JAPAN: 13 th December | 2019 | Friday | 8:32:45 PM || Nepal: 5:17:45 PM
 
 

जापानको एयु मोबाईल 'केडीडीआई'द्धारा नेपाल टेलिकमसँग साझेदार प्रस्ताव

  POSTED ON : Tuesday, 24 September, 2019 | Views : 297

जापानको एयु मोबाईल 'केडीडीआई'द्धारा नेपाल टेलिकमसँग साझेदार प्रस्ताव


टोकियो, जापान ।

जापानमा रहेका दशौं हजार नेपालीले प्रयोग गर्दै आएको एयु मोबाईल सेवा प्रदायक कम्पनी केडीडीआईले नेपाल टेलिकमसँग व्यावसायिक साझेदारीको प्रस्ताव राखेको छ ।

केडीडीआईको प्रस्तावपछि सो कम्पनीसँग विभिन्न चरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बैठक समेत गरिसकेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जापानी कम्पनीले व्यावसायिक साझेदार बन्न प्रस्ताव पठाएको भए पनि प्रारम्भिक छलफलका क्रममा रहेको बताएका छन् ।

जापानी कम्पनीले नाफा आधा–आधा बाँड्ने गरी व्यावसायिक साझेदार बन्ने प्रस्ताव गरेको बताईएको छ ।

‘जापानी कम्पनीले नाफा आधाआधा बाँड्ने र आफूले गरेको लगानी ब्याजसहित फिर्ता हुने गरी साझेदार बन्न प्रस्ताव गरेको मन्त्रालयले पुष्टि गरेको छ ।

केडीडीआईको प्रारम्भिक प्रस्ताव हेर्दा टेलिकमका लागि फलदायी हुने नदेखिएको बताईएको छ ।

जापानी कम्पनीले गरेको प्रस्ताव गरिएजस्तै अभ्यास नेपालमा हालसम्म नगरिएको मन्त्रालयले स्रोतले जानकारी दिएको छ । 

सरकारले टेलिकमलाई प्रतिस्पर्धी बनाउने भन्दै लामो समयदेखि रणनीतिक साझेदार खोजी गरिरहेको अवस्थामा जापानी कम्प्नीले प्रस्ताव गरेको हो ।

मन्त्रालयमा जापानी कम्पनी आफैंले व्यावसायिक साझेदारीको प्रस्ताव गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारले केही अघि परामर्शदाता कम्पनी छनोट गरी रणनीतिक साझेदार छनोटको सम्बन्धमा अध्ययन गराएको थियो ।

उक्त अध्ययनले रणनीतिक साझेदारलाई २० देखि ३० प्रतिशतभन्दा बढी सेयर दिन नहुने निष्कर्ष निकालेको छ ।

जापानी कम्पनीले भने कम्पनीमा आफ्नो बहुमत सेयर हुनुपर्ने प्रस्ताव गरेको छ । जापानी कम्पनीसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूले केही चरण छलफल गरिसकेको भएपनि नेपाल टेलिकमलाई भन्दा बढी नाफा र सुविधा जापानी कम्पनी केडीडीआईले खोजिरहेको बताईएको छ ।