(Japan) 26 th February | 2020 | Wednesday | 3:04:15 PM || (Nepal) 11:49:15 AM
 
 

जाईकाले पहिचान गरेको काभ्रे-रामेछापको सुनकोसी तेस्रो ६४० मेगावाट हुने, मन्त्री भन्छन् 'पानी जहाँज चल्छ'

  POSTED ON : Thursday, 23 January, 2020 | Views : 312

जाईकाले पहिचान गरेको काभ्रे-रामेछापको सुनकोसी तेस्रो ६४० मेगावाट हुने, मन्त्री भन्छन् 'पानी जहाँज चल्छ'


काभ्रे, नेपाल ।

उपत्यकाबाट नजिकको दूरीमा पर्ने काभ्रे र रामेछापको बीचमा निर्माण हुने सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाका क्षमता बढेर ६४० मेगावाट पुग्ने अध्ययनले देखाएको छ । 

सन् १९८५ मा जापानी सहयोग नियोग (जाइका) ले पहिचान गरेको सो परियोजनाको क्षमता ५३६ मेगावाट रहेकोमा विद्युत् विकास विभागले गरेको अध्ययनले ६४० मेगावाट पुग्ने देखाएको हो । जाइकाले गरेको अध्ययनले तत्कालीन पाँच विकास क्षेत्रबाट पहिचान भएका १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये सुनकोसी तेस्रो पनि एक हो । उपत्यकाबाट ६० किलोमिटरको दूरीमा रहेको आयोजनाबाट उत्पादित विद्युत् राजधानीका साथै नकिजै रहेको ढल्केबर–मुज्जफरपुर प्रसारण लाइनमार्फत छिमेकी राष्ट्रमा पनि सजिलै प्रशारण गर्न सकिने भएकोले सुनकोसीलाई आकर्षक आायोजनाको रूपमा हेरिएको छ । 

काभ्रेको तिमाल गाउँपालिका लुभुघाट र रामेछापको सोनापाती गाउँपालिकाको सीमामा निर्माण हुने आयोजनाको सम्भाव्यता अध्ययन परामर्श दाता कम्पनी चीनको जेभी अफ सांघाई इन्भेष्टिगेसन, डिजाइन एण्ड सिसर्च इन्ष्टिच्युट (सीआइडीआरआई) र नेपालको इन्भायोर्मेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रालिमार्फत २०७४ वैशाखदेखि अध्ययन भइरहेको छ । आगामी मंसिरसम्ममा सम्भाव्यता अध्ययन सकेर त्यसपछि यसको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गर्ने लक्ष्य राखिएको छ ।

सुरुमा १ सय ४० मिटरको बाँध हुने र ५३६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएपनि पछिल्लो अध्ययनले १ सय ६६ सय मिटर उचाई र ६ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने तथा ६४० मेगावाट उत्पादन हुने देखिएको विभागले जनाएको छ । विभागका महानिर्देशक नवीन सिंहले आगामी मंसिरसम्ममा अध्ययन सकिने तथा अध्ययनले बाँधस्थल लुभुघाटमा सार्दा आयोजना सस्तोमा बन्ने तथा बढी विद्युत् उत्पादन हुन सक्ने देखाएको जानकारी दिए । “वार्षिक विद्युत् उत्पादन वार्षिक २.४ अर्ब युनिट हुने देखिएको छ,” उनले भने, “अन्य जलाशययुक्त आयोजनाको तुलनामा सस्तो पनि हुन्छ ।”

विभागका अनुसार आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन (ईआईए) समेत सुरु भइसकेको छ । करिब ३० किलोमिटर लामो जलाशय निर्माण हुने आयोजनाबाट आयोजनाबाट करिब १ हजार जनसंख्या पूर्ण रूपमा विस्थापित हुनेछन् भने आयोजनाका लागि ४ हजार २ सय हेक्टर जमिन प्रयोग हुनेछ । आयोजनाले काभ्रेको दोलालघाट बजार पूरै डुबानका साथै भोटेकोसीतर्फको चेहेरे तथा इन्द्रावतीतर्फको सिपाघाटसम्म डुबानमा पर्नेछ ।

तिमाल गाउँपालिका–९ तित्रेटारमा विद्युत् गृह निर्माण हुने आयोजनाको लागत डेढ खर्ब अनुमान गरिएको छ । निर्माण सम्पन्न भएपछि आयोजना सम्पन्न भएपछि कोसीपारि, तिमालका क्षेत्र सेटलाइट सहरको रूपमा विकास हुने सम्भावना छ । ¥याफ्टिङ, फिसिङ, सुन्दर होटलहरू निर्माणलगायत गरेर तिमाल, कोसीपारि र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना छ । 

