(JAPAN) 16 th October | 2019 | Wednesday | 6:10:40 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 2:55:40 PM
 

भारतीय चन्द्रयान सम्पर्क विच्छेद, भारतीय बैज्ञानिक र प्रविधिमाथी नै प्रश्न

  POSTED ON : Saturday, 07 September, 2019 | Views : 144

भारतीय चन्द्रयान सम्पर्क विच्छेद, भारतीय बैज्ञानिक र प्रविधिमाथी नै प्रश्न


एजेन्सी ।

भारतीय चन्द्रयान २ चन्द्रमामा अवतरणका क्रममा सम्पर्क विच्छेद भएको छ ।

विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ र प्रज्ञान रोवरको चन्द्रमामा अवतरणको क्रममा शुक्रबार मध्यरात सम्पर्क विच्छेद हुन पुगेको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन 'इसरो'ले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्‍याउने चन्द्रयान-२ मिशनको एउटा यान विक्रम ल्यान्डर योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला सम्पर्क विच्छेद हुन पुगेको पुष्टि गरेको छ ।

इसरोका प्रमुख के. शिवनका अनुसार चन्द्रमाको सतहको २.१ किलोमिटरसम्म सबै सामान्य थियो। तर त्यसपछि विक्रमसँग सम्पर्क विच्छेद भएको छ। तथ्याङ्कको समीक्षा भइरहेको छ।ू

राति १.३० देखि २.३० को बीचमा चन्द्रमाको सतहमा अर्बिटरबाट अवतरणका लागि तयार पारिएको विक्रम ल्यान्डर नाम गरेको यान पठाइँदै थियो।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेङ्गलुरुस्थित इसरो मुख्यालय पुगेका थिए।

सबै कुरा राम्ररी अघि बढिरहेको थियो र वैज्ञानिकहरू विक्रम चन्द्रमाको सतह निकट पुग्न लागेको हर क्षणलाई पछ्याइरहेका थिए।

तर अन्तिम क्षणतिर इसरो केन्द्रमा तनावपूर्ण स्थिति बनेपछि वैज्ञानिकका मुहारमा चिन्ता प्रकट हुन थालेको देखिन्थ्यो।

भारतले ठूलो महत्वका साथ हेरेको चन्द्रयान असफल भएपछि भारतीय वैज्ञानिकको क्षमता र प्रविधिको गुणस्तरमाथिनै प्रश्न उठेको छ । 

विक्रम ल्यान्डरलाई पहिले चन्द्रमाको कक्षमा रहेको अर्बिटरबाट छुट्याउनुपर्थ्यो र उसलाई चन्द्रमाको सतहतर्फ लगिनुपर्थ्यो।

ल्यान्डरको भित्र प्रज्ञान नामको रोवर पनि थियो जसले सुरक्षित अवतरणपछि बाहिर निस्केर चन्द्रमाको सतहमा घुम्न र वैज्ञानिक परीक्षण गर्नुथियो।

इसरोको चन्द्रयान-२ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नुथियो।

सबै राम्रै भइरहेको भएपनि सतहमा पुग्नु केही बेरअघि ने ल्यान्डरसँग सम्पर्क विच्छेद भयो ।

यदि सफल भएको भए अमेरिका, रुस र चीनपछि चन्द्रमामा अन्तरिक्ष यानको सफ्ट ल्यान्डिङ गराउने भारत चौथो देश बन्नेवाला थियो ।

१५ करोड अमेरिकी डलर लगानी गरिएको यस मिशनलाई अन्य देशले सोही कामका लागि गरेको लगानीको तुलनामा कम खर्चिलो मानिएको थियो ।

यसअघि सन २००८ मा भारतले चन्द्रयान(१ प्रक्षेपण गरेको थियो जसले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको कुरा पत्ता लगाएको थियो।