टोकियो, जापान ।
आफ्ना ग्राहकले अन्य कम्पनीको मोबाईल प्रयोग नगरुन् भनेर मोबाईल लिंदा सिम लक गर्ने गरेका मोबाईल सेवा प्रदाय कम्पनीलाई जापान सरकारले कडा आदेश दिएको छ ।
ग्राहकले मोबाइल कम्पनी परिवर्तन गर्दा हुने गरेको मोवाइल फोन लक तत्काल हटाउन आदेश सहित सरकारले यसअघि निर्देशन भए अनुसारको शुल्क लागूबारे जानकारी समेत मागेको छ ।
माईनिचि अनलाईनले उल्लेख गरे अनुसार मोबाईल कम्पनी परिवर्तन गर्दा लिने गरेको ९ हजार ५ सय शुल्क हटाएर अधिकतम १ हजार येन मात्र ग्राहकसँग लिन दिएको आदेशको कार्यान्वयनबारे समेत जापान सरकारले जानकारी मागेको छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले दुई मुख्य मोबाईल सेवा प्रदायक कम्पनी केडिडिआइ कर्पोरेशन र सफ्टबैंक कर्पोरेशनलाई ग्राहकले मोबाईल सिम सहित फोन लिंदा ९० दिनपछि मात्र सिम लक गर्ने गरेको तथ्य फेला पारेपछि त्यस्तो नगर्न चेतावनी समेत दिएको छ ।
मन्त्रालयले ग्राहकहरुलाई किस्तामा हाते फोन विक्रि र सिम लक एक अर्कासँग असम्वन्धित विषय रहेको भन्दै अन्य मोबाईल कम्पनीको सेवा लिन नपाउनेगरि सिम लक गर्ने काम बन्द गर्न भनेको छ ।
समाचार अनुसार मन्त्रालले सफ्ट बैंक र एयु दुवैलाई ग्राहकहरुले मोबाइल सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा ग्राहकको मोवाइल फोन लक गर्ने प्रक्रिया बन्द गर्न आदेश दिंदै ग्राहकले मोबाईल लिँदा सिम अनलक गरेर मोबाईल दिन भनिएको छ ।
जापानको सबैभन्दा ठूलो एनटीटी डोकोमो इङ्कले भने आफुहरुले सेवाग्राहीलाई मोबाईल फोन उपलब्ध गराउँदा सुरुमानै सिम अनलक गरेर दिने गरेको जनाएको छ । सेवाग्राही संख्याका आधारमा एनटीटी डोकोमो जापानको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो ।
जापान सरकारको आदेशपछि भने सफ्टबैंक र केडिडिआइ दुबै कम्पनीले नयाँ नियम अपनाउने बताएका छन् ।