आयोजनाको अवलोकनका लागि आयोजना निर्माणस्थल पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हालसम्म निर्माण अघि बढेका जलाशययुक्त आयोजनाहरूमध्ये सुनकोसी तेस्रो सबैभन्दा सस्तो हुने दाबी गरे । “सुनकोसी–३ को सम्भाव्यता अध्ययन आगामी मंसिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको छ,” उनले भने, “अरु जलाशययुक्त आयोजनाको तुलनामा यो सस्तो पनि पनि छ ।”

सुनकोसी–२ र ३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा मुलुकलाई मात्र फाइदा पुग्ने नभई स्थानीयको जीवनस्तर माथि उठ्ने भएकाले सहयोग गर्न आग्रह गरे । आयोजना निर्माण गर्दा सरकारले घर तथा खेतीयोग्य जमिन गुमाउने परिवारलाई उचित मुआब्जा दिने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने तथा उचित पुनर्वास गराइने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए । 

सुनकोसी तेस्रो कुन मोडालिटीमा बनाउने भन्ने टुंगो लागिसकेको छैन तर आयोजनामा वगलादेशले भने चासो दिईसकेको छ । विभागका महानिर्देशक सिंहले बंगलादेशले सुनकोसी–३ मा लगानीका लागि इच्छा देखाएको जानकारी दिए । 

सुनकोसी तेस्रोसँगै विभागले सुनकोसी दोस्रोको पनि सम्भाव्यता अध्ययन बढाएको छ । सुरुमा १११० मेगावाट विद्युत् क्षमता रहेको सुनकोसी–२ को जडित क्षमता अध्ययनले ९५० मेगावाट देखाएको छ । बाँधस्थल सिन्धुली र रामेछापको सीमानामा पर्ने पुडुलेमा रहने आयोजानबाट सिन्धुलीको खुर्कोट र रामेछाप सदरमुकाम मन्थली पूर्णरूपमा डुबानमा पर्ने अध्ययनले देखाएको छ ।

करिब १ सय ६० मिटर उचाई र ४ सय ५० मिटर लम्बाइको ड्याम निर्माण हुने आयोजनाको जलासयको लम्बाइ ५३ किलोमिटर हुनेछ । यस्तै ११ सय मिटरको सुरुङ निर्माण गरी च्याखुटारमा विद्युत् गृह बन्नेछ । जलासयको क्षेत्र घर, बस्ती र खोला बगर गरेर ६ हजार ३ सय हेक्टर हुनेछ । आयोजनाबाट करिब २५ प्रतिशत वीपी राजमार्ग डुब्नेछ । 

सुनकोसी–२ मा घनाबस्ती पर्ने र क्षति धेरै हुने भएकाले आयोजना तुलनात्मक रूपले केही महंगो पर्न सक्ने मन्त्री देखिएको मन्त्री पुनले बताए । “सुनकोसी–२ मा धेरै बस्ती र त्यसमा पनि बजार क्षेत्र पर्छ । त्यसकारण सुनकोसी–३ भन्दा केही महंगो पर्न जान्छ,” मन्त्री पुनले भने, “लगानीभन्दा कम प्रतिफल आउने र घाटा हुने अवस्थामा सरकारले लगानी गर्दैन, तर, मुलुकलाई र स्थानीयलाई पनि फाइदा हुने देखियो भने प्रधानमन्त्री र शीर्ष नेतृत्वसमेत बसेर त्यसबारे निर्णय हुन्छ ।” 

सुनकोसी–३ बारे बाँधस्थल लुभुघाट र सुनकोसी–२ का विषयमा सिन्धुली र रामेछापको सीमानामा पर्ने सिन्धुलीको फिकल गाउँपालिका च्याखुटारमा पुगेका मन्त्री पुनले स्थानीयसँग छुट्टाछुट्टै अन्तरक्रिया पनि गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गणेश पहाडी र पूर्व उर्जाराज्यमन्त्री सूर्यमान दोङले स्थानीयका तर्फबाट आयोजना निर्माणमा अवरोध नभई सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।

'भारतको कलत्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ'

अपर तामाकोसीदेखि सुनकोसी–१, सुनकोसी–२, सुनकोसी–३ र कोसी उच्चबाँधमा निर्माण हुने विशाल ड्याम भारतको कलकात्तासँग जोडेर पानीजहाज समेत चलाउन सकिने मन्त्री पुनले बताए ।

“कोसीमा निर्माण भइरहेका र भविष्यमा निर्माण गर्न सकिने आयोजनाका कारण ठूलो ड्याम बन्छ । त्यसलाई भारतको कलत्तासँग जोडेर पानीजहाज ल्याउन सकिन्छ,” मन्त्री पुनले भने, “त्यसो भयो भने हामी समुन्द्रमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्छौं ।” सन् १९८४ मा समेत सुनकोसीमा पानी जहाजको सम्भावनाबारे अध्ययन भएको थियो तर त्यसपछि अध्ययन भएको छैन ।

भीम गौतमले कारोबार दैनिकमा लेख्नुभएको समाचार साभार गरिएको हो ।