(Japan) 20 th April | 2024 | Saturday | 3:37:22 AM || (Nepal) 12:22:22 AM
 
 


रोबिन्दप्रसाद श्रेष्ठ(गोबिन्द) लाई एनआरएनए सह-कोषाध्यक्षमा विश्वभरका अभियन्ताबाट समर्थन

  POSTED ON : Thursday, 26 August, 2021 | Views : 3304

रोबिन्दप्रसाद श्रेष्ठ(गोबिन्द) लाई एनआरएनए सह-कोषाध्यक्षमा विश्वभरका अभियन्ताबाट समर्थन


टोकियो, जापान ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजकको सफल जिम्मेवारी पुरा गर्नुभएका रोबिन्दप्रसाद श्रेष्ठ(गोबिन्द)ले जापानबाट आईसिसीमा सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन)को अक्टोबरमा हुने १० औं महाधिवेशन मार्फत चुनिने नयाँ नेतृत्वमा श्रेष्ठले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिनुभयो ।

दुई दशक बढी समयदेखि जापानलाई कर्मथलो बनाएर ब्यवसाय गर्दै आउनुभएका श्रेष्ठ डेढ दशक यता एनआरएनए र सामाजिक अभियानमा सक्रियता पूर्वक लाग्दै आउनुभएको छ । जापानका सफल नेपाली ब्यवसायिका रुपमा परिचित श्रेष्ठले एनआरएन अभियानबाट प्राप्त ज्ञान, अनुभव, क्षमता तथा अग्रजहरुको आग्रह र एनआरएन अभियानलाई निरन्तरता दिने चाहना अनुसार सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेको बताउनुभयो ।

गैर आवासिय नेपाली संघ जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजकको जिम्मेवारी सम्हाल्नुभएका श्रेष्ठ हठात कुनै पद प्राप्त गर्न नभइकन निरन्तरको लगाव, अनुभव र कार्यक्षमता आर्जन पछि सहकोषाध्यक्ष पदमा रहेर न्यायपूर्वक जिम्मेवारी सम्हाल्न आफुले बिचार गरेर उम्मेदवारी दिने निर्णय गरेको बताउनुहुन्छ ।

त्याग, समर्पण र निस्वार्थ भावसहित एनआरएनए अभियानमा लागेको बताउँदै श्रेष्ठ आर्थिक पारदर्शिता एनआरएनएको पहिलो प्राथमिकता रहेकाले सह-कोसाध्यक्ष पदमा रहेर आफुले निष्ठा पूर्वक पदिय जिम्मेवारी पुरागर्ने प्रतिबद्वता जनाउनुहुन्छ ।

सह-कोषाध्यक्ष पदमा रहेर आगामी कार्यकालमा आर्थिक अनुशासन, पारदर्शिता र नियमित श्रोत विकासको लागि काम गर्ने प्रतिबद्वता श्रेष्ठको छ ।

एनआरएनए अभियानमा तन,मन र धन सबै किसिमले सामाजिक र संस्थागत हितमा आफुलाई समर्पण गर्दै आउनुभएका रोबिन्दप्रसाद श्रेष्ठ(गोबिन्द) ले आजसम्म सस्थाको हित र सामाजिक क्षेत्रमा आफुले गरेको योगदानलाई कदर गरेर विश्वभरका एनआरएनए अभियन्ताहरुको आफ्नो उम्मेदवारी निर्णयपछी समर्थन गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

श्रेष्ठले भन्नुभयो ‘मैले गरेको कामको मुल्याङ्कन गरेर सह-कोषाध्यक्ष पदमा मेरो उम्मेदवारीपछि जसरी विश्वभरबाट साथ, सहयोग र शुभकामना ब्यक्त गर्नुभएको छ, म उहाँहरुको अपेक्षालाई निरास हुननदिनेगरी पारदर्शि रुपमा जिम्मेवारी कुशलतापूर्वक निभाउने बाचा गर्दछु ।’

सम्बन्धित सामग्री: