार भिषा प्राप्त गर्न सफल भएका छन् ।

आप्रवासन सेवा विभागका अधिकारीहरुले विदेशी विद्यार्थीले बढ्दो संख्यामा जापानमा भिषा प्राप्त गर्नुले जापानको बिदेशी प्रती लक्षित भिषा प्रणालीको परिवर्तनलाई संकेत गरेको बताएका छन् ।

जापानमा बढ्दो संख्यामा बिदेशी विद्यार्थीहरुले रोजगार भिषा प्राप्त गर्नुलाई जापान सरकारले अपनाएको भिषा प्रणाली सुधारसँगै कुशल विद्यार्थीलाई जापानमै रोजगार दिलाउने प्रयासमा जापान सरकार रहेको ठानिएको छ ।

यसैगरि बढ्दो कामदार अभावका कारण समेत जापान सरकारले उच्च संख्यामा विदेशी विद्यार्थीहरुलाई अध्ययनपछि रोजगार भिषा उपलब्ध गराउन थालेको पाईएकोछ ।