(JAPAN) 18 th November | 2019 | Monday | 5:50:13 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:35:13 PM
 

नेपाली पहिचान बन्दै नेपाली हाते कागज-जापान देखी युरोप अमेरिका निर्यात

  POSTED ON : Tuesday, 18 June, 2019 | Views : 190

नेपाली पहिचान बन्दै नेपाली हाते कागज-जापान देखी युरोप अमेरिका निर्यात


जाजरकोट, नेपाल ।

नेपालकै पहिचान बन्न थालेको नेपाली हाते कागज जापान, अमेरिका सहित युरोपियन देशहरु निर्यात हुनेक्रम बढेको छ ।

जाजरकोट जिल्लाको कुसे गाउँपालिकामा घरेलु उद्योग मार्फत बन्न थालेको नेपाली हाते कागज बिदेश निर्यात हुन थालेपछि यहाँका स्थानियहरुले रोजगार पाउनुका साथै बिदेशी रकम समेत नेपाल भित्रिएको छ ।

कुसे गाउँपालिका ७ समाइलाका ४५ वर्षीय उविलाल घर्तीले तीनचुली अल्लो तथा नेपाली हातेकागज उद्योग सञ्चालन गरेर चारजनालाई रोजगारी दिनुभएको छ ।

उद्योग सञ्चालनपछि वार्षिक रूपमा उहाँले ८ लाख रुपैयाँसम्म बचत गर्दै आएको बताउनुभयो । कुसे ९ का नरेन्द्र आरसीले गाउँमै कागज उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँको उद्योगमा पाँचजनाले रोजगारी पाएका छन् । उद्योगको उत्पादन जापानसम्म पुग्ने गरेको छ ।

कुसेमा श्रमजीवी नेपाली हातेकागज उद्योग, नरेन्द्र हातेकागज उद्योग, ब्याउलीढुंगा हातेकागज उद्योग र विष्णु नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि अन्य स्थानीयसमेत अप्रत्यक्ष रूपमा रोजगारीमा जोडिएका छन् । ती उद्योगमा उत्पादन भएका नेपाली कागज जापान, युरोप, भारतलगायत देशमा निर्यात हुने गरेको छ ।

जाजरकोटको उच्च लेकाली भूभागमा पाइने सेत बरुवाबाट निर्मित कागज नेपालमै उत्कृष्ट मानिन्छ । जिल्लाबाट वार्षिकरूपमा तीन हजार कोरी कागज निर्यात हुने गरेको छ । दुई सय गोटा र २० ग्राम तौल रहने कागज प्रतिकोरी चार हजार रुपैयाँका दरले काठमाडौं बिक्री हुने गरेको छ । वर्षा, जाडोलगायत कारण बाह्रै महिना कागज उत्पादन गर्न नसकिने उविलालले बताउनुभयो ।

उहाँका अनुसार छवटा हातेकागज उद्योगबाट वार्षिक करिब डेढ करोड रुपैयाँ भित्रने गरेको छ । जंगलमा पाइने सेत बरुवाको लोक्ता प्रतिकिलो १५० मा खरिद गरिन्छ । ‘नेपाली हातेकागज नेपालकै पहिचान हो,’ उविलालले भन्नुभयो, ‘यसको संरक्षण जरुरी छ ।’ उविलाल सशस्त्र द्वन्द्वका लडाकुसमेत हुनुहुन्छ ।

भूमिगत राजनीतिमै माओवादीको क्षेत्रीय क्षेत्रीय ब्युरो सदस्यसम्म पुगेका उनी अहिले उद्योगमै रमाइरहेका छन् ।

नेपाली हातेकागज उत्पादनका लागि जंगलबाट लोक्ता संकलन गरेर कुटिन्छ । त्यसमा कास्टिङ सोडा, ब्लिचिङ पाउडर,नुरीलगायत रसायन मिसाई मेसिनबाट कागज तयार गरिन्छ । त्यसपछि कागजलाई घाममा सुकाएर प्याकिङ गरिने गरिन्छ ।

पहिले ढिकी, हाते मुसल र ढुंगाले कुटिने लोक्ता अहिले जेनेरेटरको सहायताले बिटर मेसिनबाट कुटिन्छ ।

कागज उद्योग सञ्चालनका लागि कुनै पनि निकायबाट सहयोग नपाइएको स्थानिय उद्योगीहरुले बताएका छन् ।